
काठमाडौं । नेपाल-तिब्बत सीमा क्षेत्रमा बुधबार अचानक आएको विनाशकारी बाढीको मुख्य कारण हिमनदी भत्किनु (ग्लेसियर कोल्याप्स) रहेको वैज्ञानिकहरूले बताएका छन् । यस घटनाले हिमालय क्षेत्रको हिउँ तीव्र रूपमा पग्लिरहेको गम्भीर जोखिमलाई फेरि उजागर गरेको विज्ञहरूले जानकारी दिएका छन् ।
सुरुवाती चरणमा भूकम्पका कारण पहिरो गएको र त्यसले गर्दा बाढी आएको अनुमान गरिएको थियो । यस विपत्तिमा परी कम्तीमा १७७ जनाको ज्यान गइसकेको छ ।
तर, अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले पछि यो विपत्ति भूकम्प नभई 'ग्लेसियर कोल्याप्स' का कारण भएको स्पष्ट पारेको छ । हिमनदी वा त्यसको कुनै हिस्सा पूर्ण रूपमा भत्किने वा छिन्नभिन्न हुने प्रक्रियालाई ग्लेसियर कोल्याप्स भनिन्छ ।
यूएसजीएसको डेटा र यस घटनाको विश्लेषण गरिरहेका वैज्ञानिकहरूका अनुसार, हिमनदी भत्किएर उपत्यकाको फेदमा बजारिँदा उत्पन्न भएको कम्पन ५.२ म्याग्निच्युडको भूकम्प बराबर शक्तिशाली रेकर्ड गरिएको थियो ।
युनिभर्सिटी अफ डन्डीका हिमनदी विशेषज्ञ डा. साइमन कुकले बीबीसीलाई बताएअनुसार उनको टोलीले नेपालतर्फ पर्ने लाङटाङ लिरुङ चुचुरो नजिकैको हिमनदीको तल्लो भाग भत्किएको पत्ता लगाएको छ । यो स्थान बाढी प्रभावित क्षेत्रभन्दा करिब १५ किलोमिटर (९ माइल) पश्चिममा पर्छ ।
उनका अनुसार यो हिमनदी उत्तर-पश्चिम दिशातर्फ भत्किएर तल बग्दै पश्चिम दिशातिर बगेको अनुमान गरिएको छ ।
यता, अन्तरसरकारी वैज्ञानिक संस्था इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) को विश्लेषणले पनि उच्च हिमाली क्षेत्रबाट हिउँ र चट्टानको ठुलो पहिरो (आइस-रक एभालञ्च) खसेको देखाएको छ ।
यसले गर्दा ठुलो परिमाणमा हिउँ र चट्टानका अवशेषहरू भोटेकोशी नदीको सहायक नदी लेन्दे खोलामा मिसिन पुगेका थिए । जसका कारण नदीमा एक्कासि पानीको सतह, हिलो र ठुला ढुङ्गा-गिट्टीसहितको बहाव बढेर तल्लो तटीय क्षेत्रतर्फ विनाशकारी बाढी बग्न थाल्यो ।
इसिमोडका अनुसार बाढीका कारण तल्लो तटीय क्षेत्रका नदीहरूमा पानीको सतह मात्र ३० मिनेटको अवधिमा ७ देखि ९ मिटरसम्म बढेको थियो । बाढीको तीव्र वेगले गर्दा पानीको बहाव मापन गर्ने थुप्रै स्टेसनहरू बगाएका छन् वा क्षतिग्रस्त बनाएका छन् ।
यो क्षेत्र निकै भिराला पहाडहरूले घेरिएको छ । बाढीका भिडिओहरूमा ढुङ्गा, हिलो र लेदोसहितको पानी तीव्र गतिमा नदीको साँघुरो खोचबाट बगेको देखिन्छ ।
बुधबार हिमनदी के कारणले भत्कियो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । तर, तापमान वृद्धि र जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रको हिउँ तथा पर्माफ्रोस्ट (शताब्दीऔँदेखि जमेको माटो र चट्टान) पग्लिरहेको भन्दै वैज्ञानिकहरूले वर्षौँदेखि सचेत गराउँदै आएका छन् ।
यस वर्षको सुरुमा इसिमोडले सार्वजनिक गरेको एक विश्लेषण प्रतिवेदन अनुसार हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरूले सन् २००० को तुलनामा अहिले दोब्बर दरमा हिउँ गुमाइरहेका छन् । यसले गर्दा बाढीजस्ता प्राकृतिक विपत्तिको जोखिम झन् बढेर गएको छ ।
डा. कुकका अनुसार हालैका वर्षहरूमा भारत, स्विट्जरल्याण्ड र इटालीमा पनि हिमनदी भत्किँदा यस्तै प्रकारका बाढी र पहिरोका घटनाहरू भएका छन् ।
सन् २०२१ मा उत्तरी भारतको चमोली उपत्यकामा हिमालयन हिमनदीको ठुलो हिस्सा भत्किँदा तल बगेको ढुङ्गा, हिलो र पानीको लेदोले करिब २०० जनाको ज्यान लिएको थियो । पछि वैज्ञानिकहरूले उक्त हिमनदी भत्किँदा उत्पन्न भएको ऊर्जा १५ वटा आणविक बम बराबर रहेको अनुमान गरेका थिए ।
नेपालकै सन्दर्भमा कुरा गर्दा, गत वर्ष पनि यही क्षेत्रमा तिब्बततर्फको एउटा हिमताल फुट्दा बाढी आएको थियो ।
इसिमोडका विशेषज्ञ मोहम्मद फारुक आजमले क्रायोस्फियर (पृथ्वीको हिउँ र बरफले ढाकिएको क्षेत्र) मा बढ्दै गएको जोखिमको दर पहिलेभन्दा निकै स्पष्ट रूपमा देखिन थालेको बताएका छन् । उनले भने, "परिवर्तनको गति यति तीव्र छ कि यसलाई रोक्न वा सामना गर्न गरिएका वर्तमान प्रयासहरू अपर्याप्त साबित भइरहेका छन् ।"
कुनै पनि एकल घटना जलवायु परिवर्तनकै कारण भएको हो भनेर ठोकुवा गर्न गाह्रो भए तापनि यस्ता घटनाहरूको प्रकृति र श्रृङ्खलालाई हेर्दा यसमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव रहेको बुझ्न सकिने डा. कुकको तर्क छ ।
उनका अनुसार, पृथ्वी तात्तिँदै जाँदा हिमनदीहरू खुम्चिने र ठुलो मात्रामा हिउँ पग्लिने कुरा स्वाभाविक हो । पहाडका भिरालो भागहरूलाई थामेर राख्ने शताब्दीऔँ पुरानो जमेको माटो अर्थात् पर्माफ्रोस्ट पग्लिँदै र कमजोर हुँदै गइरहेको छ ।
उनी थप्छन्, "यसले गर्दा पहिरो जाने, ढुङ्गा-हिलोको लेदो बग्ने, हिमनदीको पानी बढ्ने, हिमताल फुट्ने र हिमनदीहरू भत्किने जस्ता घटनाहरू अझ बढ्नेछन् । किनभने जलवायु परिवर्तनका कारण अन्ततः यी उच्च हिमाली क्षेत्रहरूको वातावरणीय सन्तुलन बिग्रिरहेको छ ।"
प्रतिक्रिया दिनुहोस