आइतबार, २४ फागुन २०८२

बाजुरामा कुपोषणको अवस्था बढ्दो

मुक्तिकोट गाउँमा २५ जना बालबालिका कुपोषणको चपेटामा रहेका छन् । जसमा ११ जना शीघ्र कुपोषित रहेको अहेब विकले बताउनुभयो ।

बाजुरा, भदौ २।

बाजुराको जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले केही महिना पहिला जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भयो । जिल्ला अस्पताल बाजुराका तत्कालीन डा.प्रकाश बुढाले भन्नुभयो , ‘हामीले रिफर गर्न खोजेका थियौ, तर उनीहरूको आर्थिक अवस्था कमजोर र बच्चा पनि सिकिस्त भएकाले अन्यत्र लैजान सकिएन र बच्चाको ज्यान गयो।’

त्यस्तै जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका-१ को मुक्तिकोटमा कुपोषणका कारणले नै केही महिना अगाडि २ जना बच्चाले ज्यान गुमाउनुपर्‍यो । मुक्तिकोट आधारभूत स्वास्थ्य केन्द्रका अहेब बिर्ज बिकका अनुसार रुपसरा न्यौपानेका १६ महिनाका बालक सन्तोष न्यौपाने र डुमली विक कि छोरी १७ महिनाकी जमुना विकको कुपोषणका कारण मृत्यु भयो । गत वर्ष मात्र कुपोषणले सोही गाउँमा ६ जना बालबालिकाको मृत्यु भएको थियो ।

मुक्तिकोट गाउँमा २५ जना बालबालिका कुपोषणको चपेटामा रहेका छन् । जसमा ११ जना शीघ्र कुपोषित रहेको अहेब विकले बताउनुभयो ।

बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा मात्र ५ जना बालबालिका कुपोषित रहेको मना सहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउदले बताउनुभयो । नेपालको पोषण सम्बन्धी राष्ट्रिय नीतिले सन २०२५ सम्म नेपालमा कुपोषणको दर शून्यमा झार्ने योजना राखेको भए पनि बाजुरामा भने अझै कुपोषणको दर घट्न सकेको छैन।सरकारी तथा गैरसरकारी तवरबाट कुपोषण न्यूनीकरणका विभिन्न कार्यक्रम भए पनि यहाँका बालबालिकामा भएको अवस्थाले राष्ट्रिय लक्ष्य पुरा गर्न निकै चुनौती हुने स्वास्थ्यकर्मी बताउँछन् ।

बाजुराका ९ ओटै स्थानीय पालिकामा जन्मेदेखि ५ वर्ष मुनिका २ सय ८७ भन्दा बढी बालबालिका कुपोषणको चपेटामा रहेका छन् । यो पालिकाका स्वास्थ्य संस्थामा उपचार गर्न आएका कुपोषित बालबालिकाको तथ्याङ्क हो, गाउँमा खोज्दै जाने हो भने बाजुरामा कुपोषणको भयावह अवस्थामा रहेको स्वास्थ्यकर्मी दीपक शाहले बताउनुभयो ।

पोषणयुक्त आहारको कमी, स्वास्थ्य उपचार, सरसफाइको कमी, जनचेतनाको कमी, गर्भवती अवस्थामा आहार र स्याहार नहुनु, सन्तुलित खाना नखानु, आयोडिन युक्त नुनको कमी लगायतका कारणले बाजुराका बालबालिका कुपोषणबाट प्रभावित बनेका जगन्नाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फुलमाया उपाध्याय बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस