32.3 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

चीन जोड्ने सडकको ट्रयाक खुल्यो

गोरखा — तिब्बतको सिमाना जोड्ने लार्के सडकखण्ड निर्माणको जिम्मा पाएको नेपाली सेनाले ११ महिनामा १४ किमि ट्रयाक खोलेको छ । बेनीघाट–लार्के सडकखण्डअन्तर्गत हावाडाँडाबाट सुरु गर्दै तातोपानीसम्म ट्रयाक खोलिएको हो ।

लार्के सडकखण्डअन्तर्गत लापुबेंसी, न्याउली, खानीबेंसी, माछाखोला र खोर्लाबेंसी हुँदै हाल तातोपानी क्षेत्रमा काम भइरहेको सेनानी निशान्त क्षत्रीले बताए । ‘गएको वैशाखको ११ बाट औपचारिकरूपमा हामीले काम सुरु गरेका हौं,’ उनले भने, ‘हालसम्म १४ किमि क्षेत्रमा काम भइरहेको छ ।’

सडक निर्माणका लागि चालु आर्थिक वर्ष १० करोड रुपैयाँ विनियोजन भएको थियो । राष्ट्रिय गौरवका आयोजनामा परेको उक्त सडकको धेरैजसो भागमा कडा चट्टान रहेकाले विस्फोटक पदार्थको सहायता लिइएको उनले बताए । ‘हावाडाँडादेखि लापुबेंसीसम्मको डेढ किमि सडक सबैभन्दा अप्ठ्यारो थियो, ब्लास्ट गर्दै खोलेका हौं,’ उनले भने, ‘धेरैजसो ठाउँमा कडा चट्टान भएकाले विस्फोटक पदार्थ प्रयोग नगरी काम गर्न गाह्रो छ ।’ न्याउली खोलादेखि खोर्लाबेंसीसम्मको ९ किमि क्षेत्रको चट्टान फोर्न पनि विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

‘लापुबेंसी खण्डको केही क्षेत्रमा मात्र माटो भेट्यौं, अन्यत्र सबै ठाउँमा चट्टानै हो,’ उनले भने, ‘सर्वे भएको १६ किमिको काम गरिरहेका छौं, बाँकी खण्डको पनि सर्भे भइरहेको छ ।’ सडकको ट्रयाक खोल्न नेपाली सेनासहित २ सय ७० जना कामदार खटिएका छन् । बेनीघाटदेखि लार्केसम्मको १ सय ८६ किमिमध्ये ६२ किमिको काम भने सडक विभागले गरेको छ । हावाडाँडादेखि लार्केसम्मको १ सय २० किमि सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको हो ।

सडक निर्माणले तीव्रता पाएसँगै चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका बासिन्दा खुसी भएका छन् । ‘यस्तो ठाउँमा सडक आउँछ भनेर सोचेकै थिएनौं,’ चुमनुब्री ३ सिर्दिवासका सुकमान गुरुङले भने, ‘मोटरबाटो आएपछि खच्चडलाई बोकाउन पर्दैन, अनि सस्तोमा सामान पनि पाइन्छ ।’ सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिकामा खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ ।

लार्केभञ्ज्याङ सडक निर्माण भएसँगै गुम्दा, लापु, उहिया, काशीगाउँ, केरौंजा, सिर्दिवास, बिही, प्रोक र सामागाउँका स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । सो सडक खण्डलाई तिब्बतदेखि वीरगन्जसम्मको सबैभन्दा छोटो दूरीका रूपमा लिइएको छ ।

श्रोत – कान्तिपुर

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles