धनगढी, कैलाली। नेपाल–भारत सीमास्थित कैलालीको गौरीफन्टा नाकामा सीमा व्यवस्थापनलाई थप नागरिकमैत्री, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले ‘बोर्डर इन्टर्याक्सन टिम (BIT)’ परिचालन गरेको छ।
सीमा नाकाबाट दैनिक रूपमा आवतजावत गर्ने नेपाली तथा भारतीय नागरिकलाई आवश्यक सूचना, सहजीकरण र सहयोग उपलब्ध गराउने उद्देश्यका साथ उक्त टोली परिचालन गरिएको हो। यसले यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित सेवा प्रदान गर्नुका साथै सीमा क्षेत्रमा हुने अनावश्यक झन्झट कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विशेषगरी सीमा क्षेत्रमा हुने चेकजाँचका क्रममा नागरिकले भोग्ने असहजता न्यूनीकरण गर्दै सुरक्षा निकाय र नागरिकबीच विश्वासको सम्बन्ध सुदृढ बनाउने लक्ष्यसहित यो अभ्यास सुरु गरिएको जनाइएको छ। साथै, सीमा क्षेत्रमा हुने चोरी–तस्करी लगायतका अवाञ्छित गतिविधि नियन्त्रणमा पनि नागरिकको सहकार्य बढाउन ‘बोर्डर इन्टर्याक्सन टिम’ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार टोलीले सीमा नाकामा यात्रुलाई आवश्यक जानकारी उपलब्ध गराउने, गन्तव्य तथा प्रक्रिया सम्बन्धी जिज्ञासाको समाधान गर्ने, समस्या परेमा सहजीकरण गर्ने तथा आवश्यक सुरक्षा परामर्श प्रदान गर्ने कार्य गर्नेछ।
सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई आधुनिक र सेवामुखी बनाउने प्रयासस्वरूप सुरु गरिएको यो अभ्यास सफल भए अन्य प्रमुख सीमा नाकामा समेत विस्तार गरिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस