बाढीपहिरो र डुवानमा परेर देशभरीमा २२ जनाको मृत्यु

द्वारा : सुदुर न्युज

काठमाडौँ, असार २० ।

बाढी, पहिरो र डुबानमा परेर सोमबार र मङ्गलबार गरी मुलुकका विभिन्न स्थानमा २२ जनाको मृत्यु भएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले मङ्गलबार साँझसम्म नौ जना घाइते तथा दुई जना बेपत्ता भएको जानकारी समेत दिएको छ ।

केन्द्रले बाँकेमा चार जना, रोल्पामा तीन जना, सिन्धुली, सर्लाही, पर्सा र तनुहँमा दुई÷दुई जना, कैलाली, चितवन, महोत्तरी, काठमाडौं, उदयपुर, सिरहा र दाङमा एक÷एक जनाको मृत्यु भएको जानकारी दिएको छ ।
केन्द्रमा कार्यरत गोवद्र्धन कार्कीले सर्लाही र तनहुँमा एक÷एक जना वेपत्ता भएको, तनहुँमा तीन जना, पर्सा र मकवानपुरमा दुई÷दुई जना, कैलाली र उदयपुरमा एक÷एक जना घाइते भएको जानकारी दिनुभयो ।

मनसुन कमजोर बन्दै

केही दिनदेखि पश्चिम नेपालमा सक्रिय मनसुन कमजोर बन्दै जाने अनुमान गरिएको छ । पश्चिम तराईको भूभागमा केही दिनदेखि सक्रिय मनसुन बुधबारदेखि कमजोर बन्दै जाने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिम नेपालमा मनसुन कमजोर हुने देखिए पनि मध्य तराई, पूर्वी नेपालमा भने अझै केही दिन सक्रिय नै रहने जानकारी दिनुभयो । उहाँले ती क्षेत्रमध्ये केही स्थानमा भारी वर्षा हुने जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, यो वर्ष मनसुन जून ८ मा नेपालको पूर्वी भागबाट प्रवेश गरी जून २७ देखि मुलुकभरि सक्रिय भएको हो । हरेक वर्ष १० जूनमा नेपालको पूर्वी भूभागमा र १२ जूनमा काठमाडौँमा मनसुन सुरु हुने गर्छ ।

सतर्क रहन आग्रह

यसैबीच, जल तथा मौसम विज्ञान विभाग, वाढी पूर्वानुमान शाखाले मुलुकको मध्य र पूर्वी भूभागमा सतर्क रहन आग्रह गरेको छ । शाखाका हाइड्रोलोजिष्ट विनोद पराजुलीले मुलुकको मध्य र पूर्वी भूभागका नागरिकलाई सतर्क रहन आग्रह गर्नुभयो ।

मुलुकको मध्य तथा पूर्वी भूभागमा हल्कादेखि मध्य खालको वर्षा हुने जानकारी गराउँदै उहाँले नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्य सतर्कताका साथ गर्न आमनागरिकसँग अनुरोध समेत गर्नुभयो ।

वाढी पूर्वानुमाान शाखाले मङ्गलबार बिहानै बुलेटिन जारी गर्दै झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, इलम, ताप्लेजुङ, धनकुटा, ओखलढुङ्गा, दोलखा, सोलुखुम्बुलगायतका जिल्लाबाट प्रवाह हुने खोलामा उल्लेख्य बहाव हुने जानकारी दिएको थियो ।

पश्चिमी भूभागका नदीमा सतर्कता तह पार हुने सम्भावना न्यून रहेको जानकारी बुलेटिनमा गराइएको थियो ।

उच्च हिमाली, पहाडी र तराईका जिल्लाहरूमा कुनै पनि बेला नदीमा पानीको बहाव खतरा तहभन्दा माथि पुग्नेसक्ने भन्दै सतर्क रहन शाखाले अपिल गरेको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com