25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

खाना पकाउने ग्यासमा घाटा चुलिएपछि निगमको नयाँ विकल्प, दुईथरी मूल्य लागू गर्ने तयारी

काठमाडौँ , भाद्र २०, २०७५ ।

नेपाल आयल निगमले व्यावसायिक र घरायसी प्रयोजनको ग्यास सिलिण्डरको मूल्य दुई थरी कायम गर्ने तयारी थालेको छ। घरायसी प्रयोजनको रातो सिलिण्डरको मूल्य कम र व्यावसायिक प्रयोजनको निलो सिलिण्डरको मूल्य धेरै कायम गर्ने तयारी निगमले गरेको हो।

खाना पकाउने ग्यासको मूल्यमा बढ्दो घाटा कम गर्ने उपायस्वरुप निगमले सिलिण्डरको मूल्य दुई थरी बनाउन लागेको हो।

निगमले अहिले व्यासायिक र घरायसी प्रयोजनको ग्यास खपतको तथ्याङ्क ग्यास व्यवसायीसँग मागेको छ।

सरोकारवालासँगको छलफल, बजारको अध्ययन र प्राप्त तथ्याङ्क विश्लेषण गरी दुई थरी मूल्य कार्यान्वयन गरिने आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।

‘एलपी ग्यासको घाटा कम गर्नका लागि ग्यासको खपतलार्इ व्यवस्थित गर्न रातो र निलो सिलिण्डरको प्रयोगको कार्यविधिलार्इ निगमले पुनः अध्ययन गरी अघि बढाउने तयारी गरेको छ’ भट्टराईले भने।

पछिल्लो पटक एलपी ग्यासमा प्रतिसिलिण्डरमा ५१ रुपैयाँ मूल्य बढेर आएको निगमले जनाएको छ।

आयल निगमले अहिले ग्यासमा प्रतिसिलिण्डर तीन सय ३२ रुपैयाँ घाटा व्यहोर्नुपरेको छ। ग्यासतर्फ मात्रै १५ दिनमा ३९ करोड ५८ लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ ११ पैसा घाटा छ।

१५ दिनमा करिब दुर्इ करोड ४० लाख घाटा हुन्छ।

डिजेलमा प्रतिलिटर दुर्इ रुपैयाँ ८४ पैसा घाटा छ।

डिजेलमा पनि १९ करोड ३२ लाख घाटा हुने अवस्था छ।

निगमलार्इ मट्टितेल र हवार्इ इन्धनमा मात्रै फाइदा छ।

१५ दिनमा मट्टितेलमा १५ करोड र हवार्इ इन्धनमा करिब २७ करोड ९० लाख रुपैयाँ नाफा छ।

चुलिँदै घाटा

नेपाल आयल निगमको घाटा चुलिँदै गएको छ। अमेरिकी डलरसँग नेपाली मुद्रा कमजोर हुने क्रम बढेसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा निगमको घाटा घाटा बढेको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी)को पछिल्लो मूल्य अनुसार आयल निगमले एक महिनामा ६४ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था आएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले जानकारी दिए।

करिब तीन साताअघि प्रति ब्यारेल कच्चा इन्धनको मूल्य ७१/७२ अमेरिकी डलर थियो।

पछिल्लो साता कच्चा इन्धनको मूल्य बढेर ७६/७७ डलर पुगेको छ। एक ब्यारेलमा तीन ४/५ डलर मूल्य बढेकाले खरिद मूल्य बढ्दा नोक्सान बढेको निगमले जनाएको छ।

भट्टरार्इका अनुसार एक डलर वृद्धि हुँदा मासिक १७ करोड घाटा हुन्छ।

एक ब्यारेलमा ४/५ डलर मूल्य बढ्दा मासिक रूपमा ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको हो।

अमेरिकी डलरको सटही दर १०८ रुपैयाँबाट बढेर ११४ रुपैयाँ पुगेको छ। यो दर हालसम्मकै उच्च हो।

अहिले १ डलरमै करिब छ रुपैयाँ बढेको छ। जसका कारण निगमले ठुलो घाटा व्यहोर्नुपर्ने अवस्था छ।

निगमका अनुसार भारतबाट आएको नयाँ मूल्यअनुसार समग्रमा निगमलार्इ १५ दिनमा करिब ३१ करोड ५९ लाख रुपैयाँ घाटा हुने अवस्था छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles