26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

यही महिनाभित्र पार्टी एकता हुने

काठमाडौँ, वैशाख ८ गते ।

वैशाख महिनाभित्र दुई वाम दलको पार्टी एकता घोषणा गर्ने गरी दुईवटा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर दुवै दलका अध्यक्षबीच शुक्रबार पनि सघन र सकारात्मक वार्ता भएको छ ।

ललितपुरको जावलाखेलस्थित एक कार्यकर्ताको निवासमा भएको करिब दुई घन्टा लामो छलफल र संवादमा कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति नभएका विषयमा केन्द्रित भएर छलफल भएको नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।

कार्यदलले बुझाएको प्रतिवेदनमा माओवादी केन्द्रले ‘जनयुद्ध’ शब्दलाई विधानको प्रस्तावनामा राख्नुपर्ने भनेको छ । त्यस्तै एमालेले राखेको प्रस्तावअनुसार दलको चुनाव चिह्न सूर्यको विषयमा केन्द्रको सहमति खोजिरहेको छ ।

सोहीअनुसार कार्यदलले प्रस्ताव गरेको १० वटा पार्टी कमिटीमा बराबर सङ्ख्याको हैसियत माओवादी केन्द्रले खोजेको छ । त्यस विषयलाई एमालेले स्वीकार गरेको छैन । प्रमुख यी तीन विषयलाई मिलाउने जिम्मा कार्यदलले दुई अध्यक्षलाई दिएको छ ।

सोहीअनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नियमित हुँदै आएको संवादले शुक्रबार पनि निरन्तरता पायो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले दुई अध्यक्षबीच निरन्तर बैठक र संवाद भइरहेको र बैठक सकारात्मक रूपले अगाडि बढिरहेको बताउनुभयो । वैशाखभित्र नयाँ पार्टी घोषणा गर्ने उद्देश्यसाथ दुई अध्यक्षबीच सघन र सकारात्मक वार्ता भइरहेको सल्लाहकार अर्यालले जानकारी गराउनुभयो ।

त्यस्तै अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले शुक्रबार भएको वार्ता बिहीबारकै निरन्तरता भएको बताउनुभयो । शनिबार पुनः बस्ने गरी बैठक स्थगित भएको भए पनि विवादित विषयमा दुई अध्यक्षबीच सकारात्मक संवाद भएको उहाँले जानकारी दिनुभयो । “पार्टी एकता गर्दा नेताहरूको व्यवस्थापन र पार्टीको संरचनालाई चुस्त बनाउने विषयमा केन्द्रित भएर दुई अध्यक्षबीच छलफल भएको छ”, सापकोटाले भन्नुभयो ।
त्यही विवादित विषयलाई सुल्झाउने गरी बिहीबार करिब तीन घन्टा लामो छलफल बालुवाटारमा भएको थियो ।

तर, शुक्रबारको वार्ता जावलाखेलस्थित एक कार्यकर्र्ताको घरमा भएको सल्लाहकार सापकोटाले बताउनुभयो । उहाँले वैशाखभित्र कुनै पनि हालतमा पार्टी एकता घोषणा गर्ने तयारीमा रहनुभएका दुवै अध्यक्ष त्यसैलाई दृष्टिगत गर्दै वार्ता र संवादमा जुट्नुभएको बताउनुभयो ।

दुवै दलका नेता सम्मिलित दुईवटा कार्यदलले चैत २१ गते नै प्रतिवेदन बुझाएका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल संयोजकत्वको कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदनमा खासै समस्या नभए पनि नेता रामबहादुर थापा बादल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनले विवादित विषय थाती राखेर प्रतिवेदन बुझाएको थियो ।

कार्यदलको प्रतिवेदनअनुसार वैशाख ९ (अप्रिल २२) मा कम्युनिस्ट पार्टी गठन भएको दिनलाई पार्टी एकताको उपयुक्त तिथि सिफारिस गरेको थियो । त्यसअनुसार कार्यदलले काम गरेको थियो तर विवादित विषयमा सहमति बन्न नसकेपछि पुनः अर्को मितिको खोजी भएको छ । वैशाख मसान्तभित्र पार्टी एकता गर्ने भनिएअनुसार वैशाख २२ गते कार्ल माक्र्स जन्मेको दिनमा अब पार्टी एकता घोषणा गर्ने सम्भावित उपयुक्त दिनकारूपमा व्याख्या हुन थालेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles