27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

यातायात कार्यालयका निमित्त प्रमुख सहित ७ कर्मचारी निलम्बित

महेन्द्रनगर : यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्त

बहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । विभागको आन्तरीक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका प्रवक्ता डा. टोपराज पाण्डेयले निमित्त कार्यालय प्रमुख सहितका ७ जना कर्मचारीहरु निलम्बन गरिएको पुष्टि गर्नुभयो । उहाँले मन्त्रालयले आवश्यक अनुसन्धानपछि उनीहरुलाई निलम्बन गरेको जानकारी दिनुभयो । ‘मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो’ प्रवक्ता पाण्डेयले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धान संगै थप प्रभावकारी हिसाबले अनुसन्धान गर्नका लागि सहजहोस भनेर निलम्बन गरेर अनुसन्धान थालिएको हो’ ।

निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह घरेलु तथा साना उद्योग कार्यालयबाट ५ महिना अघि मात्रै यातायात कार्यालयमा काज सरुवा हुनुभएको थियो । कार्यालय प्रमुख बाशुदेव रेग्मी काज सरुवा भएर पुतलीबजार नगरपालिका स्याङ्गजामा गएपछि सिंहले ३ महिनाअघि मात्रै निमित्त कार्यालयको प्रमुखको जिम्मेवारी पाउनुभएको थियो । उहाँ अहिले शाखा अधिकृत हुनुहुन्छ ।

यस्तै निलम्बनमा परेका अन्य कर्मचारीहरुमा मेकानिकल ईन्जिनियर दीपक थापा, नासुहरु नरेन्द्रराज जोशी, तारादत्त भट्ट महादेव भट्ट र केशवदत्त बडु र खरिदार श्यामराज ओझा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको गिरोहलाई एकसाता अघि पक्राउ गरेपछि भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिने काममा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु नै संलग्न रहेको पाईएपछि अनुसन्धानका लागि विभागले उनीहरुलाई निलम्बन गरेको हो । यातायात व्यवस्था कार्यालय सेती अञ्चल कार्यालयमा समेत केही सवारी दर्ता भएपनि त्यहाँका कर्मचारीहरुलाई भने कुनै कारबाही गरिएको छैन् ।

विभागले निलम्बन गरेको खबर सञ्चार माध्यमबाट थाहा पाएपनि यातायात कार्यालयमा आधिकारीक जानकारी नआएको महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले जनाएको छ । नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीसाधनहरु चोरी गरी नक्कली कागजात बनाई बिक्री गरेको आरोपमा कैलालीको भजनी त्रिशक्तिनगर -३ का गोकुल प्रसाद श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने हिमाल जोशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनीहरुले नक्कली कागजात तयार पारेर भारतीय नम्बरका सवारी साधनहरु नेपालमा दर्ता गरेर अरुलाई बिक्री वितरण गर्दै आइरहेको तथ्य खुलेको छ ।

सस्तो मुल्यमा महंगा गाडी चढ्ने सपना देखेर पैसा तिरेका धेरैजसो मानिसहरु अहिले तनावमा रहेका छन् । यस्ता सवारीका साधन खरिद गर्नेमा प्रहरीका अधिकृतहरु देखी लिएर ठुला ठूला व्यवसायीहरु समेत रहेको प्रहरी स्रोतले जनाएको छ । भारतबाट ८ लाख रुपैयाँसम्ममा चारपांग्रे गाडीहरू मगाउने र नेपालमा १० देखि २५ लाख रुपैयाँ सम्ममा उक्त गिरोहले गाडी बिक्री गर्दै आएको थियो । अहिलेसम्म ९ वटा कार र २५ वटा मोटरसाईकल प्रहरीले बरामद गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दले अनुसन्धान तिब्र रुपमा अघि बढेको बताउनुभयो । ‘ प्रहरीले अनुसन्धान टोली नै गठन गरेर विशेष रुपले यसको अनुसन्धान गरिरहेको छ’ उहाँले भन्नुभयो,‘ अहिले अनुसन्धान मै रहेकाले धेरै कुरा बोल्न मिल्दैन्’ । प्रहरीका अधिकृतहरु समेत सवारी खरिद गरेको पाईएपछि प्रहरीले अझ अनुसन्धानलाई गहन रुपमा अघि बढाएको हो ।

सरकारी कागजात किर्ते गर्नुका साथै नक्कली कागजात तयार पारेर अवैध सवारीलाई वैध बनाएर सञ्चालन भइरहेका थिए । प्रहरीले मुख्य योजनाकार गोकुल प्रसाद श्रेष्ठलाई पक्राउ गरेपछि तथ्य बाहिर आएको हो ।

source AnnapurnPostDainik

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles