37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

‘हेलो सरकार’मा गुनासो घट्यो

काठमाडौँ, २ चैत –

प्रत्यक्ष रूपमा आम नागरिकका गुनासा सुन्ने तथा यथासक्य छिटो हल गर्ने उद्देश्यसहित सात वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रम प्राथमिकतामा पर्न छाडेको छ । ‘हेलो सरकार’ कार्यक्रममा आमनागरिकले गर्ने गुनासा मात्र होइन, यस्ता गुनासामा सम्बन्धित निकायको सम्बोधनमा पनि कमी आएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको प्रत्यक्ष मातहतमा सञ्चालित यो कार्यक्रम करिब दुई वर्षदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार महाशाखाअन्तर्गत उपसचिव मातहत रहेको छ । २०६८ कात्तिक १७ बाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
‘हेलो सरकार’ कार्यक्रमका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले पहिलेको तुलनामा अहिले ‘हेलो सरकार’मा आम नागरिकको गुनासा तथा उजुरीको सङ्ख्यामा उल्लेखनीय रूपमा कमी आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिले यो कार्यक्रम दिनको तीन चरणमा गरी चौबीसै घण्टा सञ्चालनमा रहेको थियो भने अहिले दिनको दुई चरण गरी दिनको दस घण्टामात्र सञ्चालनमा रहेको छ । २०७२ सालमा आएको भूकम्पपछि तीन चरणबाट घटाएर दुई चरणमा सञ्चालनमा ल्याइएको हो । अहिले बिहान ७ बजेदखि दिउँसो २ बजेसम्म र २ बजेदेखि राति ९ बजेसम्म यो कार्यक्रम सञ्चालनमा छ ।
हेलो सरकार कार्यक्रमका शाखा अधिकृत रामचन्द्र कोइरालाले सुरुका वर्षमा यस कार्यक्रममा महिनाको करिब चार हजारसम्म गुनासा र उजुरी आउने गरेकोमा अहिले उल्लेखनीय रूपमा घटेको जानकारी दिनुभयो ।
सुरु सुरुमा यस कार्यक्रममा मुख्य सचिवदेखि प्रधानमन्त्री कार्यालयको सचिवसम्मको प्रत्यक्ष संलग्नता रहेको थियो । उहाँहरूबाट प्रत्यक्ष रूपमा आम नागरिकका गुनासा र उजुरीको तत्काल सम्बोधन हुने गर्दथ्यो तर हिजोआज त्यस्तो हुन नसक्दा गुनासा र उजुरीमा कमी आएको उहाँले बताउनुभयो ।
आम नागरिकको समस्या र गुनासोमा कमी आएको होइन भन्दै शाखा अधिकृत कोइरालाले एउटा सरकारले ल्याएको कार्यक्रम अर्को सरकारले प्राथमिकतामा नराख्दा र गुनासा सम्बोधन नहुँदा यस्तो भएको बताउनुभयो ।
हेलो सरकार कार्यक्रमका अर्का शाखा अधिकृत रूपक अर्यालले पहिला यस कार्यक्रममा दैनिक चालीसदेखि पचासवटासम्म गुनासा तथा उजुरी आउँथ्यो भने अहिले दस÷बाह्रवटामा सीमित भएको जानकारी दिनुभयो । विसं २०७४ मङ्सिर २८ गतेदेखि ‘हेलो सरकार’ कार्यक्रम ‘कल सेन्टर’मा परिणत भएको जानकरी दिँदै आजसम्म ‘कल सेन्टर’मा तीन हजार २२७ गुनासो र उजुरी परेको जानकारी दिनुभयो ।
यसअघि हेलो सरकार कार्यक्रममा स्थापना भएदेखि २०७४ मङ्सिर २८ गतेसम्म ६७ हजार ६१२ गुनासा उजुरी प्राप्त भएकोमा ५९ हजार ५५६ फछ्र्योट भएको जानकारी शाखा अधिकृत अर्यालले दिनुभयो ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारद्वारा २०६८ कात्तिक १७ बाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles