38 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

बलात्कारका घटना बढे

काठमाडौंँ, साउन १९ गते ।

विगत एक हप्ताको अवधिमा पाँच वटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।

समाजमा यस्ता घटना बढ्नुमा एकथरि सामाजिक मान्यतामा आएको विचलन वा छाडापन जिम्मेवार ठान्छन् भने महिला अधिकारकर्मी फितलो कानुन र थोरै सजायलाई दोष दिन्छन् ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका उल्टेखामकी १३ वर्षीया एक किशोरीको बलात्कारपछि निर्मम हत्या घटनाको अनुसन्धान नहँुदै कैलालीको टीकापुर, भक्तपुरको थिःमि, काभ्रेको तिमाल र रोल्पामा पुनः यस्तै घटना दोहोरिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, गत शुक्रबार एक बालिकाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा बारीमा भेटिएको थियो ।

सो घटना भएको २४ घण्टा नबित्दै कञ्चनपुर पुनर्वासकी आठ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २४ वर्षीय सलिम अन्सारी पक्राउ परेका छन् ।

त्यस्तै, कैलालीको टीकापुरमा पनि एक महिलालाई झार–फुक तथा ज्योतिष विद्या सिकाइदिने बहाना बनाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले टीकापुर नगरपालिका वडा नम्बर–१ बस्ने ३६ वर्षीय तीर्थराज तिवारीलाई सोमबार पक्राउ गरेको छ ।

भक्तपुर मध्यपुर थिःमि नगरपालिका नगदेश बस्ने धादिङ घर भएकी एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले काभ्रे तिमाल गाउँपालिका–३ घर भई हाल सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने २४ वर्षीय जमान तामाङलाई मङ्गलबार राति पक्राउ गरेको छ ।

कञ्चनपुर घटनापछि नै रोल्पा गङ्गादेव गाउँकी ६५ वर्षीया महिलालाई माइतीघरबाट फर्किँदै गरेको अवस्थामा मदिरा सेवन गरी जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ५२ वर्षीय असे घर्तीलाई मङ्गलबार पक्राउ गरेको जनाएको छ ।

गत शुक्रबार ११ गतेदेखि एक हप्ताबीचमा पाँचवटा जबर्जस्ती करणीका घटना भएका छन् ।

जबर्जस्ती करणीका घटना वृद्धि हुनुमा यौन कुण्ठासँंगै आर्थिक प्रलोभन, डरधम्की, त्रास र सामाजिक विचलनको सङ्ज्ञा दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेल भन्नुहुन्छ, ‘हजुरबाले नातिनी, बाले छोरी, नाति उमेरको केटाबाट हजुरआमा, ससुराबाट बुहारीमाथि नै जबर्जस्ती करणी हुन्छ भने यो सामाजिक विचलन नभए के हो ?’

उहाँले काठमाडौँमा मात्र नभई देशैभर बलात्कारका घटना देखिन थालको जानकारी दिनुभयो ।

विगतमा पनि यस्ता अपराध नभएका होइनन् तर बाहिर आउँदैन थिए, उहाँले थप्नुभयो, ‘सामाजिक सञ्जाल र मिडियोको प्रभावका कारणले सम्पूर्ण घटनाबाहिर आउन थालेका छन् । ’

जबर्जस्ती करणीजस्तो जघन्य अपराधमा मिलापत्र गर्ने, आर्थिक प्रलोभन देखाई घटना लुकाउने गरिएको थियो ।

तर, अब सर्वसाधारणमा सञ्चारको पहुँच बढेसँगै यस्ता घटना दिनप्रति दिन बाहिर आइरहेका छन् ।

उहाँका अनुसार, काठमाडौँ जिल्लामा मात्र जबर्जस्ती करणीको दैनिक रूपमा उजुरी आउने गर्छन् ।

बलात्कार जस्ता अपराध दिनप्रति दिन बढ्दै गएको पाइन्छ, काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँमा गरी तीन जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा ६१० वटा जबर्जस्ती करणीको उजुरी परेका थिए ।

तीमध्ये १५५ घटना करणीको प्रयास भएको उल्लेख छन् ।

जबर्जस्ती करणीपछि २५ प्रतिशत महिलाको हत्या हुने गरेको जनाइएको छ ।

महिला अधिकारकर्मीहरू भने जबर्जस्ती करणी अपराधको कानुनी उपचार कमजोर भएकाले यस्ता घटना दोहोरिने गरेको दाबी गर्छन् ।

छोरी नामक संस्थाका अध्यक्ष एवम् महिला अधिकारकर्मी हीरा दाहाल भन्नुहुन्छ, ‘बलात्कारीलाई फाँसीको व्यवस्था हुनुपर्छ ।

यस्तै, अपराध बारम्बार दोहोरिने हो भने छोरी चेली जोगाउन धौ धौ पर्नेछ ।

नेपालको संविधान नै कुनै पनि कसुरमा फाँसीको सजाय हुने कानुन बनाउन निषेध गरेको छ । ’

वर्तमान कानुनले समेत जबर्जस्ती करणी घटनालाई अभियोग प्रमाणित भएमा करणीपीडित १० वर्षमुनिको छ भने १० देखि १५ वर्ष र १० वर्षभन्दा माथि १६ वर्षमुनिको छ भने सातदेखि १० वर्ष जेल सजाय हुने प्रावधान छ ।

१६ वर्षभन्दा माथिको हकमा पाँचदेखि सात वर्षसम्म जेल सजाय हुने प्रावधान छ ।

विशेष गरी तराई तथा दुर्गमका ग्रामीण भेगमा बलात्कारको घटना बढ्दै गए पनि यस्ता धेरै घटना अझै गुपचुप रहने गरेको पाइएको छ ।

बलात्कारपीडित आफैले पनि सामाजिक प्रतिष्ठा बिग्रने डरले सूचना लुकाउने गरेको अधिकारकर्मी बताउँछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार, प्रत्यक वर्ष नेपालमा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका छन् ।

प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले दिएको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७२÷७३ मा एकहजार ९३, २०७३÷७४ मा एकहजार १३४ र २०७४÷७५ सालमा एकहजार ४८० वटा बलात्कारका घटना भएका छन् ।

त्यस्तै, जबर्जस्ती करणीको प्रयास आर्थिक वर्ष २०७२÷७३ मा ४५०, २०७३÷७४ ५३१ र २०७४÷७५ मा ७२७ घटना भएका छन् ।

अधिकारकर्मी दाहाल भन्नुहुन्छ, ‘बलात्कारीलाई कडा कानुनी उपचारका अतिरिक्त अभिभावक पनि जिम्मेवार हुनु जरुरी छ । ’

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles