30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

झोलुङ्गे पुल बनेपछि एकदिनको बाटो एक घण्टामा

म्याग्दी, असार १४ ।

म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ । जम्मा १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश र बगर गाउँका बासिन्दाले आवतजावत गर्न पूरै दिनको घुमाउरो बाटो पैदल हिँड्नुपर्ने, जोखिम मोलेर तुइन र साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएका हुन् ।

२०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशका बासिन्दाले तुइनबाट खाद्यान्न, नूनतेल तारेर उपभोग गर्दै आएका थिए ।

आवतजावतका लागि भुमरबोट भन्ने ठाउँमा पुगेर घुमाउरो बाटो हिँड्नुपर्ने समस्या थियो । सिम्कोशकी ज्योति थापाले पुल बनेपछि पूरै दिन हिँड्नुपर्ने घुमाउरो बाटो एक घण्टामा छोटिएको बताउनुभयो ।

गत वर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याएका छन् । रु ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले बताउनुभयो ।

गाउँपालीकाको रु पाँच लाख ५३ हजार, झोलुङ्गे पुल सहयोग एकाइ ९टिबीएसयु० को रु तीन लाख ७४ हजार बराबरको लट्ठा र बुल्डअफ ग्रिप, सरकारको रु ३४ लाख ८२ हजार अनुदान र समुदायको रु ९२ हजार बराबरको श्रमदानमा पुल निर्माण भएको सचिव डिलबहादुर पुनले जानकारी दिनुभयो ।

२०७४ फागुन ८ गतेदेखि शुरु भएको पुल निर्माण कार्य २०७५ जेठ अन्तिम साता सम्पन्न भएको थियो । स्थानीयवासीले ५० दिनका दरले श्रमदान गरेका थिए । पुलको मंगलबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

भौगोलिकरुपमा विकट सिम्कोस बगरका बासिन्दा र धौलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको आवतजावतमा सहज बनाएको यो पुलबाट समुदायले खेर गइरहेको जमीनमा जडीबुटी खेती गरेर आयआर्जन गर्न सक्ने सम्भावना पनि भएको अध्यक्ष पुनले बताउनुभयो ।

टिबिएसयुका प्र्राविधिक अधिकृत श्रीधर भण्डारीले यो पुल स्थानीय तहले बनाएको सम्भवत नेपालकै पहिलो भएको बताउनुभयो । धौलागिरि गाउँपालिकाले पुल बनाएर स्थानीय तह पनि पुल निर्माणमा सक्षम भएको सन्देश प्रवाह गराउन सफल भएको बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा यस वर्ष ११ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

कुल ३६५।६ मिटर लामो बेगखोला, धौलागिरि गाउँपालिकाको धनमानेमा ५६ मिटर, छहरी खोलामा ३२ मिटर, मालिका नूनथलामा ४५।७५ मिटर, टाक्सेमा ६४ मिटर, दाङखोलामा ६७ मिटर, दोबिल्नामा ७५ मिटर, मंगलाको आरुखोलामा ६६ मिटर, रघुगंगाको ¥यासीखर्कमा ६० मिटर र अन्नपूर्णको मनोघाटमा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

-रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles