39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

पोखरामा ग्रेट हिमालयन महोत्सव हुने

काठमाडौँ, मङ्सिर १५ गते ।

पाँचौँ अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव आगामी मङ्सिर २४ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा महोत्सवको पाँचौँ संस्करण गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महोत्सव सफल पार्न सङ्घका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको र समितिमा पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि रहेका छन् ।

महोत्सवको आवश्यक सम्पूर्ण तयारी पूरा भएको सङ्घका महासचिव कुलबहादुर गुरुङले बताउनुभयो ।

सो अवसरमा हिमाली क्षेत्रका समुदायको परम्परागत सांस्कृतिक नाचगान र झाँकीसहित खेल पर्यटनको पनि विकास गर्ने उद्देश्यले एशियाकै म्याराथन नायक बैकुण्ठ मानन्धरको नाममा ‘एनएमए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन’ समेत आयोजना गरिने भएको छ ।

महिला र पुरुष दुवै खेलाडीको सहभागी हुने गरी पहिलोपटक ४५ किमीको म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घका महासचिव गुरुङले जानकारी दिनुभयो ।

नवील बैंकको प्रायोजनमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी ‘एनएमए हिमालयन साइक्लिङ’ र ‘एनएमए टोनी हेगन टुरिज्म पन्टिङ’ आयोजना गरिने छ । विजयीलाई साइक्लिङतर्फ रु एक लाख १० हजार र पन्टिङतर्फ रु ५५ हजार पुरस्कार दिइनेछ ।

महोत्सवमा विज्ञान, प्रविधि, खानाका परिकार, सूचना केन्द्र, विभिन्न पर्यटकीय वस्तुसहितका ३० भन्दाबढी व्यावसायिक कक्ष रहनेछन् ।

गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली तामाङलगायतका अन्य जनजाति तथा समुदायका सांस्कृतिक नाच तथा खानका परिकारलाई समेत प्रतिस्पर्धात्मकरुपमा राखिने र उक्त खानाका परिकारमध्ये प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रममा लोपोन्मुख ‘तारो हान्ने छेलो हान्ने’ खेल तथा बोल्डरिङ क्लाइम्बिङसमेत समावेश गरिएको छ ।

नेपाल पर्यटन बोर्ड प्रमुख प्रायोजक तथा १२ भन्दाबढी संस्थाको सहयोग रहेको महोत्सवमा ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी सहभागी हुने अपेक्षा गरिएको छ ।

सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घअन्तर्गतको संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्गठनले प्रत्येक वर्षको डिसेम्बर ११ तारिखलाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसका रुपमा मनाउने घोषणा गरेदेखि सङ्घले यो दिनलाई महोत्सवका रुपमा मनाउँदै आएको छ ।

पिक प्रोफाइलको काम तीव्र गतिमा

सङ्घका अध्यक्ष सन्तवीर लामाले चुलीको सम्पूर्ण जानकारी दिने पिक प्रोफाइलको काम तीव्र गतिमा अघि बढाइएको बताउनुभएको छ ।

सङ्घको नयाँ कार्यसमितिबारे सर्वोच्च अदालतले हालै दिएको आफ्नो नेतृत्वमा निर्वाचित कार्यसमितिलाई पूर्ण वैधानिक र आधिकारिकता दिएकाले अब नयाँ गतिमा काम गर्ने र प्रोफाइल बनाउने कामलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

सङ्घले ४७६ वटा चुलीको प्रोफाइल बनाउन लागेको हो ।

अध्यक्ष लामाले व्यक्तिगत स्वार्थका लागि संस्थालाई हानि पुग्ने खालका गतिविधिमा नलाग्न तथा एकजुट भई देशको पर्वतीय पर्यटन विकासमा लाग्न सम्पूर्ण व्यवसायीलाई अनुरोध गर्नुभयो ।

विसं २०७४ साउन २१ गतेको सङ्घको निर्वाचनमा लामाको नेतृत्व विजयी भएपछि पराजित समूहले निर्वाचनमा धाँधली भएको भन्दै नवनिर्वाचित कार्यसमितिलाई विपक्षी बनाई २०७४ भदौ ९ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाउपर सर्वोच्चले यही कात्तिक २९ गते पूर्णरुपमा खारेज गरी लामा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको होे ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles