28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

विषाक्त खानाले चितवन राष्ट्रिय निकुञ्जमा तीन गैँडा मरे

चितवन,माघ १९ गते ।

चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो । श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ । यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

विषाक्त खानाले तीन गैँडा मरे

श्रेष्ठले भन्नुभयो, “ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ ।” मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अङ्गमा कुनै समस्या नदेखिएको उहाँले बताउनुभयो । सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उहाँले विशाक्त तोरीका कारण मरेका पनि हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो । यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकीन भन्न सकिने उहाँको भनाइ छ ।

शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन् । यससँगै अन्य कालगतिले मरेका गैँडा बुढो भएर, जुधेर, दलदलमा फसेर र करेन्ट लागेर मरेका उहाँले बताउनुभयो । गत कात्तिकदेखि चालु महीनासम्म प्राकृतिक कारणले धेरै गैँडा मर्ने गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । गत साल प्राकृतिक कारणले ४३ गैँडा मरेका थिए । यस वर्ष सात महिना पुग्न लाग्दा १४ गैँडा मरेका छन् ।

तुलनात्मक हिसाबले कम गैँडा मरेका भए पनि निकुञ्जले प्राकृतिक कारणको मृत्यु दर अझ घटाउन गृहकार्यमा रहेको जनाएको छ । वन मन्त्रालयले प्राकृतिक कारणले गैँडा मर्नुका कारण पत्ता लगाउन समितिसमेत गठन गरेको छ । अघिल्ला वर्षमा पनि वार्षिक २५ हाराहारी गैँडा कालगतिले मरेको तथ्याङ्क छ । हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनाअनुसार सो निकुञ्जमा ६०५ गैँडा रहेका थिए । यस वर्ष निकुञ्जमा गैँडा गणना गरिँदैछ ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles