36.3 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

कापी–कलम किन्न नसकेपछि छात्राले लेखिन् प्रअलाई पत्र

बाग्लुङ, भाद्र ८, २०७५ ।

संविधानले आधारभूत शिक्षा (कक्षा ८ सम्म)लाई अनिवार्य र निःशुल्क गरे पनि म्याग्दीकी पूजा खत्रीले भने कापी र कलम किन्न नसक्दा प्रधानाध्यापकलाई पत्र लेखेर विद्यालय छाडेकी छिन् ।

बेनी नगरपालिका–६ स्थित जमुनाखर्क माविमा कक्षा ६ मा अध्ययनरत छात्रा पूजा खत्रीले घरमा खाने खर्च र कापीकलम किन्ने पैसा नभएकाले विद्यालय जान नसकेको भावुक पत्र प्रधानाध्यापकलाई पठाएकी छिन् ।

छात्रा खत्रीले पत्रमा पारिवारिक र आर्थिक अवस्थाका कारण विद्यालय आउन नसक्ने भएकाले विद्यालयबाट निकाला गरिदिन प्रधानाध्यापकसमक्ष अनुरोध गरेकी छिन् ।

‘म धेरैजसो विद्यालयमा उपस्थित हुन पाइनँ, अब मलाई ‘रेस्टिगेट’ गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु,’ पत्रमा लेखेकी छिन्, ‘घरमा न खाने खर्च छ, न लेख्ने पढ्ने कापीकलम भएकोले हो सर म बाध्यताले विद्यालयमा आउन सकिनँ मलाई पढाइ दिने कोही छैनन् ।’

पूजाले साथीमार्फत १ भदौमा प्रअलाई पत्र पठाएकी थिइन् ।

पूजाको परिवारको आर्थिक अवस्था निकै दयनीय छ ।

पूजाका बाबुले दैनिक जसो मदिरा सेवन गरेर ज्याला मजदुरी गर्ने स्थानमै पुगेर कुटपिट गरेपछि आमाले दोस्रो विवाह गरिन् ।

आमाले छाडेपछि खाने गाँस र बस्ने बासको टुंगो नलागेको तथा पढ्ने वातावरण नभएको पूजाले बताइन् ।
विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाले विद्यालयमा त्रैमासिक परीक्षा आएको र नियमित विद्यालयमा आउन ताकेता परेपछि साथीमार्फत पत्र आएको बताए ।

पूजा खत्रीलाई पढ्ने वातावरण बनाउन विद्यालय प्रशासन र वडाका जनप्रतिधिले समेत प्रयास गरेका छन् ।

खत्रीको परिवारिक स्थिति कमजोर रहेका कारण उनीलगायत उनका भाइबहिनीलाई पढनका लागि वातावरण बनाउन विद्यालय प्रशासन र वडा कार्यलय लागि पर्ने उनले बताए ।

विद्यालयले सहयोगका लागि वडाध्यक्ष कृष्णबहादुर बानियाँलाई पत्र हस्तान्तरण गरेको छ । ‘परिवारको अवस्था दयनीय छ, मैले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएको छु,’ वडाध्यक्ष बानियाँले भने ।

वडाभित्र रहेका सामुदयिक विद्यालयमा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने र कक्षा १२ सम्म नै निःशुल्क छ ।

पूजाका लागि वडा कार्यालयले अभियान सञ्चालन गरेर पढनका लागि घरायसी वातावरण सिर्जना गर्ने उनले बताए ।

पूजाका बाबुले रक्सी सेवन गरेर कुटपिट गर्ने गरेको जानकारी पाएललगत्तै वडा कार्यालयले कारबाहीको चेतावनीसमेत दिएको बानियाँले बताए ।
विपन्न परिवारका सदस्यलाई आवश्यकताअनुसार सहयोगका लागि वडा कार्यालयले समेत निःशुल्क सेवा दिने गरेको बानियाँको भनाइ छ ।

आमाबाबुबीचको झगडा र मनमुटावले बालबालिकाको विचल्ली भएको हुँदा उनका लागि सहयोग दिन तयार रहेको उनले बताए ।

पूजाले पठाएको पत्र विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएलगत्तै उनको पढाइमा सहयोग गर्न विभिन्न व्यक्तिहरूले चासो देखाएका प्रअ ढुंगानाले बताए ।

‘पूजाको समस्याका बारेमा जानकारी लिएर सहयोगका लागि प्रतिबद्धता आउन थालेको छ,’ उनले भने ।

उनीजस्तै समस्यामा रहेका बालबालिकाका लागि सहयोग गर्न अभियान चलाउने उनले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles