27 C
Mahendranagar
Wednesday, April 17, 2024
spot_img

अपराध नियन्त्रण भए सुशासन र समृद्धि हुने– गृहमन्त्री थापा

काठमाडौँ, असार २२ गते ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम प्रदेश सम्मेलन’ शुभारम्भ गर्दै उहाँले अपराध नियन्त्रण गर्न सके विकास र समृद्धिको लक्ष्य पूरा हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “न्याय प्रशासनलाई विश्वासिलो बनाउन वस्तुगत प्रमाणमा आधारित अनुसन्धान आवश्यक छ ।” निर्दोषलाई उन्मुक्ति दिन नसकेसम्म जनता र राष्ट्रको विश्वास जित्न नसकिने भन्दै गृहमन्त्री थापाले वस्तुगत प्रमाण जुटाएर अनुसन्धान गर्न प्रहरी तथा सरकारी वकिलको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रको अखण्डता र स्वतन्त्रताको रक्षा गरी जनताको अधिकार रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सुरक्षा नीति न्यायप्रणालीसँग जोडिएको विषय भएको र यसलाई समायनुकूल बनाउन सरकार लागेको स्पष्ट पार्दै गृहमन्त्री थापाले भन्नुभयो, “सुरक्षा नीतिमा गम्भीर त्रुटी छन्, त्यसलाई सच्याएर सरकार अगाडि बढ्न चाहन्छ। ”

पूर्व प्रधान न्यायधीश कल्याण श्रेष्ठले कानूनी राज्य शिथिल भएमा अहिलेसम्मका राजनीतिक उपलब्धि गुम्ने भन्दै विकासलाई संस्थागत गर्न सरकार दह्रो भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“संविधानअनुसार बनेका देवानी र फौजदारी कानून महत्वपूर्ण छ, यसको कार्यान्वयनका लागि सबै लाग्नुपर्छ,”–उहाँले भन्नुभयो ।

मुलुकमा अझै २८ हजार मुद्दा फछ्यौट गर्न बाँकी रहेको भन्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जोड दिनुभयो, “न्याय दिने कुरामा राज्यले अलमल गर्न नहुने र यसका लागि आवश्यक स्रोत र साधन राज्यले दिनुपर्छ, कार्यान्वयन गर्ने एकाइले पनि आफ्नो काम समयमै पूरा गर्नुपर्छ,” ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकास र सुरक्षालाई प्रहरीले सँगसँगै लैजान खोजेको भन्दै सुरक्षाका लागि चाहिने आवश्यक स्रोत र साधनप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । बयानमुखी हैन, प्रमाणमुखी अनुसन्धान आवश्यक रहेको उहाँको भनाइ थियो ।

“न्यायलयमाथि खेलाँची र अपराधीसंग साठगाठ गर्ने काम प्रहरीले गर्ने छैन,”–महानिरीक्षक खनालले भन्नुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता (ऐन)को कार्यान्वयन, योजना बमोजिम अपराध अनुसन्धान अभियोजन र नियन्त्रण सम्बन्धी कानूनी व्यवस्था लागू गर्नेलगायतका विषयमा छलफल हुने अपराध अनुसन्धान विभागका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक धीरु बस्नेतले जानकारी दिनुभयो ।

सम्मेलनमा प्रदेश नं ३ का मुद्दा चल्ने कार्यालयमा कार्यरत मुद्दा शाखाका प्रहरी कर्मचारी, सरकारी वकिल तथा चिकित्सकको सहभागिता छ । प्रहरी प्रधान कार्यालयले अरु प्रदेशमा भने यसअघि नै यस्तो सम्मेलन सञ्चालन गरिसकेको जनाएको छ । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles