23.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

प्रदेश ६ को पहिलो ऐतिहासिक बैठक : प्रदेश सरकारको मन्त्रीमा को-को छन् दाबेदार ?

प्रदेश ६ मा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् बन्ने भएकाले एमाले र माओवादीमा नेताको व्यवस्थापनमा सकस देखिएको छ । मन्त्री हुने अपेक्षासहित एमालेका प्रकाश ज्वाला, यामलाल कँडेल, अमरबहादुर थापा, माओवादीका महेन्द्रबहादुर शाही, नरेश भण्डारी र सीता नेपाली प्रतिनिधिसभा छोडेर प्रदेश सभामा आएका थिए । आकांक्षी धेरै भएकाले व्यवस्थापनमा समस्या देखिएको माओवादी नेतृ नेपालीले बताइन् ।

मन्त्रीका लागि एमालेबाट सल्यानका गुलावजंग शाह, हुम्लाका दल रावत, दैलेखका अमरबहादुर थापा, राजबहादुर शाही, मुगुका चन्द्रबहादुर शाही, सुर्खेतका खड्कबहादुर खत्री दाबेदार देखिएका छन् ।

त्यस्तै, माओवादीबाट दैलेखका धर्मराज रेग्मी, सुर्खेतका विन्दमान विष्ट, रुकुमका गोपाल शर्मा, राते कामी, विमला केसी, जाजरकोटका गणेश सिंह र सुर्खेतका पुष्पा घर्ती मन्त्रीको प्रतिस्पर्धामा छन् । प्रदेश ६ मा माओवादीले मुख्यमन्त्रीसहित दुई र एमालेले चार मन्त्रालय मात्रै पाउनेछ ।

पहिलो बैठकमा कसले के भने ?
अहिले सिटामोल, जीवनजल नपाएर जीवन गुमाउनुपर्ने अवस्था छ । यो अवस्थालाई परिवर्तन गरी समुन्नत प्रदेश बनाउन जनताले अभिभारा सुम्पिएका छन् । सडकहरू असुरक्षित छन्, सुधार्नुपर्छ । प्रदेशहरूबीच प्रतिस्पर्धा गरेर जानुपर्नेछ ।

प्राकृतिक स्रोत, पर्यटकीय गन्तव्य, जडीबुटीका हिसाबले अरू प्रदेशभन्दा धनी छौँ । यहाँका १० जिल्ला हेर्न र हेराउन लायक भए पनि आधारभूत संरचना नहुँदा तिनले हामीलाई हेरिरहेका छन् । यसमा सुधार ल्याउनुपर्छ ।

प्रदेशको समृद्धिका लागि एकजुट हुने प्रतिबद्धता
प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतमा आइतबार बसेको प्रदेश सभाको पहिलो बैठकमा सांसदहरूले विकास र समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् । उनीहरूले सत्तापक्ष र विपक्षमा विभाजित नहुने बताउँदै विकास र समृद्धिका लागि संघीय सरकारसँग सम्पूर्ण प्रदेश प्रतिपक्षको भूमिकामा रहने संकल्प गरे ।

पहिलो बैठकलाई सम्बोधन गर्दै एमालेका सांसद यामलाल कँडेलले प्राकृतिक स्रोत–साधन, पर्यटकीय गन्तव्य र जडीबुटीले धनी प्रदेश ६ लाई समृद्ध बनाउन सत्तापक्ष र विपक्ष भूमिकामा नदेखिने बताए ।

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले आलोचन गरेर मात्रै बस्ने समय नभएको बताउँदै प्राकृतिक स्रोत–साधनको उपयोग गरी समृद्ध प्रदेश बनाउनुपर्ने धारणा राखे । त्यस्तै, कांग्रेस सांसद जीवनबहादुर शाहीले सोचमा परिवर्तन ल्याउनुपर्ने बताउँदै सबै दल एकजुट भएर प्रदेशको विकासमा लाग्न जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सुशीला शाहीले भने प्रदेश सभा बैठकमा राजतन्त्रको पक्षमा धारणा राखिन् । उनले लिखित भाषण गरेकी थिइन् ।

१० मिनेट बोल्ने समय
चार दलका प्रतिनिधिलाई बोल्ने व्यवस्था गरिएको थियो । सभामुखले उनीहरूलाई १०–१० मिनेट समय दिएका थिए । राप्रपा सांसद सुशीला शाहीले लिखित भाषण वाचन गर्दै छोटो समय मात्रै बोलिन् भने एमाले सांसद यामलाल कँडेल, माओवादी सांसद महेन्द्रबहादुर शाही र कांग्रेस सांसद जीवनबहादुर शाही पूरै समय बोले ।

कुन मन्त्रालयले के काम गर्छन् ?
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय : प्रदेशभित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन, भ्रष्टाचार नियन्त्रण र स्थानीय तह र संघबीचको समन्वय गर्ने काम गर्नेछ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय : शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्युरो, विपद् व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, न्याय, कानुन तथा प्रदेश सभा मामिला र प्रदेश कर्मचारी प्रशासनको जिम्मा छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय : प्रदेशको वार्षिक बजेट बनाउने तथा योजना निर्माण, अर्थ योजना तथा बजेट, वित्तीय संस्थाहरू तथा तथ्यांकको काम गर्नेछ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय : सडक, खानेपानी, जलस्रोत, ऊर्जा, सिँचाइ र यातायातसम्बन्धी व्यवस्थासम्बन्धी काम गर्नेछ ।
सामाजिक विकास मन्त्रालय : शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजागरसम्बन्धी काम गर्नेछ ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय
उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन, वन, विज्ञान, वातावरण र जलवायुसम्बन्धी काम गर्नेछ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय : भूमि व्यवस्थापन, गुठी व्यवस्थापन, कृषि, पशुपक्षी, सहकारी र गरिबी निवारणको काम गर्नेछ ।

संसदीय दलको नेताका लागि एमालेमा तीव्र प्रतिस्पर्धा
संसदीय दलको नेताका लागि एमालेमा तीव्र प्रतिस्पर्धा छ । यामलाल कँडेल र प्रकाश ज्वाला दाबेदार छन् । एमालेभित्र कँडेललाई संसदीय दलको नेता र ज्वालालाई सभामुख बनाउने छलफल चलेको छ । तर, ज्वाला सभामुखमा जान अनिच्छुक छन् । उनी सहमत नभए सल्यानका गुलावजंग शाह वा दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाउने चर्चा छ ।

कांग्रेसमा जीवनबहादुर शाहीको सम्भावना
कांग्रेस संसदीय दलको नेताका लागि हुम्लाबाट निर्वाचित जीवनबहादुर शाही एक मात्र दाबेदार हुन् । प्रदेश ६ बाट निर्वाचित हुने उनी एक मात्र केन्द्रीय सदस्य हुन् । उनी कांग्रेसबाट प्रदेश ६ को मुख्यमन्त्रीको दाबेदारी गरेर निर्वाचन लडेका शाहीलाई अन्य नेताले चुनौती दिएका छैनन् । प्रदेश सभामा कांग्रेसका ६ सदस्य छन् । कांग्रेस प्रतिपक्षमा रहने लगभग निश्चित छ ।

एक घन्टामा के–के भयो ?
करिब एक घन्टा चलेको प्रदेश सभाको पहिलो बैठक २९ माघमा सभामुखको निर्वाचित गर्न बस्ने गरी टुंगिएको छ । बैठकले प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ । आइतबार दिउँसो १ बजेर ४ मिनेटमा सुरु भएको बैठक २ बजेसम्म चलेको थियो । पहिलो बैठकमा ज्येष्ठ सदस्य ७० वर्षीय हिमबहादुर शाहीले सभामुखको भूमिका निर्वाह गरे ।

यस्तो छ सभामुखको निर्वाचन कार्यक्रम
प्रदेश सभा सचिवालयले सभामुख निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । जसअनुसार २९ माघ बिहान प्रदेश सभाका सदस्यमध्ये सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । त्यसपछि उम्मेदवारका नाम प्रकाशन गरिनेछ । दिउँसो १ बजे निर्वाचन हुनेछ ।

२४ माघपछि संसदीय दलको नेता
प्रमुख तीन दलले संसदीय दलको नेता चयन गरेका छैनन् । दलहरू २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि संसदीय दलको नेता चयन गर्ने तयारीमा छन् । वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचन प्रभावित हुने डरले संसदीय दलको नेता चुन्न नसकेको जनाएको छ । दुवै दलमा आन्तरिक प्रतिस्पर्धा पनि देखिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles