राजधानीमा अवैध क्यासिनोको धन्दा फष्टायो

द्वारा : सुदुर न्युज

काठमाडौंँ, चैत १२ गते ।

पाँच तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपछि काठमाडौं भित्र मिनिक्यासिनोका अवैध धन्दा फष्टाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख समेत रहनुभएका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले विशेष गरी तस्करी (अबैध) क्रियाकलापमा संलग्न ब्यक्तिहरु जुवा खेल्न सक्रिय रहेको बताउनुभयो ।

उहाँले पछिल्लो एक महिनामा राजधानीका ३० वटा अवैध जुवाघरबाट दुई सय जना जुवाडे पक्राउ परेको जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले करीव २५ लाख रुपियाँ नगद बरामद गरेको छ ।

घर तथा कोठा भाडामा लिएर, होटल, रेष्टुराँ र रिसोर्ट बुकिङ गरी पेशेवररुपमा जुवा खेल्नेको सङ्ख्या बढेको छ, परिसर प्रमुख पोखरेलले भन्नुभयो, ‘पक्राउ परेकामध्ये कुनै ब्यक्तिले मनोरञ्जनका लागि जुवा खेलेको दावी गरेका छैन्न ।’

प्रहरीले छापा मारेका अधिकांश जुवाखालबाट प्रहरीले लाख रुपियाँभन्दा बढी नगद बरामद गरेको छ । काठमाडौंका कतिपय टोल, गल्ली, होटल, रेष्टुराँ र रिसोर्टमा जुवा खेलाउने गरेको सूचना आइरहेका छन्, उहाँले भन्नुभयो ।

प्रहरीले सबै अबैध जुवा अखडामा छापा मारेर कानुनको दायरामा ल्याउने चेतावनी समेत उहाँले दिनुभयो । सामाजिक विकृति विरुद्ध यो हाम्रो अभियान नै हो, उहाँले भन्नुभयो ।

राजधानीको चन्द्रागिरी नगरपालिका–८ मातातिर्थस्थित तुलाराज पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा ४२ बर्षीय शुक्रबहादुर सुनुवार लगायत आठजनालाई प्रहरीले शनिबार एक लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

त्यसैगरी स्वयम्भुबाट स्थानीय अर्जुन थापाको डेरा कोठामा जुवातास खेलिरहेका नागार्जुन नगरपालिका–६ बस्ने ४१ बर्षीय राम लामा सहित पाँचजनालाई एक लाख २९ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।
त्यसैगरी कलंकीस्थित न्यू लक्ष्मी गेष्ट हाउसमा कोठा नै भाडामा लिइ तास खेलिरहेको अवस्थामा ३५ बर्षीय छिरिङ्ग गुरुङ्गसहित पाँचजनालाई २५ हजार नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

बल्खुस्थित कुमारी क्लब नजिकै झाडीले छोपिएको खाली चौरमा जुवा खेलिरहेका धादिङ्ग पालुङ्गे घर भई हाल काठमाडौँ स्युचाटार बस्ने २० बर्षीय सुरेश थापा मगर लगायत छ जनालाई पनि प्रहरीले शनिवार १० हजार नगदसहित पक्राउ गरेको छ ।

त्यसअघि महानगरीय प्रहरी वृत्त बालाजुले बालाजुचोकबाट १० जनालाई र सोह्रखुट्टे वृत्तले नयाँबजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट १२ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको थियो । जुवाघरबाट सुरक्षा निकायमा उच्च अधिकारी, कर्मचारी र ठेकेदार पनि पक्राउ पर्ने गरेका छन् ।

युवती र मदिरापान पनि

घर तथा फ्ल्याट भाडामा लिइ सञ्चालन गरिएका जुवा घरमा मदिरासंँगै यौनधन्दा समेत हुने गरेको छ । सहयोगीको रुपमा राखिएका युवतीसँग जुवाडेले यौन शोषण गर्ने गरेको प्रहरीले दावी गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले धेरैजसो जुवा अखडाबाट युवती समेत पक्राउ परेको जानकारी दिनुभयो । विशेष गरी पेशेवर जुवा अखडामा खाना र सुत्ने व्यवस्थासहित मदिरा तथा युवती भेटिएको प्रहरीले दावी गरेको छ ।

जुवाघरबाट पक्राउ पर्ने युवतीले घटनाको वास्तविक नबताउँदा जुवाघर सञ्चालकलाई कारवाही गर्न समस्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जुवाघरमा सहयोगीका रुपमा युवतीलाई यौन धन्दामा प्रयोग गर्ने जुवाघरका सञ्चालकविरुद्ध मानव वेचविखन तथा देहब्यापारमा मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।

फितलो कानुन

मौजुदा जुवा सम्वन्धी ऐन फितलो रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका मुद्धा शाखा प्रमुख मोहनकुमार थापाले बताउनुभयो ।

विद्यमान कानुनअनुसार जुवा खेल्ने र खेलाउनेलाई तीन दिनसम्म थुन्न सक्ने र दुईसय रुपियाँ जरिवाना गर्ने ब्यवस्था छ ।

त्यस्तैं, जुवा खेल्न सघाउने वा हेर्नेलाई पनि दुई दिनसम्म थुन्ने र ५० देखि एकसय रुपियाँ जरिवानाको ब्यवस्था छ । जुवा सम्वन्धी कानुन नै फितलो भएका कारण राजधानीमा जुवा अखडा मौलाउदै गएको प्रहरीको दावी छ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com