29.4 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

डा. केसीको स्वास्थ्य गम्भीर

काठमाडौं, असार २६ गते ।

 रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्।
डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले सोमबार जनाएका छन्।

सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ।
वीर अस्पतालका मुटु विभाग प्रमुख प्राध्यापक डा. प्रकाशराज रेग्मीका अनुसार डा. केसीको स्वास्थ्य अवस्था जटिल हुँदै जाँदा हृदयगति बन्द हुने पहिलो खतरा रहन्छ।
उनले भने, ‘रगतमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम यी सबै चिजको कमी हुँदै गएपछि पहिला ढुकढुकीमा गडबडी आउँछ। ढुकढुकीमा आउने गडबडीले हृदय गति अन्ततः बन्द गराउँछ। सबैभन्दा ठूलो खतरा कुनै पनि समय हृदय गति बन्द हुन सक्छ।’
रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ।

‘मस्तिष्क घातको असर मुटुमा पनि देखा पर्न सक्छ। आकस्मिक मृत्युको एउटा कारणमा मस्तिष्क घात पनि हो’, उनले भने। सेता रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ। निमोनियाका कारण पनि मृत्युको खतरा रहन्छ’, डा. रेग्मीले भने। अहिले उनको छातीको बीच भागमा दुखाइ रहेको बताइएको छ।
उपचारमा डा. केसीको तर्फबाट सहयोग नभएका कारण उपचार गर्न कठिनाइ भएको एक चिकित्सकले बताएका छन्।

डा. केसीलाई जुनसुकै बेला पनि आईसीयूको आवश्यकता पर्न सक्ने भएपनि प्रतिष्ठानमा सो उपलब्ध नहुँदा समस्या पर्ने देखिएको छ।
डा. केसीको स्वास्थ्य जाँच गरी फर्किएका नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डिराज पौडेलले स्वास्थ्यमा जटिलता आउँदा उनको उपचारमा समस्या पर्ने बताए। उनले भने, ‘सरकार अभिभावक हो।

उनको माग सम्बोधन गर्न र तत्कालै उद्धार गर्न आवश्यक छ।’
काठमाडौं लैजान सुझाव
डा. केसीलाई एअरलिफ्टबाट काठमाडौं लैजान चिकित्सकहरूले सुझाव दिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनदेखि अनशनरत डा. केसीलाई काठमाडौं लैजानुको विकल्प नभएको चिकित्सकहरूले बताएका हुन्।
डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएपछि उनको उपचार जुम्लामा सम्भव नभएको भन्दै उनलाई जतिसक्दो छिटो काठमाडौंको सुविधासम्पन्न अस्पतालमा एअरलिफ्ट गर्न चिकित्सकहरूले सल्लाह दिएका हुन्।

डा. केसीका लागि जुनसुकै समयमा पनि आईसीयू आवश्यक पर्ने उनीहरूको सुझाव छ।
डा. केसीको उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकहरूले सोमबार केसीको स्वास्थ्य अवस्थाबारे पत्र जारी गर्दै संक्रमणबाट बचाउन विशेष कक्षमा राखेर उपचार भइरहेको उल्लेख गरेका छन्।
उपचारमा डा. केसीले चिकित्सकहरूको सल्लाहभन्दा पनि आफैले निर्णय गर्ने गरेकाले कठिनाइ भएको चिकित्सक प्रवीणकुमार गिरीले बताए।
‘डा. केसी आफै यो औषधि लिन्छु, यो लिन्न भन्ने निर्णय गर्नुहुन्छ’ उनले भने, ‘यसले गर्दा एकातर्फ उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ, भने अर्कोतर्फ हामीलाई उपचार गर्न पनि कठिनाइ भएको छ।’
‘म कर्णालीमै मर्न तयार छु’
डा. केसी भने चिकित्सा शिक्षा ऐन तत्काल यथारूपमा जारी नभएसम्म कर्णालीमै मर्न तयार हुने तर अनशन तोडेर बाहिर नजाने अडान लिएका छन्।
‘कर्णालीका नागरिक पनि मजस्तै मान्छे हुन्, यहाँका मान्छे यही अस्पतालका भरमा छन्’, उनले भने, ‘मेरो उपचारका लागि मैले यो अस्पातलको विश्वास किन नगर्ने ? बरु यहाँ नभएका उपकरण र आवश्यक जनशक्ति सरकारले व्यवस्था गरोस्।’
सरकारले थामथुम पार्दैमा अनशन नरोक्ने उनले अडान लिए। ‘अब सबै माग एकैपटक सम्बोधन भएमात्रै यो अनशन रोकिन्छ, तीन करोड नेपालीको स्वास्थ्यमा सरकारले खेलवाड गर्न मिल्दैन।’

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles