
रुपन्देही । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएसँगै लुम्बिनी प्रदेशमा एमालेबाट मुख्यमन्त्री फेरेर जाने तयारी भएको छ ।
अहिले दलको नेतासमेत रहेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई रोकेर पूर्वमुख्यमन्त्री रहेका लिला गिरी र यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका भूमिश्वर ढकाललाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
तर ढकालकै सम्भावना बलियो रहेको स्रोतले जनाएको छ । संसदीय दलको नेता चेतनारायण आचार्यलाई नै यथावत राख्नेगरी मुख्यमन्त्रीमा ढकाललाई अगाडि सार्ने तयारी अध्यक्ष केपी ओली रहेका छन् । पार्टीभित्र चलेको पुनर्गठनको बहसमा सघाएका ढकाललाई ओलीले मुख्यमन्त्रीको आश्वासन यसपूर्व नै दिइसकेको स्रोतले जनाएको छ । यसअघि लिला गिरी दलको नेता रहेकै बेला पार्टी केन्द्रले उपनेता रहेका चेतनारायणलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । ‘लिलाजी पनि एकपटक थोरै समयका लागि भइसक्नु भयो, चेतनारायणजी पनि बनिसक्नुभयो, त्यसैले फेर्ने नै भए ढकालजीलाई बढाउने र नभए यथावत चेतनारायणजीलाई नै बनाउने हुन्छहोला,’ एमालेका एक केन्द्रीय सदस्यले भने ।
पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको सहकार्यबाट रुष्ट ढकाल निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सुझाव समितिले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा ओलीको पक्षमा उभिएका थिए ।
उता प्रदेशमा चुलिँदो बजेट विवादमा पहिले सरकारको कडा आलोचना गरेका ढकालले ओलीको निर्देशनमा बजेट पारित गराउन भूमिका खेलेका थिए । बजेट पुनर्लेखनको माग गर्दै आफ्नै दलका १४ जना सांसदहरुले हस्ताक्षर बुझाएका थिए । सत्ता साझेदार दल नेपाली कांग्ररेसभित्र पनि यो बहस चल्दा यिनै ढकालले बजेट पारित गराउन भूमिका खेलेका थिए ।
यही घटनापछि ओलीले असन्तुष्ट सांसदहरूलाई पुनः एकताबद्ध बनाउन थप राजनीतिक सक्रियता देखाएको एमाले स्रोतहरूको दाबी छ । मन्त्रीबाट हटाइएका पूर्व भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाललाई रातारात गुण्डु बोलाएर छलफल गरिएको र त्यसपछि नयाँ रणनीति तय गरिएको स्रोतहरूको दाबी छ ।
बजेट पुनर्लेखनको मागमा उभिएका केही प्रदेशसभा सदस्यहरूसँग पार्टी नेतृत्वका तर्फबाट संवाद गरिएको, त्यसक्रममा सचिव महेश बस्नेतले समेत उनीहरूसँग टेलिफोन संवाद गरेको दाबी गरिएको छ । ती संवादमा आश्वासन र राजनीतिक दबाब दुवै प्रयोग भएको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।
यद्यपि, यसबारे एमाले नेतृत्वले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । अन्ततः सत्ता साझेदार नेपाली कांग्रेसले बजेट पारित ढकाल सफल भएका थिए र तत्कालीन राजनीतिक सङ्कट टार्न सफल भएका थिए ।
यता मुख्यमन्त्री एवं दलका नेता चेतनारायण आचार्य सरकार परिवर्तन नभई पुनर्गठन हुने जनाएका छन् । ‘हिजो केन्द्रका सहमति भएको छ, अब प्रदेशमा कसरी जाने भन्ने विषय नेकपासँग बसेर छलफल हुन्छ, एमाले र नेकपाको मात्रै बहुमत नपुग्ने भएकाले जसपालाई समावेश गराउने हो, उ अहिले पनि सरकारमै छ,’ उनले भने ।
भूमिश्वर ढकालले भने यसबारे अनभिज्ञता प्रकट गरे । आफूले पनि प्रदेशको नेतृत्व परिवर्तन हुँदैछ भन्ने हल्ला सुनेको बताउँदै ढकालले नेपाल प्रेससँग भने, ‘म नै मुख्यमन्त्री भन्ने आधिकारिक जानकारी छैन । पार्टी नेतृत्वबाट कुनै खालका आश्वसन आएको छैन ।’
‘बजेटको विषयलाई लिएर राजनीतिक चिन्ता प्रकट हुँदा पार्टी अध्यक्षज्यूले पार्टी निर्णयको पक्षमा उभिनुहोस् भन्ने निर्देशन दिनुभएपछि असन्तुष्ट साथीहरुलाई सहमत गराएर बजेट पारित गर्न भूमिका खेलेको हुँ । बाँकी केही होइन । मलाई कसैले केही भन्नुभएको छैन, हिज पनि पार्टी केन्द्रले निर्णय गरेर पठाएको हो, अहिले पनि जे निर्णय गर्छ त्यहीअनुसार अघि बढ्ने हो, जिम्मेवारी दिए नलिने भन्ने कुरा भएन,’ उनले भने ।
पूर्वमुख्यमन्त्री रहेका लिला गिरीले पनि आफूलाई यो विषयबारे जानकारी नभएको बताए । ‘हिजो केन्द्रमा सहमति भएको हो, मुख्यमन्त्री फेर्ने विषयमा मलाई केही जानकारी छैन’ उनले भने ।
यसपूर्व पनि लुम्बिनीमा रातारात मुख्यमन्त्री फेरिएको दृष्टान्त छ । मुख्यमन्त्रीका लागि दाबी प्रस्तुतको तयारीमा रहेका दलका नेता लिला गिरीलाई रोकेर पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो । मुख्यमन्त्री बनेपछि मात्रै उनी दलको नेता बनेका थिए ।
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले मुख्यमन्त्री फेर्ने विषय बाहिर हल्ला सुनेपनि पार्टीको आधिकारिक नेताहरु कसैले केही नभनेको जनाए ।
यता नयाँ सत्ता साझेदार नेकपाले भने अहिले नयाँ सरकार गठन कि पुनःगठन भन्ने विषय एमालेको जिम्मामा रहेको तर समय धेरै नभएकाले नफेरी गए राम्रो हुने जनाएको छ । प्रमुख सचेतक इन्द्रजीत थारुले सरकारको नेतृत्वको विषय एमालेले टुंगो लगाउने र आफ्नो तर्फबाट दल नेता काठमाडौं नै भएकाले मन्त्रीको पनि टुंगो लगाएर आउन भनेको बताए ।
प्रतिक्रिया दिनुहोस