दुई वर्षमा सबै गरीब पहिचान गरिने

द्वारा : सुदुर न्युज
0

काठमाडौँ , कार्तिक ९, २०७५ ।

सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य लिएसँगै थप ५१ जिल्लामा गरीब पहिचान गर्ने भएको छ ।

गरीब घरपरिवारको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजनामार्फत उनीहरुलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्य राखिएको छ ।

जनताको जीवनस्तरमा सुधार ल्याई सरकारले मुलुकमा गरीबी निवारण गर्ने लक्ष्य रहेको उक्त कार्यक्रम दुई वर्षभित्र सम्पन्न गरिने भूमि व्यवस्था तथ सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

चालू आवमा रु ६३ करोड विनियोजन गरिएको छ भने आगामी वर्षमा आवश्यकताअनुसार लगानी वृद्धि गरिने छ । यसअघि सर्भेक्षण गरिएका देशका २६ जिल्लाबाहेकका स्थानमा सर्भेक्षण गर्न लागिएको हो ।

गरीब घरपरिवारको पहिचानका लागि जनसङ्ख्या, घर, सुविधा, सम्पत्ति, जातजाति, भौगोलिक क्षेत्रलगायतलाई आधार मानेर विभिन्न २६ जिल्लामा सर्भेक्षण सम्पन्न भइसकेको छ ।

गरीब पहिचान भएका जिल्लामा खोटाङ, भोजपुर, सिराहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुमपूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, रुकुमपश्चिम, बाजुरा, बझाङ, अछाम र कैलाली छन् ।

ती जिल्लाका १२ लाख २४ हजार ४१७ घरपरिवारका बारे अनुसन्धान गर्दा सर्भेक्षणले तीन लाख ९१ हजार ८३१ घरपरिवारलाई गरीबका रुपमा पहिचान गरेको थियो ।

सर्भेक्षणअनुसार अति गरीब एक लाख ८८ हजार २३२, मध्यम गरीबमा एक लाख १९ हजार ७५४ र सामान्य गरीबमा ८३ हजार ८४५ जना पाइएका छकार्तिक ९, २०७५न् ।

आठ लाख ३२ हजार ५८६ गैरगरीब पाइएका छन् ।

सर्भेक्षण भएका क्षेत्रमा गरीब परिवारलाई परिचय वितरणको कार्यक्रम स्थानीय तहको सहकार्यमा शुरु भइरहेको छ ।

उक्त कार्य सम्पन्न भएपछि गरीबी निवारणका लागि आवधिक योजना तथा दिगो विकास लक्ष्य केन्द्रित भई आयआर्जन, सीपमूलक, शिक्षा, स्वास्थ्य, बीमा, खाद्य सुरक्षा भत्तालगायत सामाजिक संरक्षणका कार्यक्रम सञ्चालन गर्ने नीति रहेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो ।

सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले गरीबीको आ–आफ्नै ढङ्गले परिभाषित गरेका कारण वास्तविक गरीबको सङ्ख्या प्राप्त हुन सकेको छैन ।

संविधानले सबै नागरिकलाई रोजगारीको प्रत्याभूति गर्न रोजगारीको हकको व्यवस्था गरेको भए पनि सो कार्यान्वयन हुन सकेको छैन ।

विगतमा राजनीतिक अस्थिरताले सरकारका नीति तथा कार्यक्रममा नकारात्मक असर पार्ने गरेको थियो ।

अहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार गठन भएपछि देशमा स्थिरताको वातावरणले आन्तरिक तथा बाह्य लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय रोजगार नीतिको तर्जुमा गर्ने, बेरोजगारीको लगत सङ्कलन गर्ने स्वास्थ्य, शिक्षा, रोजगारको व्यवस्था गरेर दिगो विकासको लक्ष्य हासिल गर्न आवश्यक देखिएको छ ।

जनप्रतिनिधिमार्फत गरीबी निवारण कार्यक्रम लक्षित वर्गसम्म पुग्ने विश्वास गरिएको छ ।

अर्थशास्त्री राधेश्याम मालाकारका अनुसार प्रत्येक वर्ष गरीबी घटिरहेको समाचार आए पनि निरपेक्ष गरीबीको रेखामुनि रहेका समूहको जीवनस्तरमा सुधार हुन सकेको छैन ।

दुर्गम क्षेत्र तथा पहाडी र हिमाली जिल्लामा गरीबको अवस्था दयनीय देखिएको छ ।

मुलुकको गरीबी बढ्नुको कारण देशको जनसङ्ख्यालाई आवश्यकताअनुसार उत्पादन नहुनु, रोजगारीका अवसर प्राप्त नहुनु, पूर्वाधार तथा विकास निर्माणका कार्यले गति लिन नसक्नुजस्ता प्रमुख कारण मानिन्छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy