23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

शुक्लाफाँटामा बाघ गणना सुरु, यस पटक बाघको आहाराको अवस्था अध्ययन पनि हुने

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना तथा बाघको आहाराको अवस्था अध्ययनसुरु भएको छ । क्यामेरा ट्रयापिङ विधिबाट मंगलबार शुक्लाफाँटामा रहेका बाघ तथा बाघको आहारा प्रजातिको अवस्था अध्ययनसुरु गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउँका निमित्त प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेल बताए । उनका अनुसार बाघ गणना तथा आहारा प्रजातिको अवस्था अध्ययन गर्न शुक्लाफाँटा निकुञ्ज, लालझाडी करिडोर, ब्रहदेव, जोगबुढा क्षेत्रमा कर्मचारी खटिएका छन् ।

मंगालबारदेखि औपचारिक रुपमा बाघ गणना सुरु भएको निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए । ‘बाघ गणना गर्ने कर्मचारीलाई २ दिने प्रशिक्षण दिएर कार्य क्षेत्रमा खटाएका छौं,’ निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले भने । शुक्लाफाँटा–लालझाडी–जोगबुडा करिडोर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र ब्रह्मदेव, लालझाडी जैविक मार्गलगायत जोगबुडा आसपासको क्षेत्रलाई एक ब्लकमा राखी क्यामरा ट्रयापिङबाट बाघ गणना गरिने निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए ।

उनले शुक्लाफाँटा–लालझाडी र जोगबुडामा पर्ने निकुञ्ज क्षेत्रमा ९५ ग्रिड, निकुञ्जको मध्यवर्तिमा १४ ग्रिड, ब्रह्मदेव, लालझाडी र जोगबुढा क्षेत्रमा १ सय ५१ ग्रिड गरी जम्मा २ सय ६० ग्रिड र ५८ लाईनमा ट्रान्जेक्ट क्यामेरा ट्रयापिङ प्रविधिबाट बाघ गणना तथा वाघको आहारा प्रजातिको अवस्था अध्ययन गरिने जानकारी दिए । ‘२ सय ६० ग्रिड अन्तरगत कुल ५ सय २० क्यामेरा मार्फत बाघ गणना गरिन्छ,’ निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले भने ।

उनका अनुसार वाघ गणना कार्यमा ११ समूह गरी ९० जनाको सहभागिता रहनेछ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ४, जिल्ला वन कार्यालय ४, जोगबुढा क्षेत्रमा ३ समूह गरी जम्मा ११ समूहले गणना गर्ने घिमिरेले बताए । उनका अनुसार बाघको फोटो खिच्नका लागि प्रयोग हुने स्वचालित क्यामेरा, सन्टो कम्पास, रेन्ज फाईण्डर र जिपिएस उपकरणद्वारा रेकर्ड गरिन्छ ।

मंगलबार सुरु भएको बाघ गणना कार्य २२ दिनपछि सम्पन्न हुने उनले बताए । ‘क्यामेरामा कैद भएका बाघका फोटोलाई विश्लेषण गर्छौ, २०७५ बैसाखमा बाघको संख्या सार्वजनिक गर्छौ,’ निमित्त प्रमुख संरक्षण अधिकृत घिमिरेले भने । क्यामेरा कैद भएका बाघका फोटोको विशिष्ट भागको पहिचान गरी गणना गरिन्छ ।

सन् १९६० मा नेपालमा बाघको पञ्जाको छापको आधारमा बाघ गणना सुरु भएको थियो । सन २००९ मा गरिएको सर्वेक्षण अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या १० रहेको थियो । सन् २०१३ मा पाटे बाघ बढेर १७ पुगेको निकुञ्जले जनाएको छ । शुक्लाफाँटा र आसपासको क्षेत्र संरक्षणका साथै बाघको आहाराको अवस्था राम्रो भएको कारण बाघको संख्या बर्षेनी बढ्दै गएको निमित्त संरक्षण प्रमुख गोपालबहादुर घिमिरेले बताए ।

उनले बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व बन्यजन्तु कोष, हरियो बन कार्यक्रम, जिडएसएल नेपालको आर्थिक र प्राविधिक सहयोग रहेको बताए । वाघ गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय कञ्चनपुर, जिल्ला वन कार्यालय डडेल्धुरा लगायत विभिन्न विश्वविद्यालयका विद्यार्थी तथा स्वयंसेवक सहभागी छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles