40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

चितवन राष्ट्रिय निकुञ्जमा भटाभट छावा जन्मिए

चितवन , मंसिर ३, २०७५ ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ ।

यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन् । पाँच ढोई गर्भिणी रहेका छन् ।

तिनीहरूले पनि यसै आवमा बच्चा जन्माउने अनुमान गरिएको छ ।

हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका प्रमुख बुधन चौधरीका अनुसार आज बिहान ४ः३२ मिनेट जाँदा कसरा हात्तीसारमा रहेको तमरकलीले भाले छावा जन्माएको हो ।

गर्भिणी भएको जस्तो नदेखिएको भए पनि अकस्मात् बच्चा जन्माएको तमरकलीका दरोगा (स्याहारकर्ता) राजेन्द्र पनवाले बताए ।

यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन् ।

यसै वर्षको असोज २३ गते पुजाकलीले पोथी र कात्तिक १६ गते गणेशकलीले भाले छावा खोरसोरमा जन्माएका छन् ।

प्रमुख चौधरीका अनुसार निकुञ्जको सुखीभार पोष्टमा रहेको तीर्थमानकली र टाइगरटप्स पोष्टमा रहेको गण्डकीकली गर्भिणी छन् ।

प्रजनन केन्द्रमा रहेका लोकतन्त्रकली, कर्णालीकली र चितवनकली पनि गर्भिणी रहेको चौधरीले बताए ।

गत आवमा चितवनकलीले सिमसिमकली, कर्णालीकलीले अम्बेकली, पुजाकलीले खोरसोरगञ्ज र गणेशकलीले कृष्णचन्द्रगञ्ज गरी चार बच्चा जन्माएका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन राम्रो रहेको बताए ।

व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायतका कारण प्रजनन राम्रो भएको उनले बताए ।

आज जन्मिएको सहित निकुञ्जको दरबन्दीमा हात्तीको सङ्ख्या ५६ पुगेको छ ।

गर्भिणी भएपछि २२ देखि २४ महिहीनामा हात्तीले बच्चा जन्माउँछ ।

कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती रहेका छन् ।

विसं २०४२ मा भारत सरकारले दिएको १६ वटा हात्ती ल्याएर शुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २७ वटा हात्तीका बच्चा जन्मिएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles