31.5 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

खानेपानीका लागि बस्ती सार्दै स्थानीय

डोटी, वैशाख २० गते ।

डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट करीब एक घण्टाको दूरीमा खोप्चेपानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहँुदा उनीहरु बस्ती नै सार्न थालेका हुन् ।

झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चुहिने पानी सङ्कलन गरेर गुजारा गरिरहेका छन् । करीब ४५ परिवार भने पानीको समस्या झेल्न नसकेर बस्ती नै सरेर ठुलीगाडमा झरेको स्थानीयवासी कृष्णा थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको छ, पानीकै लागि बस्ती सारिँदैछ, पानीको पहल हुनसकेको छैन ।”

पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको ठुलीगाडस्थित विपीनगरका स्थानीय रोज कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीयाममा पानीका मुहान सुक्ने भएपछि थलीगाउँका स्थानीयवासी पानी नहुँदा ठुलीगाड आउने गरेको लामो समय भएको छ, पानीको पहल हुन सकेको छैन ।” खानेपानीका लागि थुप्रै निकायमा पहल गरे पनि अहिलेसम्म योजनामा नपरेको थलीगाउँका स्थानीयवासीको आरोप छ । उनीहरुका अनुसार पानीका लागि वर्षेनी बस्ती सार्नुपरेको छ, कसैले पहल गर्दैनन् । “पानीका लागि कसको खुट्टामा ढोगेनौँ, कुन नेताकहाँ पुगेनौँ”, स्थानीय ऐनबहादुर मगरले चित्त दुखाउँदै भन्नुभयो, “दशकौँदेखि हाम्रा समस्या उस्तै छन्, हाम्रो पुस्ता त दुःखमै बित्यो, अर्को पुस्ताले पनि पानीको कष्ट भोग्ने छ ।” थलीगाउँमा मगर समुदायको बसोबास छ ।

अहिले ३५ परिवारका २५० जनसङ्ख्या अझै थलीमा छन् । विसं २०५८ मा हेल्भेटास संस्थाले वर्षातको पानी सङ्कलन गर्ने घैँटा बनाइदिएको छ । तर घैँटा चुहिने भएकाले वर्षात् सकिएसँगै पानीको हाहाकार शुरु हुन्छ भने अर्कोतिर सङ्कलित पानी पिउँदा अधिकांश गाउँलेमा कमलपित्त रोग देखिने गरेको स्थानीयवासी बताउँछन् ।

जोरायल गाउँपालिकास्थित नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष सुरज रोकामगरले खानेपानीको अभावले विभिन्न क्षेत्रमा असर पर्दै गएको बताउनुभयो । उहाँका अनुसार पढ्ने विद्यार्थीसमेत समस्यामा परेको बताउनुभयो । गाउँमा पानी नहुँदा स्थानीयवासी बिहानैदेखि करीब दुई घण्टा टाढाको दूरीमा रहेको सकिनाखोलाको पानीले गुजारा चलाइरहेको बताइएको छ ।

उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भन्नुभयो, “पानीको मुहान टाढा छ, गाउँमा पानीको ठूलै समस्या भएकाले योजनाका लागि प्रदेश सरकारलगायतका सरोकारवाला निकायमा पहल शुरु गरेका छौँ ।”

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप

जिल्लामा जापानिज इन्सेफलाइटिस खोप अभियान सञ्चालन हुने भएको छ । मस्तिष्कमा गम्भीर प्रकारको सङ्क्रमण हुने भएकाले यस रोगबाट बच्न जिल्लाका एकदेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई जेइ भ्याक्सिन लगाइन लागेको हो । अहिलेसम्म डोटीमा जापानिज इन्सेफलाइटिसका बिरामी नभेटिए पनि यो रोगबाट बच्न यही वैशाख २६ गतेदेखि खोप अभियान सञ्चालन हुन लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वैशाख २६ गते तथा क्षेत्र नं २ मा जेठ ६ गतेबाट उक्त खोप अभियान शुरु हुनलागेको र सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला अस्पताल डोटीका खोप सुपरभाइजर रामस्वार्थ यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जापानिज इन्सेफलाइटिस हुन नदिन जिल्लामा खोपको अभियान सञ्चालन गर्ने भएका छौँ, खोपको सम्पूर्ण तयारी करीब करीब अन्तिम चरणमा पुगेको छ ।”

डोटीमा यो रोगको सङ्क्रमण नभए पनि छिमेकी तराईका जिल्लाबाट भित्रिनसक्ने भएकाले आ–आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा गई खोप लागाउन सम्पूर्ण जिल्लावासीलाई यादवले आग्रह गर्नुभयो । जेइ भाइरस भएका चराचुरुङ्गी, सुँगुर, बङ्गुरजस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा सर्ने यो रोग विशेषगरी तराईका जिल्लामा देखिने गरेको छ ।

अहिलेसम्म सुदूरपश्चिमका डडेल्धुरा, बाजुरा, दार्चुलालगायत १० जिल्लामा यो रोगका बिरामी देखापरेका छैनन् भने बिरामी भएकामध्ये ७२ प्रतिशत तराई तथा २८ प्रतिशत बिरामी हिमाली तथा पहाडी जिल्लामा देखापरेकोे बताइएको छ । संसारमा हरेक वर्ष ५० हजारमा यो रोग देखिने गरेको तथा १० देखि १५ हजार बिरामी मर्ने गरेको एक अध्ययनले देखाएको छ । विसं २०७२ मा नेपालमा १३८ मा यो रोग देखापरेको थियो ।

चट्याङ लागेर दुई गाई मरे

जिल्लाको सायल गाउँपालिका–१ छपालीमा चट्याङ लागेर दुई गाई मरेका छन् । बिहीबार दिउँसो करीब ४।१५ बजेतिर छपालीको बिनेवाडा टोलका किशन नेपालीको गोठमा चट्याङ पर्दा उहाँका दुइ गाई मरेको इलाका प्रहरी कार्यालय मौवा डोटीले जनाएको छ । कमजोर आर्थिक अवस्थाका कृषक नेपालीका ब्याउने तयारीमा रहेका दुई गाई मरेपछि ठूलो क्षति व्यहोर्नुपरेको छ ।

घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिसकेको भए पनि भौगोलिक हिसाबले अलि टाढा रहेकाले आज प्रहरीले स्थलगत मुचुल्का तयार गर्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । चट्याङबाट गोठको भित्तासमेत भत्किएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बिहीबार जिल्लामा ठूलो हावाहुरीसँगै वर्षात् भएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles