क्यानको विशेष साधारणसभा आजदेखि

द्वारा : सुदुर न्युज

काठमाडौं, ६ वैशाख –

नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आजदेखि काठमाडौंमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउनेछ । विधान अनुमोदनका लागि हुनलागेको यो दोस्रो विशेष साधारणसभा हो ।

शुक्रवारसम्म जारी रहने साधारणसभा विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटी गठन हुनेछ । मनिटरिङ कमिटीले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ ।

मनिटरिङ कमिटीमा आइसीसीका तीन, राखेप र निर्वाचित क्यानका समान एक/एक प्रतिनिधि सदस्य रहनेछन् ।

वि.सं. २०७२ मंसिरमा चतुरबहादुर चन्द क्यानको अध्यक्षमा निर्वाचित भएका थिए । क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिएको थियो ।

राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।

क्यानको निपष्क्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

आइसीसीको बोर्ड बैठकअघि विधान संशोधन गर्नेगरी साधारणसभा गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

क्रिकेट विवाद समाधानका लागि चौतर्फी दबाब बढेपछि क्यानको निर्वाचित कमिटीले विधान संशोधनका लागि साधारणसभा गर्न लागेको हो ।

क्यानले विधान संशोधन गरे नेपाल क्रिकेट संघमाथि गरिएको निलम्बन फुकुवा गर्ने आइसीसीले यसअघि नै जनाउ दिइसकेको छ ।

‘नेपाली क्रिकेटको विवाद समाधान गर्न हामी आतुर छौं’–क्यान अध्यक्ष चन्दले भने–‘अब बस्ने साधारणसभाले विवाद समाधान गर्ने आशा गरेका छौं ।’

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com