प्रधानन्यायाधीशबाट ज्यान मार्ने धम्की आएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा प्रशासनमा निवेदन

द्वारा : सुदुर न्युज
Dr. Surendra Bhandari with his Application for Security - डा सुरेन्द्र भण्डारी

आफूलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘ज्यान मार्ने’ भन्दै धम्क्याएको र त्यसपछि अज्ञात समूह आफ्नो कार्यालयमा आएर त्रासको वातावरण कायम राखेको भन्दै उनले प्रशासनमा शान्ति सुरक्षाको बुधबार निवेदन दिएका हुन् ।

‘डा. गोविन्द केसीको मुद्दाको सुनुवाई हुने दिन अपरान्ह प्रधानन्यायाधीश पराजुलीले नै फोन गरेर मलाई धम्क्याउनु भयो’ अधिवक्ता भण्डारीले कान्तिपुरसित भने, ‘त्यसको केही सातापछि पनि उहाँको अर्को धम्कीपूर्ण फोन आयो। सामान्य होला भन्ठानेको थिएँ। मेरो फर्ममा नै अज्ञात व्यक्तिहरु आएर अस्वाभाविक गतिविधि गर्न थालेपछि पुरानो घटनासमेत सार्वजनिक गरेको हुँ।’

गत असोजमा वरिष्ठताको उपाधी पाएका भण्डारी कानूनमा विद्यावारिधी गरेका व्यक्ति हुन्। उनी जापानलगायतका मुलुकका केही विश्वविद्यालयका अतिथि प्राध्यापक समेत हुन्। डा. गोविन्द केसी विरुद्ध अदालतको अवहेलना मुद्दाको प्रतिरक्षा गरेका उनले केही दिनअघि मात्रै पाका प्रशासनविद् र सरोकारवालाहरुले तयार पारेको ‘एनसेल करछली प्रकरण’मा सार्वजनिक सरोकारको मुद्दाको मस्यौदा गरेका थिए।

प्रधानन्यायाधीश स्वयंले धम्क्याएको विषय सार्वजनिक भइसक्दा सर्वोच्च अदालतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। बारम्बारको प्रयासका बाबजुद सर्वोच्च अदालतका प्रबक्ता नारायण पन्थी सम्पर्कमा आउन चाहेनन्। प्रधानन्यायाधीश न्याय सेवा आयोगको बैठकमा व्यस्त रहेको भन्दै प्रधानन्यायाधीशको सचिवालयले समेत डा. भण्डारीको भनाईबारे प्रधानन्यायाधीश पराजुलीको प्रतिक्रिया दिन नसकिने जनायो।

वरिष्ठ अधिवक्ता भण्डारीका अनुसार, डा. गोविन्द केसीको मुद्दाको प्रतिरक्षा गरेर फर्केको दिन साँझ ५ बजेतिर फोन गरेर प्रधानन्यायाधीशले ‘मेरी श्रीमतीको ज्यान तलमाथि भयो भने तपाई बच्नुहुन्न’ भनेर धम्क्याएका थिए। सर्वोच्च अदालतमा डा. गोविन्द केसीले प्रश्न उठाएको प्रमाणपत्र र जन्ममिति विवादमा आफ्नी श्रीमतीले निकै तनाव झेलेको बताएका प्रधानन्यायाधीश पराजुलीले त्यसमा तलमाथि भए जिम्मेवार हुनुपर्ने भन्दै आफूलाई फोन गरेको वरिष्ठ अधिवक्ता भण्डारीले बताए।

त्यतिबेला सामान्य आवेशयुक्त आक्रोश ठानेकाले उक्त टेलिफोन कुराकानी सार्वजनिक नगरेको उनले बताए। त्यसपछि नागरिक दैनिकमा ‘प्रधानन्यायाधीशले राजिनामा दिनुपर्छ’ भनी लेख प्रकाशित गरेपछि फेरी फोन गरेर ‘तपाईलाई बेकारमा बरिष्ठ बनाएछु’ भन्ने लगायतका आरोप लगाई फेरी धम्की दिएको उनले बताए।

उक्त घटनालाई समेत सामान्य कुराकानीको रुपमा लिंदै अघि बढेको अवस्थामा एक्कासी आफ्नो ल फर्ममा केही व्यक्तिहरु आएर धम्क्याएपछि सबै विवरण सार्वजनिक गर्न बाध्य भएको भण्डारीले बताए। उनका अनुसार, फर्ममै कार्यरत अर्की कानून व्यवसायी इन्दु तुलाधर कार्यालयमा भएको अवस्थामा डा. सुरेन्द्र भण्डारी खै भन्दै केही युवाले ‘उनलाई ठिक पारिदिने’ भन्दै धम्की दिएर फर्किएका थिए। ‘त्यसपछि नै मैले आफू असुरक्षित महशुस गरेर यि सबै घटना विवरण सार्वजनिक गरी प्रशासनमा निवेदन दिएको हुँ’ भण्डारीले कान्तिपुरसित भने। उनका अनुसार, फर्ममा आएका व्यक्तिहरुले, ‘हामी को हौं र किन आएको भन्ने कुरा पछि देखाइदिनेछौं’ भनी फर्किएका थिए।

कानून व्यवसायीहरुमाथि सामान्य हातपात र गालीगलौजा हुँदासमेत तत्काल बैठक बसेर प्रतिरोधमा उत्रिने नेपाल बार एसोसिएसन हालसम्म पनि मौन छ। बारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। डा. गोविन्द केसीले भने आफ्नो मुद्दाको प्रतिरक्षा गर्ने कानून व्यवसायीमाथि भएको धम्कीप्रति चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com