अपहरण शैलीमा गोर्खाल्यान्डका नेता काठमाडौंबाट बेपत्ता – नेपाल प्रहरीकै सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको अनुमान

द्वारा : सुदुर न्युज

काठमाडौँ — गोर्खाल्याण्ड आन्दोलनमा संलग्न एक जना नेता चार दिनदेखि काठमाडौबाट अपहरण शैलिमा बेपत्ता पारिएका छन् । धापासीस्थित काका ससुरा प्रकाशचन्द्र मुखियाको घरमा आएका बेला गोर्खाल्याण्ड टेरेटोरियल एडमिनिस्ट्रेसन (जीटीए)को बोर्ड सदस्य सञ्जय थुलुङलाई अपरिचित समूहले बसुन्धराबाट बेपत्ता बनाएको हो ।

काका ससुरा मुखियाले अज्ञात समुहले आफ्नी पत्नी सविता राईलाई समेत दुर्व्यवहार गरेको बताए । उनी गोर्खा जनमुक्ति मोर्चाको युवा संगठन गोर्खा जनमुक्ति युवा मोर्चाका पूर्व केन्द्रीय उपाध्यक्ष समेत थिए ।
गाडीमा आएका अज्ञात व्यक्तिहरुले आफूहरु नेपाल प्रहरी भएको बताएको सवितालाई उद्धृत गर्दै मुखियाले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार ज्वाईंको बेपत्ताबारे प्रहरी मुख्यालयमा समेत जानकारी गराइएको छ । ‘तर, घटनामा आफ्नो संलग्नता नरहेको प्रहरीले दाबी गरेको छ,’ मुखियाले भने,‘कसले कहा बेपत्ता बनायो थाहै पाउन सकिएन ।’
अपरिचित समूहले थुलुङकी काकी सासु सविता राई मुखियालाई कतारबाट दाइले पठाएको सामान लिन आउनू भन्दै बोलाएका थिए । उनीहरुले राईलाई नियन्त्रणमा लिएर ज्वाईं सञ्जयलाई बोलाउन दबाब दिएका थिए । सविताले फोन गरेको केही समयपछि बसुन्धराको श्रीटोल पुगेका सञ्जयलाई हतियारधारी समूहले लगेर बेपत्ता बनाएको हो ।
स्रोतले नेपाल प्रहरीकै सहयोगमा भारतीय प्रहरीले थुलुङलाई पक्राउ गरेको हुनसक्ने दाबी गरेको छ ।
सन् २०१४ नोभेम्बर १८ मा नागाल्याण्ड र पश्चिम बंगालको सिमाना दिमापुरबाट गाडीमा दार्जिलिङ लैजाँदै गरेको हतियारसहित उमेश कामी र गणेश क्षेत्री पक्राउ परेका थिए । अभियुक्तहरुले उक्त हतियार थुलुङकै भएको बयान दिएपछि उनी बेपत्ता भएका थिए । यो घटनापछि गोर्खा जनमुक्ति मोर्चाले उनलाई जीटीए बोर्ड सदस्य र युवा मोर्चाको उपाध्यक्षबाट निष्काशन गरेको थियो । त्यही बेलादेखि भारतीय केन्द्रीय अनुसन्धान विभाग (सीआईडी) ले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।
भारतीय प्रहरीले थुलुङमाथि गोर्खाल्याण्डमा सशस्त्र विद्रोह गर्न हतियार ल्याएको र असमको सशस्त्र समूहसँगको मिलेमतोमा १५ जना गोर्खाल्याण्ड पर्सनल (जीएलपी)हरुलाई हतियार चलाउने तालिम आरोप लगाएको छ ।
नेपाल प्रहरीले पनि थुलुङ पक्राउबारे जानकार भएको बताएको छ । नेपाल प्रहरीको प्रधान कार्यालय पनि यस विषयमा जानकार रहेको प्रहरी स्रोत बताउँछ ।
महाराजगन्ज वृत्तले जानकारी पाएपछि काठमाडौं प्रहरी परिसरलाई जानकारी गरानएको थियो । तर प्रहरीसँ यसबारे सूचना माग्दा प्रहरी मुख खोल्न चाहँदैन । परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले भने, ‘के भएको हो हामी बुझ्ने क्रममा छौं ।’

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com