32.3 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

भूकम्प पीडितका ४ लाख घर बने

काठमाडौं , जेठ ३० गते ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ ।

संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको, ३० प्रतिशतले घर बनाउँदै गरेको र समग्रमा ८२ प्रतिशत उपलब्धी हासिल भएको जानकारी दिनु भएको हो ।

निजी आवास पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएका छन् ।

सरकारले निजी आवास पुनर्निर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्राधिकरणले अनुदान लिएका लाभग्राहीलाई छिटो घर पुनर्निर्माण थाल्न आग्रह गर्दै आएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पलाई अवसरका रुपमा लिएको र निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सुरक्षा निकाय र सरकारी भवन पहिले भन्दा राम्रा, बलियो र सुरक्षित बनेको बताउनुभयो।

‘निजी आवास पुनर्निर्माणलाई सबैभन्दा महत्व दिएर काम गरेका छौं, उहाँले भन्नुभयो– शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदा लगायत भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणका मूलभूत कार्य पूर्वनिर्धारित समयमा नै सम्पन्न गर्नैछौं’ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनर्निर्माण उत्साहजनक रुपमा अघि बढेको बताउनुभयो ।

‘नवनिर्माणमा नयाँ ठाउँमा काम हुन्छ ।

पुनर्निर्माण गर्दा पुरानो ठाउँमा काम गर्नुपर्छ, पुराना कुराको संरक्षण गर्नुपर्ने हुन्छ ।जनताको भावनालाई सम्बोधन गर्नुपर्ने हुन्छ ।त्यसैले नवनिर्माणको तुलोमा राखेर तुलना गरे पुनर्निर्माणमा अन्याय हुन्छ’–सचिव कार्कीले भन्नुभयो ।

सांसद खिमकुमार विकले पुनर्निर्माणमा भएका उपलब्धीहरुले आशा जगाएको भन्दै भूकम्पपछिको चुनौतीलाई अवसरका रुपमा लिएर काम गरिरहेको बताउनुभयो ।

उहाँले गलत विवरण दिएर कतिपय गुनासो पेश गरिएको भन्दै प्रस्तावहरुलाई अस्वीकार गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो ।

सांसद महेशकुमार महराले पुनर्निर्माणका प्रगति राम्रो भएको टिप्पणी गर्दै भूमीहिन र सुकुम्बासीका मुद्दाहरुलाई सम्बोधन गरेर अघि बढ्न सुझाव दिनुभयो ।

अर्का सांसद चक्रप्रसाद स्नेहीले निकै जटिलताबीच पनि पुनर्निर्माण अघि बढेको टिप्पणी गर्दै अझ तीव्रताका साथ काम गर्न आग्रह गर्नुभयो ।

सांसद रमेशजंग रायमाझीले कतिपय एकीकृत बस्ती गाउँमैत्री नभएको टिप्पणी गर्दै गाइवस्तु पाल्ने ठाउँ नराखिएकोमा आलोचना गर्नुभयो । उहाँले उपभोक्ता समितिमार्फत गरिने पुनर्निर्माणमा अनियमितता हुन सक्ने भन्दै प्राधिकरणको ध्यानाकर्षण गर्नुभयो ।

सांसद डा. बिमला राई पौड्यालले पछिल्लो समयमा प्राधिकरणले गरेका कार्यहरुले पुनर्निर्माणमा आशा जगाएको बताउनुभयो ।

उहाँले भौतिक संरचनाहरुको पुनर्निर्माणमा राम्रो प्रगति भएको भन्दै जीविकोपार्जनका थप कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले विश्व सम्पदा सूचीमा परेका सम्पदाहरुको पुनर्निर्माण निकै जटिल हुने भन्दै प्रतिबद्धताअनुसार प्राधिकरणले काम गरेकोमा धन्यवाद दिनुभयो ।

सांसद कमला ओलीले सुदुरपश्चिममा हावाहुरीले क्षति पु¥याए पनि प्राधिकरणले सहयोग नगरेको गुनासो गर्नुभयो ।

अर्का सांसद प्रमिलादेवी यादवले धरहरा, रानीपोखरी, सिंहदरबार लगायतका काम भइरहेको प्राधिकरणलाई धन्यवाद दिँदै प्रदेश नम्बर दुईका विभिन्न स्थानमा हावाहुरी र बाढी पहिरो पीडितलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

सांसद ओली र यादवले गर्नु भएको आग्रहको जवाफ दिँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले संसदले बनाएको ऐनलेनै प्राधिकरणलाई २०७२ सालको भूकम्प र त्यस पछिका पराकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनस्थापना गर्ने अधिकार दिएको भन्दै हावाहुरी र बढी पीडितलाई सहयोगका लागि सम्बिधत निकायसँग समन्वय गर्न सांसदहरुलाई आग्रह गर्नु भएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles