म्याग्दीका किसानलाई धानबाली भित्र्याउन भ्याइ नभ्याई

द्वारा : सुदुर न्युज
0

म्याग्दी , कार्तिक ९, २०७५ ।

म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भित्र्याउन भ्याइ नभ्याई भएको छ ।

‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भित्र्याउने चटारोमा किसानहरु लागिपरेका छन् ।

खेतका गह्राभरी पाकेको पहेंलपुर मुख्य धानबाली भित्र्याउने काममा किसानहरु व्यस्त देखिएका छन् ।

नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भित्र्याउन शुरु गरेका थिए ।

असोजदेखि मंसिरसम्मको समय उनीहरुका लागि अत्यन्त व्यस्तताको समय हो ।

चाडपर्वसँगै आफूहरु धान काट्ने, उठाउने, कुन्यु लगाउने र दाँई हाल्नेजस्ता काममा व्यस्त भएको किसानहरुले बताएका छन् ।

धानबाली भित्र्याए लगत्तै गहुँ, जौ, तोरी, उवालगायत हिउँदेबाली लगाउने गरिन्छ ।

जिल्लाको उच्च पहाडी भेगका कृषकहरु धानबाली भित्र्याएर कोदो काट्ने र गहुँ, जौ, उवा छर्ने तयारीमा लागेका छन् ।

यसपाली मौसम अनुकुल भएका कारण बाली भिœयाउन सहज भएको बेनी नगरपालिका–५, चिप्लेटीका किसान मिनबहादुर खत्रीले बताए ।

बाली लगाउने, स्याहारसुसार गर्ने र भित्र्याउने बेलामा गाउँगाउँमा अर्मपर्म तथा पालो लगाउने चलन रहिआएको छ ।

दशैंअघि नै म्याग्दीको माथिल्लो क्षेत्रमा वर्षेबाली भित्र्याउन शुरु भएको थियो ।

कुहुँ, पुलाचौर, घतान, पात्लेखेत लगायतका क्षेत्रका किसानहरुले धानबाली भित्र्याउन थालेका छन् ।

विगत केही वर्षयता म्याग्दीमा बारीलाई खेत बनाएर धानखेती गर्ने चलन बढ्न थालेको छ भने बारीमा समेत धान रोप्ने गरिएको छ ।

जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ ।

हिमाली गाविस गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धानखेती हुँदैन । म्याग्दीमा गौरिया, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्र्छे–३, लुम्ले–२ लगायत लोकल जातका धानहरु रोपिँदै आएको छ ।

म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९७ हेक्टरमा धानखेती हुँदै आएको छ भने ३ हजार ६२ हेक्टरमा गहुँ, २ हजार ७ सय ४० हेक्टरमा कोदो र नौहजार ८ सय ७२ हेक्टरमा मकैखेती हुँदै आएको छ ।

विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा धान उत्पादनमा कमी आउने कृषि प्राविधिकहरुले अनुमान गरेका छन् ।

यसैबीच पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि दाँई हाल्ने, खेतबारी जोत्ने र मल बनाउन गाईगोरुको अभाव झेल्न पनि किसानहरु बाध्य छन् ।

युवापुस्ता रोजगारी, अवसर र सेवासुविधाको खोजीमा देशविदेश तथा शहर पसेका कारण गाउँमा श्रमिकको अभाव देखिएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy