28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

वर्षात्लाई निम्ता,प्रिमनसुन सक्रिय

काठमाडौँ, जेठ १८ गते ।

केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ ।

तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ ।

नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षात्को सङ्केत भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

“बङ्गालको खाडीबाट दक्षिणपूर्वी वायु नेपालमा बग्न थालेको छ,” उहाँले भन्नुभयो, “यसले गर्दा केही दिन नबिराई पानी पर्नेछ ।” त्यो गह्रौँ आद्रतासहितको वायु वायुमण्डलको उच्च तहमा भने पुगेको अवस्था हैन ।

तल्लो सतहमा मात्र रहेकाले स्थानीय वायुको असरमा पानी परिरहेको उहाँ बताउनुहुन्छ ।

यसकै असरका कारण पूर्वी भेग, मध्यपहाडी भेग र तराईका भेगमा मेघगर्जनसहित रोकिँदै पानी पर्दै गर्ने अर्यालले जानकारी दिनुभयो ।

पश्चिममा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावले पानी पर्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भने झै विगत केही दिनयता बिहान घाम लाग्ने अपराह्व हावा, हुरी र असिनासहित पानी पर्ने क्रम चलिरहेको छ ।
यसरी प्रिमनसुन सक्रिय हुनुमा तापक्रमको वृद्धिले स्थानीय वायुको विकास हुनु कारक रहेको जल तथा मौसम विज्ञान विभाग स्थित मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ ।

उहाँका अनुसार विगत एक महिना यता काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा अचाक्ली गर्मी महसुस भएको छ ।

काठमाडौँमा यो वर्ष ३२.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भयो । नत्र केही वर्षयता सामान्यतया ३२ भन्दा माथि गएको थिएन ।

नेपालगञ्जमा ४३.५, धनगढीमा ४२.६, भैरहवामा ४१.८, दिपायलमा ४०.४ र ४०.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ ।

तापक्रम हेर्दा लु लाग्ने अवस्थाको रहे पनि स्थानीय वायुको प्रभावले पानी पर्दा लु नलागेको मानन्धरले बताउनुभयो । अप्रिलको आधा महिनादेखि मेको आधा महिना नेपालमा अत्यधिक गर्मी हुने महिनामा पर्छ ।

उहाँले भनेजस्तै हावा ओसिलो हुँदा तातो र उकुसमुकुस हुने खालको गर्मी सर्वसाधारणले महसुस गरे ।

हिउँद सकिएलगत्तै सुरु भएको प्रिमनसुन यस पालि निकै सक्रिय रहेको मानन्धरले बताउनुभयो । प्रिमनसुन सक्रिय हुँदा वर्षात् कम हुने आँकलन एकथरी मौसमविद्ले गरे पनि मानन्धरले भने त्यो नहुने बताउनुभयो ।

“प्रिमनसुनले पानी सकिने हैन वातावरणमा आउने परिवर्तन र वाष्पयुक्त वायुको आवतजावतले मनसुनमा कति पानी पर्ने भन्ने निर्धारण हुनेगर्छ,” उहाँले भन्नुभयो, “तर प्रिमनसुनमा पहिलेभन्दा पानी बढी परेको भने हो ।”
बङ्गालको खाडीस्थित अन्दामान टापुबाट निकोमन आइल्यान्डको बाटो मनसुन नेपाल आउँदै गरेको मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुनले श्रीलङ्कामा छोयो । हरेक वर्ष २५ मे को आसपास श्रीलङ्कामा मनसुन पुग्नेगर्छ ।

हरेक वर्षको १ जुनमा तामिलनाड्डु आइपुगेपछि त्यो मनसुन बङ्गलादेशमा पनि पुग्छ ।

त्यसपछि भने मनसुन नेपाल भित्रनेछ ।

मनसुन स्वागत गर्न चलिरहेको प्रिमनसुनमा ठूला ठूला थोपाको पानी, असिना र हावाहुरी ह्वात्त आउँदै जाने गरिरहने मानन्धरले बताउनुभयो ।

बिहान, दिउँसो र राति विभिन्न स्थानमा पानी पर्नेक्रम मनसुन भित्रदासम्म जारी रहने विभागले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles