22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

उत्खनन् बन्द गर्न प्रजिअलाई मन्त्री जमरकट्टेलको निर्देशन

चरिकोट, चैत १३ गते ।

दोलखामा अवैध रुपमा भइरहेको बालुवा, गिटी, रोडाढुंगालगायत प्राकृतिक स्रोत साधनको उत्खनन् तथा मापदण्ड विपरितका क्रसर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक स्रोत साधनको अवैध रुपमा भइरहेको दोहनको तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको हो ।

जिल्लामा बालुवा, गिटी, रोडाढुंगा र अन्य प्राकृतिक सम्पदाको मनोमानी ढंगले उत्खनन् भइरहेको विषयलाई लिएर प्रदेशको गृह मन्त्रालय समेतको जिम्मेवारीमा रहेका आन्तरिक मामिला मन्त्री जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी थापालाई आइतबार टेलिफोन गरेर निर्देशन दिनुभएको हो । उहाँले नियम विपरित सञ्चालित क्रसर उद्योग तथा बालुवा उत्खनन् बन्द गर्न निर्देशन दिनुभएको छ ।

जिल्लामा केही व्यापारी, राजनीतिक दलका नेता, जनप्रतिनिधि र प्रहरी प्रशासन समेतको मिलेमतोमा अवैध क्रसर सञ्चालन तथा बालुवा, गिटी र रोडाढंगाको मनपरी उत्खनन् तथा मनोमानी मूल्यमा बिक्री भइरहेको गुनासो आएको भन्दै मन्त्री जमरकट्टेलले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री जमरकट्टेलले नियम विपरित सञ्चालित क्रसर उद्योग तथा बालुवा उत्खनन् बन्द गर्न निर्देशन दिनुभएको छ । उहाँले मापदण्ड पूरा गरेकालाई पनि व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिनुभएको छ । बालुवा उत्खनन्को विषयलाई लिएर तामाकोशी गाउँपालिकास्थित भिरकोटको माझी वस्तीमा स्थानीय माझी समुदाय र प्रहरीबीच झडप भएको थियो ।

उहाँले चालु आवको असार मसान्तसम्म विद्यमान नियमानुसार नियमन गर्न र साउनबाट स्थानीय सरकार तथा प्रदेश सरकारले बनाउने ऐन र मापदण्डअनुसार क्रसर उद्योग तथा खानी सञ्चालन र व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभयो ।

भूकम्पपछि पुनःनिर्माणको बहानामा जिल्लामा तामाकोशीबाट जथाभावी उत्खनन् गर्नुका साथै मापदण्ड विपरित क्रसर सञ्चालन गरिँदैआएको छ । प्रमुख जिल्ला अधिकारी थापाले मन्त्री जमरकट्टेलले उक्त कार्य रोक्न निर्देशन दिनुभएको बताउनुभयो । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles