42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव

रत्ननगर, चितवन, असार ३१ गते ।

वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् ।

विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् ।

चितवनको भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी गर्मी र पानीको सम्मिश्रण र यो समयमा भौतिक निर्माणले खाल्टाखुल्टीसमेत बढ्ने हुँदा लामखुट्टे हुर्कन ठूलो सहयोग पुग्ने बताउनुहुन्छ ।

डेङ्गु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्यूपा हुर्काउँछ ।

डेङ्गु मात्रै होइन, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरियालगायत रोग लामखुट्टेबाटै सर्छ । डा अधिकारी भन्नुहुन्छ, “यो समयमा लामखुट्टेबाट बच्नु भनेको धेरै रोगबाट बच्नु हो ।”

लामखुट्टेबाट सर्ने रोगबाहेक अन्य सरुवा रोग, भाइरल इन्फ्लुएन्जा, स्क्रब टाइफस र लेप्टो स्पाइराको पनि यही बेलामा बढी संक्रमण हुने डा अधिकारी बताउनुहुन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी एडिस एजेप्टाई नामको लामखुट्टेको विकास हुने मौसम अहिले भएको बताउनुहुन्छ ।

डेङ्गुको संक्रमणप्रति सचेत हुन सर्वसाधारणलाई आग्रह पनि गर्नुहुन्छ । हरेक साउनदेखि कात्तिकसम्म डेङ्गु रोग लाग्ने खतरा हुन्छ ।

त्यसैले, जिल्लाका विभिन्न स्थानीय तहसँग मिलेर लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गरिएको उहाँ बताउनुहुन्छ ।

कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा दीपेन्द्र खतिवडा गर्मी र पानीसँगै लामखुट्टेको प्रजननमा वृद्धि हुने भएकाले मलेरिया, डेङ्गुलगायत अन्य रोगको संक्रमण हुने भन्दै लामखुट्टे हुर्कने अवस्था नदिन आग्रह गर्नुहुन्छ ।

घर वरपर सरसफाइ गर्ने, झाडी हुन नदिने र पानी जम्न नदिनेलगायत उपाय अपनाउनुपर्ने उहाँको भनाइ छ । अहिलेको गर्मी मौसममा खानेकुरा, पानी र हावामा बढी संक्रमण हुन्छ ।

यो बेला झाडापखाला, रुघाखोकी, ज्वरो, टाइफाइड, स्क्रब टाइफस, डेङ्गु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस र चिकनगुनियाको संक्रमण हुनसक्ने चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल बताउनुहुन्छ ।

गर्मीमा सरुवा रोग नै बढी हुने उहाँको भनाइ छ ।

गर्मीले खानामा छिटो संक्रमण हुने हुँदा फुड पोइजन हुने खतरा बढी हुन्छ ।

वातावरण प्रदूषणले विभिन्न सरुवा रोग निम्तिने डा लम्सालको भनाइ छ ।

यस्तै, टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने संक्रमण देखिन्छ भने कीरा, फट्याङ्ग्रा, उडुस, उपियाँलगायतले टोक्ने र विभिन्न छालाको एलर्जी र कीटजन्य रोग यो बेला देखिन्छ ।

बालबालिकामा संक्रमण धेरै हुने भएकाले उनीहरुको स्वास्थ्यमा बढी ख्याल गर्नुपर्छ ।

मुख्यतयाः स्वयं व्यक्तिले विशेष सावधानी अपनाउने हो भने धेरै रोगहरु नलाग्ने चिकित्सकको भनाइ छ ।

ज्वरो आए, कुनै संक्रमण भए चिकित्सकको सल्लाहमा औषधि लिनसमेत स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

पानी उमालेर खानुपर्ने, सफा र ताजा खानेकुरा खानुपर्ने, घर वरपर सरसफाइ गर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नुपर्ने र बाहिर हिँड्दा पूरा ढाकेको कपडा लगाउनुपर्ने, खेतबारीमा काम गर्दा पनि लामो बाउला भएको लुगा लगाएर काम गर्नुपर्ने, राम्ररी सरसफाइमा बस्नुपर्ने र हात धोएर खानुपर्ने चिकित्सकको सुझाव छ ।

वर्षाको समयमा पानीमा ढल मिसिने सम्भावना बढ्छ ।

पानी दूषित हुने र वातावरणसमेत प्रदूषित भएर हैजा, झाडापखाला, हेपाटाइटिस ए, एलर्जीलगायतका संक्रमण हुन सक्ने कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा दीपेन्द्र खतिवडा बताउनुहुन्छ ।

चितवनको हकमा भन्नुपर्दा सर्पसमेत बस्तीमा आउने तथा वन्यजन्तुसमेत बाहिर निस्किने भएकाले पनि यसतर्फ सचेतता अपनाउन उहाँ सुझाउनुहुन्छ । रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles