38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

‘श्रीमान्’ बीच विवाद, देशमा अन्योल को बाताबरण

काठमाडौँ, फागुन ३० ।

प्रधानन्यायाधीश गोपाल पराजुली र सर्वोच्चका वरिष्ठतम्सहित केही न्यायाधीशको आन्तरिक विवाद सतहमा आएको छ । एकपछि अर्को विवादमा परेको भन्दै प्रधानन्यायाधीश पराजुलीलाई बिदामा बस्न सुझाइरहनुभएका न्यायाधीशहरू मङ्गलबार इजलासमै बस्नुभएन ।

न्यायाधीश दुई समूहमा विभाजन भएपछि चारवटा इजलास प्रभावित भएका छन् । त्यसले गर्दा मुद्दाका पक्षहरू मर्कामा पर्नुका साथै इजलासमा तोकिएका पेसी प्रभावित भएका छन् । मङ्गलबार वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीसहित सात न्यायाधीश तोकिएको इजलासमा बस्नुभएन । न्यायाधीश चोलेन्द्रशमशेर राणाले भने सोमबार नै इजलास नबस्ने घोषणा गर्नुभएको थियो ।

सर्वोच्चका एक न्यायाधीशका अनुसार पराजुलीले तोकेको पेसीअनुसार मुद्दा नहेर्ने जानकारी न्यायाधीशले प्रधानन्यायाधीशलाई दिएका थिए । “हामीले सोमबार उहाँलाई राय पनि दिएका थियौँ । विवाद बढेको अवस्थामा अब मुद्दाका दैनिक कामबाट टाढा रहनुस् भनेका थियौँ । तर, उहाँले पेसी तोक्नुभयो”, एक न्यायाधीशले गोरखापत्रसँग भन्नुभयो, “हामीले यसबारे मुद्दा नहेर्ने भनेर जानकारी नै गराएर इजलासमा नबसेका हौँ तर जारी इजलास ‘बहिष्कार’ कहिलेसम्म रहन्छ भन्ने उहाँले केही बोल्न चाहनुभएन ।

मङ्गलबार वरिष्ठतम् न्यायाधीश जोशीसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लले मुद्दा हेर्नुभएन । आठ न्यायाधीशले मुद्दा नहेरेपछि चारवटा इजलास प्रभावित भएका छन् ।  इजलास बहिष्कार गर्ने न्यायाधीशमध्ये हालको रोलक्रम फेरबदल नभए छ जना प्रधानन्यायाधीशको रोलक्रममा हुनुहुन्छ ।  सोमबार अदालतको अपहेलना मुद्दाको जारी सुनुवाइकै क्रममा न्यायाधीश राणाले लिखित रूपमा नै प्रधानन्यायाधीशले तोकेका मुद्दा नहेर्ने घोषणा गर्नुभएको थियो । राणाको रायपछि सर्वोच्चको फुल कोर्ट बसेको थियो । फुल कोर्टमा अधिकांश न्यायाधीशले प्रधानन्यायाधीशलाई न्याय सम्पादन कार्यबाट अलग रहन सुझाव दिनुभएको थियो ।

राणालाई मुद्दा तोकिएन

प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश राणालाई भने मङ्गलबार इजलास तोक्नुभएको थिएन । सोमबार नै राणाले पराजुलीले तोकेको इजलासमा नबस्ने घोषणा गर्नुभएको थियो। सोमबारको अनौपचारिक फुल कोर्ट बैठकमा समेत उहाँ सहभागी  हुनुभएको थिएन ।  मङ्गलबार पूर्ण इजलासका अतिरिक्त पराजुलीले १० इजलास तोक्नुभएको थियो । तीमध्ये चार इजलास बस्न सकेनन् । छवटा इजलासबाट मात्र कार्यसम्पादन भएका थिए ।  सोमबारको विवादपछि पराजुलीले डा. गोविन्द केसी र कान्तिपुर पब्लिकेसन विपक्षी रहेको अवहेलना मुद्दाको पेसी भने तोक्नुभएको थिएन । सोमबार निर्धारित सुनुवाइ तालिका राणाको रायपछि प्रभावित भएको थियो ।

समस्या सम्बोधन गर्न ध्यानाकर्षण

यसैबीच आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतले आन्तरिक विवाद फुल कोर्टबाट टुङ्ग्याउन न्यायिक नेतृत्वसँग आग्रह गरेको छ ।
युनियनले जनताको न्याय पाउने आधारभूत अधिकारको सम्मान गर्दै इजलास बहिष्कार लगायतका काम नगर्न पनि आग्रह गरेको छ । युनियनले एक विज्ञप्ति प्रकाशित गर्दै आन्तरिक समस्याको समयमै सम्बोधन नगरेमा थप विरोधका कार्यक्रम चाल्न बाध्य हुने पनि जनाएको छ । समस्या सम्बोधन नभए न्यायिक नेतृत्व, विवादित र इजलास बहिष्कार गर्ने न्यायाधीशको राजीनामा सहितका कार्यक्रम अघि सार्ने चेतावनी पनि युनियनले दिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles