39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

अपहृत बालकको हत्याः दुई अपहरणकारीको मृत्यु

भक्तपुर, साउन २१ गते ।

काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुरथिमिमा ल्याइएका बालकको अपहरणकारीले हत्या गरेका छन् ।

बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसँगको भिडन्तमा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

महाशाखाबाट खटिएर आएका प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वको प्रहरी टोलीसँगको भिडन्तमा अपहरणकारी नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ र सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भई हाल टाउन प्लानिङमा बालकको आमा चमेली खड्काले सञ्चालन गरेको खाजा पसलबाट आइतबार साँझ ६ बजे अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणकारीले हत्या गरी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।

प्रहरीले मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारको तल एक निर्माणाधीन घरको हिलामा तीन फिट तल गाडिएको अवस्थामा शव फेला पारेको हो ।

अपहरणकारीले बालकका मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा मध्याह्न १२ बजे शव भेटिएको हो ।

वरिष्ठ प्रहरी उपरीक्षक सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाएलगत्तै घटनामा खटिएका महाशाखाका पाँच टोलीले सूर्यविनायक जंगल क्षेत्रमा केिन्द्रत भएर खोजी गरेको थियो ।

अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका– ८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजीकै जंगलमा अपहरणकारीसँग जम्काभेट भएपछि भिडन्त भएको थियो ।

सिंहले भन्नुभयो, “सूर्यविनायक जंगलमा अपहरणकारी लुकेर बसेको अवस्थामा जम्काभेट भयो, पक्राउ गर्न खोज्दा अपहरणकारीले गोली चलाए, त्यसपछि प्रहरी टोलीले जवाफी फायर ग¥यो, प्रहरीसँगको मुठभेडमा दुवै अपहरणकारी मारिए ।”

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउण्ड गोली र मोबाइल बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

अपहरणकारीको शव मुचुल्का गरेर काठमाडाँै लैजाने तयारी भइरहेको छ ।

खड्काले सञ्चालन गरेको पसलमा आइरहने तामाङले आइतबार पसलमा आएर बालकसँग केहीबेर खेलेको अनुसन्धानमा खुलेको

प्रहरीले जनाएको छ ।

साँझ बालकलाई घुम्न जाने बहानामा फकाएर लगिएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरीवृत्त थिमिको प्रहरी टोलीले बताएको छ ।

साँझ छ बजे हराएको बालक राति ८ बजेसम्म घर नआएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले ८ बजेदेखि नै बालकको खोजी गरे पनि राति ९ बजे दुईपटक अपहरणकारीले बालकको आमालाई फोन गरेर रु ४० लाख फिरौती माग गरेपछि बालक अपहरणमा परेको खुलासा भएको थियो ।

प्रहरीका अनुसार बालक अपहरण भएको जानकारी पाएलगत्तै काडाँघारी प्रहरी प्रभागका प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिका प्रहरी तथा अपराध महाशाखाका करीब १५० जनाको प्रहरी टोली राति नै परिचालन भएर अपहरणकारीको खोजी गरेको थियो ।

आज बिहान अपहरणकारी थिमि धुञ्चेपाखा, नगदेश क्षेत्रमा रहेको जानकारी पाएपछि प्रहरी त्यसक्षेत्र परिचालन भएको थियो ।

प्रहरीले बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला पारेपछि फरार अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा लुकेको सुराकी पाएलगत्तै प्रहरीका् पाँच टोली त्यसतर्फ गएका थिए ।

मृतकका बाबु गणेश केही वर्षदेखि मलेसियामा कार्यरत छन् भने बालक टाउन प्लानिङस्थित हाइल्याण्ड सेकेण्डरी स्कूलमा

कक्षा ६मा अध्ययनरत थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles