28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

पूर्व प्रहरी अधिकारीको दावी : निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको प्रारम्भीक अनुसन्धान नै फितलो

धनगढी,भाद्र २०, २०७५  ।

घटना भएको झन्डै डेढ महिना पुग्नै लाग्दा समेत दोषि पत्ता नलागेपछि कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त हत्या प्रकरण अनिर्णयको बन्दी बन्दै गएको छ ।

स्थानीयको चर्को बिरोध पछि सरकारले कञ्चनपुरका सुरक्षा निकायका प्रमुख फेरे तापनि वास्तविकता बाहिर आउन नसकेपछि उक्त घटना कतै अनिर्णयको बन्दी बन्ने त हैन भन्ने आशंका गरिरहेका छन् कैयौंले ।

घटनालाई नजिकबाट बुझेका केही पूर्वप्रहरी अधिकारीहरुले घटनामा सुरुवातदेखि नै प्रहरीले देखाएको निष्क्रियताले बालिका हत्या प्रकरणको रहस्य गर्भमै रहन पुगेको प्रतिक्रिया दिएका छन् ।

गत साउन १० गते नजिकै रहेको साथी रोशनी बमको घरमा गृहकार्य गर्न हिँडेकी निर्मला साँझ अवेरसम्म नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गर्दा समेत आलटाल गर्नु, मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई मुख्य आरोपीको रुपमा उभ्याई घटनालाई ढाकछोप गर्न खोज्नु, जुन घरबाट निर्मला हराएकी थिईन त्यहाँ झण्डै एक महिनासम्म खासै खानतलासी नहुनु लगायतका कारणले आम नागरिकमा प्रहरी प्रशासनप्रति शंका उत्पन्न भएका बेला पूर्व प्रहरी अधिकारीहरुले समेत प्रहरीले उक्त घटनामा सुरुवातबाटै गल्ती गरेको बताएका छन् ।

पुर्व प्रहरी अतिरिक्त महानीरिक्षक जय बहादुर चन्दले  बालिका हरायो भन्दा खबर गर्दा समेत प्रहरीले कुनै प्रतिक्रिया नै नजनाउनु ठुलो गल्ती भएको बताए ।

उनले भने,‘प्रहरीले त  तत्कालै प्रतिक्रिया जनाउनुपर्ने हो तर बालिका हरायो भन्दा पनि भोली आउनु भनेको देखियो यो नै प्रहरीको पहिलो गल्ती हो ।’ यो घटनाले प्रहरीको प्रतिष्ठामा वषौँ सम्म पनि नमेटिने कलंक लागेको  उनको तर्क छ ।

पूर्व प्रहरी नायब महानीरिक्षक हेमन्त मल्लले   कुनै पनि घटनामा प्रमाणहरु नष्ट हुन नदिन तत्कालै घटनास्थलाई सील गरी अनुसन्धान प्रक्रिया सुरु गर्नु पर्ने बताए ।

तर निर्मला हत्या प्रकरणमा भने शव भेटिएको स्थानलाई प्रहरीले न त सुरक्षा दिएको देखिन्छ न आसपासका क्षेत्र नै सिल गरेको छ ।

बरु प्रहरीले उल्टै पानीले बालिकाको शव र कपडा पखालिदिएको छ । जसका कारण मृतकको शरिरमा भएका सम्भावित प्रमाण समेत नष्ट हुन पुगे भने २६ दिनसम्म प्रहरीले निर्मलाको साथी रोशनी बमको घरमा खानतलासी समेत गरेन ।

जब की प्रहरीले अनुसन्धानको प्रारम्भिक चरणमा यी विषयमाथि गम्भीर भएर लाग्नुपर्ने थियो ।

मल्लले मिडियामा सार्वजनीक भएका भिडियोमा प्रहरीले उक्त कुरालाई ध्यान नदिएको देखिएको जनाए ।

घटनाको प्रारम्भिक चरणदेखि नै प्रहरीले देखाएको निष्क्रियताका कारण कञ्चनपुरमा आन्दोलन चर्किदा एक जनाले ज्यान नै गुमाए ।

प्रहरीले पीडित परिवारलाई समेत बारम्बार मानसिक सन्तुलन गुमेका व्यक्तिका विरुद्ध जाहेरी दर्ता गर्न दबाब दिइरह्यो ।

यो घटनामा प्रहरी र पीडित पक्षबिचको दूरी बढ्दै जानुले पनि सर्वसाधारणको मनमा घटना यत्तिकै तुहिने त हैन भन्ने आशंका पैदा हुनु स्वभाविक  भएको मल्ल बताउछन् ।

हुन त कञ्चनपुरमा प्रहरी प्रशासन विरुद्ध आन्दोलन चर्किएपछि सुरक्षा अधिकारी फेरिएका छन् भने विवादमा तानिएका तत्कालिन प्रहरीप्रमुख डिल्लीराज विष्ट अनुसन्धान अवधिभरका लागि निलम्बनमा परिसकेका छन् ।

तर पुरानो टोलीले घटनासँग सम्बन्धित प्रमाणहरु नष्ट गरेपछि नयाँ टोलीलाई समेत अनुसन्धानमा अप्ठ्यारो भइरहेका कुरा सार्वजनिक भइरहेको छ ।

यस्तो अवस्थामा न्याय पाउने झीनो आशामा बसेका पीडित परिवार र आम कञ्चनपुरबासीका मनमा वास्तविक दोषिले उन्मुक्ति पाउने त हैन भन्ने कुरा खेल्न थालेको छ ।

आशा गरौँ नयाँ टोलीले घटनाको वास्तविकता बाहिर ल्याएर दोषिलाई कारबाहीको दाएरामा ल्याउने छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles