27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

इलामका पर्यटकीय स्थलमा पर्यटकको भीडभाड बढ्दै

इलाम, कार्तिक १२, २०७५ ।

चाडपर्वसँगै घुमघामका लागि इलामका पर्यटकीय स्थल आउनेको संख्या बढेको छ ।

बर्खाभर सुनसान जस्तै देखिएका यहाँका पर्यटकिय स्थल मौसममा सुधार आएसँगै भरिभराउ हुन थालेका हुन् ।

सदरमुकाम क्षेत्रमा पनि देशका विभिन्न स्थानबाट घुम्न आउनेका कारण चहलपहल बढेको छ ।

मुलुककै पुरानो चिया बगान, पुरानो चिया कारखना, भ्युटावर र मठ मन्दिरमा पर्यटक पुग्ने गरेका छन् ।

ग्रामीण पर्यटनको नमुना बन्दै गएको अन्तुमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

दसैं लागेदेखि नै अन्तुमा रमाउन आउनेहरूको लर्को लागेको हो ।

झुल्केघामको दृश्यावलोकनसँगै अन्तु पोखरीमा डुङ्गा सवार र आसपासका चियाबारीमा रमाउनेका कारण त्यस क्षेत्रको व्यपार व्यवसायमा पनि उल्लेख्य फाइदा पुगेको छ ।

स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले दसैं लागेदेखि टाढाटाढाबाट घुम्न आउनेको संख्या बढेको बताए ।

पोखरी आसपास रहेका दर्जन जति होमस्टे र होटलसहित अन्यत्र रहेका होमस्टेमा पनि बुकिङ धमाधम भइरहेको छ ।

सूर्योदय नगरपालिकाको फिक्कलबाट १३ किलोमिटर पूर्वमा रहेको अन्तुसम्म पुग्ने सडक कालोपत्रे भएपछि अन्तुको पर्यटनले गति लिएको हो ।

यो क्षेत्रमा स–साना पसलदेखि ठूला होटलसम्म खुल्न थालेका छन् ।

स्थानीय घरलाई व्यवस्थित गरी होमस्टे सञ्चालन गर्ने पनि थुप्रै देखिएका छन् ।

यता रोङ गाउँपालिकाको धार्मिक स्थल पाथीभरा आउने पर्यटकको सङख्या पनि बढेर गएको छ । मेची राजमार्ग माथिको डाँडामा रहेको मन्दिर त्यहाँको मुख्य आकर्षण हो ।

मन्दिर दर्शनसँगै हरियाली वनजंगल र दृश्यावलोकनका लागि त्यहाँ धेरैको आवागमन हुने गरेको छ ।

थुम्काथुम्का डाँडामा चियाबारीले सजिएको कन्याममा पनि पर्यटकको बाक्लो उपस्थिति छ ।

वनभोजका लागि प्रख्यात कन्याममा साथीसंगी बिदाको रमाइलो साट्नेदेखि पारिवारिक रूपमा चियाबारीको आनन्द लिन टाढाबाट आउने गरेका छन् ।

रमणीय डाँडाकाँडाको दृश्यावलोकन र घोडचढीको आनन्द पर्यटकलेलिने गरेका छन् ।

फिक्कल र पशुपतिनगर क्षेत्रमा पनि पर्यटकको बाक्लो उपस्थिति छ । इलामसँगै भारत दार्जिलिङ र सिक्किम घुम्न जानेका कारण यी क्षेत्रमा चहलपहल बढेको हो ।

यहाँका होटल व्यवसायीसँगै इलामको कोसेली चिया, छुर्पी, ललिपपलगायतका सामाग्री बिक्री गर्ने पसललाई पनि फाइदा पुगेको फिक्कलका युवराज प्रधानले बताए ।

उत्तरी सन्दकपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि चहलपहल बढ्दो छ । सदरमुकामबाट १३ किलोमिटर उत्तरको माइपोखरीमा श्रद्धालुसँगै जैविक विविधतासँग रमाउनेको चहलपहल छ ।

रामसार क्षेत्रमा सूचीकृत माइपोखरी धार्मिक र जैविक विविधताका हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ ।

जिल्लाकै अग्लो सन्दकपुर पुग्न चाहने पनि उत्तिकै छन ।

भारतीय र पश्चिमा पर्यटकको बाक्लो भीड लाग्ने सन्दकपुरमा नेपाल भएर पनि जाने उत्तिकै छन ।

माबु र माइमझुवा हुँदै सदरमुकामबाट करिब ४५ किलोमिटरको दूरीमा सन्दकपुर पुग्न सकिन्छ । त्यहाँबाट सगरमाथा, कञ्चनजंघासहित नेपाल, भारत र भुटानका दर्जनौं हिमाल देख्न सकिन्छ ।

झुल्केघाम दृश्यावलोकनका लागि पनि प्रख्यात मानिएको ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुरसम्म पैदल नै यात्रा गरेर आसपासका क्षेत्रमा रमाउनेहरू पनि धेरै छन ।

सन्दकपुर गाउँपालिका क्षेत्रका ढापपोखरी, टोडे झरना, छिन्टापु, माबुथाम, दोबाटे, कालपोखरी, जौबारी, मेघ्मा, तुम्लिङलगायत स्थानका ठाउँ पनि पर्यटकका रोजाइमा छन ।

सदरमुकाम पश्चिमको सिद्धिथुम्का, माङमालुङ, गजुरमुखीधाम, माङसेबुङ लगायत क्षेत्रमा पनि पर्यटकको चहलपहल बढ्दै गएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles