महिलाले आरक्षण माग्ने होइन प्रतिस्पर्धा गर्नुपर्छ : प्रधानमन्त्री ओली

द्वारा : सुदुर न्युज

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्।

महिला उद्यमी महासंघद्वारा विहीबार ललितपुरको सानेपामा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आरक्षण होइन प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन्। ‘आरक्षण केही समयलाई हो। पछिलाई काम लाग्दैन’, उनले भने।

दशकअघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको स्मरण गर्दै ओलीले थपे– ‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नु भएको थियो। स्थानी तहदेखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ। यसलाई हामी छिट्टै ५० प्रतिशत पु-याउँदैछौं।’

महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिस्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। ‘घरेलु उद्यममार्फत महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सकिन्छ’, उनले भने– ‘महिला उद्यमीहरुले निर्यातजन्य वस्तुको उत्पादन गर्नसके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन।’

वर्तमान सरकारको गठन एउटा नियमित प्रक्रिया भन्दा फरक रहेको भन्दै उनले सरकारले देश निर्माण र जनताको हित बाहेक अरु कुनै कुरा नसोचेको स्पष्ट पारे।

कार्यक्रमको उद्घाटनपछि प्रधानमन्त्री ओलीले मेलामा प्रदर्शनीका लागि राखिएका घरेलु उत्पादनका सामग्रीहरुको निरीक्षण पनि गरेका थिए।

पाँच दिन चल्ने अन्तर्राष्ट्रिय मेलामा स्वदेशी, सार्क र युरोपेली मुलुकका ५० भन्दा बढी महिला उद्यमी सहभागी छन्।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com