39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

‘सुनबहादुरलाई अदालतको शङ्काको सुविधा’

काठमाडौँ, वैशाख ८ गते ।

सर्वोच्च अदालतले जीउ मास्ने बेच्ने अभियोगमा दोषी ठहर भएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न बिहीबार आदेश दियो । तर, अदालतको आदेशअनुसार तामाङ रिहा भएसँगै पुनः पक्राउ भएका छन् । मानव बेचबिखनको फरकफरक मुद्दामा नुवाकोट जिल्ला अदालतले चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजाय सुनाएको थियो ।

बिहीबार भने सर्वोच्चले तामाङलाई २०६८ को फैसला कार्यान्वयनका क्रममा गरिएको थुनाबाट मुक्त गर्न आदेश दिएको थियो । जीउ मास्ने बेच्ने मुद्दामा उनलाई २०६८ मा नुवाकोट जिल्ला अदालतले ६ वर्ष कैद सजाय सुनाएको थियो ।

मानव बेचबिखनको मुद्दा अनुसन्धानका क्रममा पुरानो मुद्दाको लगत फेला परेपछि काठमाडौँ जिल्ला अदालत तहसिल शाखाको अभिलेखअनुसार तामाङलाई केन्द्रीय कारागार पठाइएको थियो । उक्त पत्राचारपछि उनका छोराले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । रिटमा सुनुवाइ गर्दै रिहाइको आदेश भएको हो ।

बिहीबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले कैद सजाय भएका व्यक्ति सुनबहादुर नै हुन् वा होइनन् भन्ने यकिन नभएकाले रिहा गर्न आदेश दिएको हो । व्यक्ति यकिन नभएको अवस्थामा शङ्काकै आधारमा थुनामा राख्न उपयुक्त नहुने भन्दै अदालतले रिहा गर्न आदेश दिएको हो ।

सुनबहादुर हुन / होइनन्

जीउ मास्ने बेच्ने गतिविधिमा संलग्न सुनबहादुर र पक्राउ परेका जनप्रतिनिधि सुनबहादुर यकिन हुन् वा होइनन् भन्ने अदालतको जिज्ञासा छ।

अदालतले यसअघिको मुद्दाको मिसिलमा संलग्न उनको स्थायी ठेगाना र बाबुको नाम तथा हाल अनुसन्धानपछि संलग्न मिसिलमा भएको स्थायी ठेगाना फरक भएको भन्दै रिहाको आदेश दिएको हो ।

जीउ मास्ने बेच्ने मुद्दामा भने नुवाकोट जिल्ला अदालतले २०६८ पुस ६ गते तामाङलाई ६ वर्ष कैद हुने सजाय सुनाएको थियो । सो फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँले २०७४ माघ ८ गते लगत तयार पारी कैदमा पठाएको थियो ।

तामाङलाई रिहा गर्नेसम्बन्धी सर्वोच्चको आदेशमा भनिएको छ, “मिति २०६८/०६/२६ को फैसलाबाट कैद सजाय भएका व्यक्ति यिनै हुन् भनी यकिन नभएको, केवल अनुमानका आधारमा कैद राख्न मनासिब नदेखिँदा निवेदकलाई कैदमा राख्ने गरी काठमाडौँ जिल्ला अदालतबाट मिति २०७४/१०/८ मा कैद ठेकी पठाएको पत्र कानुनविपरीत देखिएकाले बदर भएको छ ।

प्रस्तुत आदेशको पूर्ण पाठ तयार गर्न समय लाग्ने हुँदा अन्य मुद्दाबाट थुना वा कैदमा राख्न नपर्ने भए उक्त पुर्जीबमोजिम कैदबाट निज निवेदक सुनबहादुर तामाङलाई मुक्त गरिदिनु भनी निज थुनामा रहेको कारागार कार्यालय जगन्नाथ देवल, काठमाडौँमा छिटो माध्यमद्वारा जानकारी पठाइदिनु । ’

अदालतले रिहा गर्न आदेश दिए पनि निर्वाचित जनप्रतिनिधि तामाङलाई चेलीबेटी बेचबिखनसम्बन्धी अर्को मुद्दामा केही समयअघि नुवाकोट जिल्ला अदालतले ३७ वर्षको कैद सजाय सुनाएको थियो । सोही आदेशअनुसार प्रहरीले पक्राउ गरेको हो ।

एकभन्दा बढी मुद्दामा उनलाई ३७ वर्ष कैद र दुई लाख ५० हजार रुपियाँ जरिवानाको आदेश भएको थियो । प्रहरीले उनलाई पुस ७ गते पक्राउ गरी मानव बेचबिखन मुद्दा चलाएको थियो । तामाङ नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles