37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

नगदेबालीमा जुटे किसान

चरिकोट, असार ३१ गते ।

केही महिनाअघिसम्म फुस्रो रहेको दोलखाको साविक डाँडाखर्क गाउँ विकास समिति सिँचाइपछि अहिले हरियो हुन थालेको छ ।

आकाशे पानीको भरमा धान, गहुँ र मकै मात्र उत्पादन हुने यो गाउँका कृषकहरू अहिले नगदेबाली उत्पादनमा लागेका छन् ।
सैलुङफेदी सिँचाइ आयोजना निर्माण समिति अध्यक्ष चेतबहादुर विक अहिले बारीमा तरकारी खेती गर्ने तयारीमा लाग्नु भएको छ ।

उहाँ भन्नुहुन्छ, बारी छेउमै सिँचाइ आयोजना आएपछि अहिले आफ्नो बारीमा काउली, बन्दा, आलु, मोटरकोसा, प्याज, लसुन र खुर्सानी खेती सुरु गरेको छु ।

सिँचाइले स्वादिला, रसलिो र हरियो परियो खान दिएको मात्र होइन आयआर्जनको बाटोसमेत दिएको छ ।

वर्षात्को पानीको भरमा खेती गर्दै आएका यहाँका किसान अहिले नगदेबालीमा समेत आकर्षित हुन थालेका छन् ।
यस्तै समितिकै सचिव दानबहादुर तमाङ पनि सिँचाइ आयोजना निर्माणले कृषकलाई ठूलो राहत मिलेको बताउँदै भन्नुहुन्छ, पानी नहँुदा गहुँ बाली र धानबालीमा समेत समस्या हुने गरेको थियो ।

अहिले यो सिँचाइ योजनाले आफूहरू जस्ता धेरै किसान खुसी भएका छन् ।

सिँचाइ योजनासँगै यस वर्षबाट यहाँ धान, गहुँ उत्पादनमा वृद्धि हुने विश्वास पलाएको छ ।
सिँचाइ विकास डिभिजन चरिकोटका प्रमुख कृष्णप्रसाद रिजालका अनुसार सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटबाट सञ्चालित सैलुङफेदी सिँचाइ आयोजना निर्माण कार्य सम्पन्न भएसँगै यहाँका सात सय घर धुरीका पाँच हजार १३५ जना लाभान्वित भएका छन् ।

यो आयोजना निर्माण भएपछि यस क्षेत्रका कृषकको समाजमा मेलमिलापको वातावरण सिर्जना हुनगई जीवनस्तरमा समेत आमूल परिवर्तन आउन थालेको छ ।
मझौला सिँचाइ कार्यक्रमबाट निर्मित सो आयोजनाबाट २१० हेक्टर जमिनमा सिँचाइ भएको छ ।

आयोजनाले साविकको डाँडाखर्क गाविस १, २, ३, ४, ७, ८ र ९ वडालाई समेटेको छ ।

२०७१ सालबाट सुरु भई अहिले सम्पन्न भएको आयोजनाको अनुमानित कुल लागत तीन करोड ७३ लाख ७९ हजार सात सय रुपियाँ रहेको छ । त्यसमध्ये दुई करोड २० लाख ५३ हजार सय रुपियाँको ठेक्कामार्फत काम भएको छ ।

१० लाख ६८ हजार ७४९ रुपियाँ बराबरको जनसहभागितामा काम भएको छ ।

आयोजनाको कुल लम्बाइ ९.२५ मिटर छ । यस्तै सात सय मिटर पक्की कुलो निर्माण भएको छ ।

सात हजार ८५० मिटर पाइप गाडिएको छ । मङ्सिरे खोला र कल्छे खोलाबाट पानी ल्याइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles