बिहिबार, १४ साउन २०८३

मंगलबहादुर शाही : मुगुको गाउँदेखि कर्णालीको मुख्यमन्त्रीसम्मको यात्रा

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही लामो राजनीतिक सङ्घर्ष, शिक्षण अनुभव र जनयुद्धको यात्राबाट प्रदेश सरकारको नेतृत्वमा पुगेका नेता हुन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा शिक्षक, जनयुद्धका पूर्णकालीन कार्यकर्ता, पार्टी नेता हुँदै मुख्यमन्त्रीसम्म आइपुगेको छ ।

२०२५ साल भदौ १६ गते मुगुको सोरु गाउँपालिका-६, सोरुकोटमा जन्मिएका शाहीले प्राथमिक शिक्षा आफ्नै गाउँको सोरुकोट प्राथमिक विद्यालयबाट सुरु गरेका थिए । उनले २०४४ सालमा जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौँ पुगे ।

काठमाडौँस्थित नेपाल ल क्याम्पसमा अध्ययनका क्रममा उनी तत्कालीन नेकपा (माले) निकट अनेरास्ववियु (एकताको पाँचौँ) मा आबद्ध भए । २०४५ सालको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी भएर उनले विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरे ।२०४६ सालमा अध्ययन पूरा गरी मुगु फर्किएका शाहीले शिक्षण पेसा सुरु गरे । दुई वर्ष अस्थायी र ११ वर्ष स्थायी गरी १३ वर्ष शिक्षकका रूपमा सेवा दिएका उनले मुगुकै १६ वटा विद्यालयमा अध्यापन गराए ।

शिक्षणसँगै उनी अनेरास्ववियु र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमार्फत पनि सक्रिय रहे । २०४६/०४७ सालको जनआन्दोलनपछि बनेको खुला राजनीतिक वातावरणमा नेकपा (एमाले) मा आबद्ध भए । त्यसबेला राजनीतिक आस्थाकै कारण पटक-पटक सरुवा, काज र विभिन्न दबाब खेप्नुपरेको अनुभव उनीसँग छ ।

२०५६ सालको निर्वाचनपछि राजनीतिक घटनाक्रमले उनको जीवनमा नयाँ मोड ल्यायो । निर्वाचनपछिको झडपमा ज्यान मार्ने उद्योगको मुद्दा खेप्दै नौ दिन हिरासतमा बसेका शाही त्यसपछि पार्टीभित्रको व्यवहारबाट निराश बने । २०५८ सालमा उनले शिक्षकको जागिर त्यागेर तत्कालीन नेकपा (माओवादी) को जनयुद्धमा पूर्णकालीन कार्यकर्ताका रूपमा प्रवेश गरे। जनयुद्धका क्रममा उनी विभिन्न जिम्मेवारीमा रहे, युद्धका मोर्चामा सहभागी भए र थुप्रै जोखिमपूर्ण परिस्थितिको सामना गरे ।

२०५९ सालको डोल्पाको माझफाल घटनामा आफ्ना सात सहयात्री गुमाएको पीडा उनी आज पनि सम्झन्छन् । जनयुद्धका बेला आफू भूमिगत हुँदा परिवारले भोग्नुपरेको दुःख र राज्यको निगरानीका कारण उनका बुबाले समेत गाउँ छोड्नुपरेको घटना उनको जीवनका कठिन अध्याय हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि शाहीले सङ्गठनात्मक जिम्मेवारी सम्हाल्दै अघि बढे। २०६४ सालमा मुगु जिल्ला डीसीएसको जिम्मेवारी पाए भने २०६५ सालमा जिल्ला इन्चार्ज बने ।

२०७० सालमा संविधानसभा निर्वाचन बहिष्कार आन्दोलनका क्रममा उनी वैद्य नेतृत्वको समूहमा आबद्ध थिए र त्यसबेला १८ दिन हिरासतमा बसे । २०७१ सालमा भने गणतन्त्र र सङ्घीयताको संस्थागत विकास प्रचण्ड नेतृत्वबाट सम्भव हुने निष्कर्षसहित पुनः माओवादीमा फर्किए । हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु प्रदेशसभा (ख) बाट पहिलो पटक उम्मेदवार बनेका शाही विजयी भए । प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले प्रदेशको विकाससँग सम्बन्धित विभिन्न योजनामा काम गरे ।

पार्टी एकीकरणपछिको राजनीतिक परिवर्तनसँगै उनी कर्णाली प्रदेश संसदीय दलको नेता चयन भए । त्यसको केही महिनामै नेकपा र एमालेको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका थिए ।

आईएलसम्म अध्ययन गरेका शाही पाँच दाजुभाइ-दिदीबहिनीमध्ये जेठा हुन् । उनी दुई छोरा र चार छोरीका पिता हुन् । मङ्गलबहादुर शाहीलाई पार्टीभित्र इमानदार, सरल र सङ्घर्षशील नेताका रूपमा चिनिन्छ । विद्यार्थी राजनीति, शिक्षण, जनयुद्ध, शान्ति प्रक्रिया र संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै उनी कर्णाली प्रदेशको नेतृत्वमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस