26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

एकातिरको ‘नो पार्किङ’ स्थगित, अर्कोबारे निर्णयमा ढिलाइ

हेटौंडा.साउन ९ गते ।
सडक विस्तार नगर्ने तर अटो÷मयुरीलाई धमाधम चलाउन दिएर सडकलाई ‘नो पार्किङ जोन’ घोषणा गर्ने हेटौंडा उपमहानगरपालिकाको निर्णयविरुद्ध स्थानीय व्यवसायीको विरोध चर्किंदै गएको छ ।

मंगलबार हेटौंडा–४, स्कुलरोडका व्यवसायीले चर्को विरोध गरेर ‘नो पार्किङ’ विरुद्ध पार्किङ थालिएपछि उपमहानगरपालिका पछाडि हटेको छ । उपमहानगरपालिकाले मंगलबार विहान करिब ७ बजे ठूलो संख्यामा प्रहरी तैनाथ गरे पनि विरोधका कारण स्कुलरोडको ‘नो पार्किङ’ अभियान विहान करिब १० बजेदेखि तोडिएको थियो ।

स्कुलरोडका ब्यवसायीको विरोधपछि ‘नो पार्किङ’ योजनालाई स्थगित गरिएको हो ।

योजना स्थगित भए पनि विहान ८ बजेअघि र साँझ ७ बजेपछि मात्र ठूला सवारी पार्किङ गर्न दिने, अन्य समय ठूला सवारीभित्र प्रवेश नदिने सहमति जुटेको छ ।

‘जिपको हकमा भने बाटो प्रयोग गर्न दिने तर पार्किङ गर्न नदिने सहमति भएको छ,’ हेटौंडा–४ अध्यक्ष नवीन सिग्देलले बताउनुभयो ।

उता, हेटौंडा मुख्य बजार क्षेत्रमा गरिएको ‘नो पार्किङ’ का विषयलाई लिएर घोषित आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकाबीच वार्तापछि आन्दोलन स्थगन भएको हो ।

‘नो पार्किङ’ का विषयलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघ र उपमहानगरपालिकाबीच वार्तामा माग सम्बोधन हुने गरी सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

संघ अध्यक्ष कृष्ण कटुवाल र उपमहानगर मेयर हरिबहादुर महतसहित टोली संलग्न वार्ताले ७ दिनभित्र पार्किङ क्षेत्रको विकल्प खोज्ने गरी प्रतिवेदन प्रस्तुत गर्ने सहमति गरेको छ ।

तर, तोकिएको समय सकिए पनि निष्कर्ष निस्किएको छैन ।

संघले विशेष गरी मुख्य बजार क्षेत्रका शाखा सडकमा र मुख्य मार्गमा ट्राफिक एवम् पार्किङ व्यवस्थापनमा देखिएको समस्या तत्काल व्यवस्थापन गर्न उपयुक्त स्थानमा पार्किङ निषेधित क्षेत्र पहिचान गर्ने, शाखा सडकमा एकतर्फी सवारी सञ्चालनको विकल्प खोज्ने, मुख्य बजार क्षेत्रका प्रमुख मार्गआसपास मोटरसाइकल स्ट्याण्ड निर्माण गर्न उपयुक्तताको अध्ययन गरी प्रतिवेदन पेश गर्ने र सोपश्चात् उपयुक्तताका आधारमा निर्णय लिइने सहमति गरेको थियो ।

संघ अध्यक्ष कटुवालले नगर क्षेत्रमा विकल्पहरु प्रशस्त रहेको अवस्थामा उपमहानगरले ब्यवसायीलाई समस्या पार्ने हिसाबमा एकपक्षीय काम गरेको दाबी गर्दा उपमहानगर मेयर महतले भने बिकल्प दिएर राप्तिरोडबाट हटाइएको पार्किङ कुनै हालतमा फिर्ता लिएर फेरि बजारमा जाम बढाउने पक्षमा आफू नरहेको बताउनुभएको छ ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles