37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

तराईका ८० प्रतिशत धानबाली डुबानमा

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराई-मधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले आइतबार जनाएको छ । कृषि विकासमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बाढीका कारण तराई-मधेसमा धान, तरकारी, फलफूलबाली र माछातर्फ ठूलो क्षति भएको निष्कर्ष निकालेको छ । बैठकमा मन्त्री यादवले अन्नभण्डार मानिने तराई-मधेसमा पछिल्लो समय भएको धान रोपाइँ पनि डुबानमा परेको बताए । खानाका लागि घरमा जोहो गरी राखिएको चामल, दाल र तरकारी पनि बाढीले बगाउँदा तराई-मधेसका सर्वसाधारण खाद्य असुरक्षामा परेका छन् ।

‘बाढीका कारण तराई-मधेसको धान रोपाइँ सम्पन्न नहुँदै २० जिल्लाको ८० प्रतिशत क्षेत्रफल डुबानमा परेको छ । रोपाइँ भएको बाँकी २० प्रतिशत क्षेत्रफल पनि थप डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ’, उनले भने ।बाढी आउनुअघि तराई-मधेसको झापामा ८२, मोरङमा ६५, सुनसरीमा ७८, सप्तरीमा ७५, सिराहा, धनुषा र सर्लाहीमा ५०-५०, महोत्तरीमा ४५, बारा र पर्सामा ९९-९९, रौतहट र चितवनमा ९०-९०, कपिलवस्तु र बाँकेमा ८५-८५, बर्दियामा ९१ र दाङमा ७५ प्रतिशतहाराहारी रोपाइँ भएको थियो ।

प्रारम्भिक तथ्यांकअनुसार पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । पूर्वका उक्त जिल्लामा मात्र १४ करोडको तरकारी नष्ट भएको छ भने घरमा सञ्चित गरी राखिएको १२ करोड मूल्यबराबरको खाद्यान्न नष्ट भएको छ ।

धानबाली डुबानका कारण यो वर्ष खाद्य सुरक्षामा गम्भीर असर पुर्‍याउन सक्ने चिन्ता व्यक्त गर्दै मन्त्री यादवले बाढीका कारण किसानले पनि दीर्घकालीन रूपमा घाटा व्यहोर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा. सुरोज पोखरेलका अनुसार बाढीका कारण धानबाली, तरकारीबाली र माछासम्बन्धी फैलिन सक्ने विभिन्न प्रकारका रोगको प्रकोपलाई नियन्त्रण गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

कहाँ कति क्षति ?

मन्त्रालयका अनुसार पर्सामा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । २० हजार हेक्टरको तरकारी नष्ट भएको छ । बारामा ५५ हजार हेक्टरको धानबाली डुबानमा पर्नुका साथै १० हजार हेक्टरको तरकारी नष्ट भएको छ । त्यस्तै, धनुषामा २१ हजार हेक्टरको धानबाली डुबेको छ । सोही जिल्लामा एक हजार चार सय हेक्टरको तरकारी, एक सय ५० हेक्टरको मकैबाली, एक हजार सात सय हेक्टरको रहर दाल र दुई सय हेक्टरको मासको दाल नष्ट भएको छ ।

सर्लाहीमा दुई हजार सात सय हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच सय हेक्टरको तरकारी, सात सय हेक्टरको मकै, तीन सय हेक्टरको बेसार, एक सय एक हेक्टरको तरुल नष्ट भएको छ । रौतहटमा २८ हजार पाँच सय हेक्टरको धानबाली डुबेको छ । यहाँ एक सय ६० हेक्टरको तरकारी नष्ट भएको छ । महोत्तरीमा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच हजार हेक्टरको तरकारीबाली नष्ट भएको छ ।

रूपन्देही र नवलपरासीमा एक हजार पाँच सय हेक्टरको धानबाली डुबानमा परेको छ । चितवनमा पनि तीन हेक्टरमा लगाइएको केरा डुबानमा परेको छ । रसुवामा तीन सय ५० हेक्टरको धानबाली डुबानमा परेको छ । रामेछाप, ललितपुर, म्याग्दी, बझाङ, बैतडीलगायत क्षेत्रमा पनि धानबाली डुबानमा पर्नुका साथै मकै र तरकारीबाली नष्ट भएका छन् ।

१३ अर्बको माछा नष्ट

पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा तीन करोड मूल्यबराबरको माछा नष्ट भएको छ । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार पर्सामा एक करोड मूल्यबराबरको १० हेक्टरको माछा, बारामा ५० करोडको पाँच सय हेक्टर, धनुषामा ८० करोडको ८ सय हेक्टर, सर्लाहीमा ८० करोडको ८ सय हेक्टर, चितवनमा ६ करोडको ६० हेक्टर, महोत्तरीमा ११ अर्बको एक हजार एक सय हेक्टर र रौतहटको १५ करोडको १५० हेक्टरमा उत्पादन भएको माछा बगेर नष्ट भएको छ।
पशुसेवा विभागका महानिर्देशक डा. विमल निर्मलका अनुसार तराई-मधेसमा बाढीका कारण दुई करोड मूल्यबराबरको पशुपन्छीतर्फ क्षति भएको छ ।

राहत, उद्धार केन्द्रीय समिति

मन्त्रालयले बाढीका कारण किसानले व्यहोरेको क्षतिको यकिन तथ्यांक संकलन, किसानलाई तत्काल राहत र उद्धार, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा मन्त्रीको प्रत्यक्ष निगरानीमा रहने गरी आइतबार नै सचिव पोखरेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।
मन्त्रालयले पाँचै विकास क्षेत्रका क्षेत्रीय कृषि निर्देशकको नेतृत्वमा टोली गठन गरेको छ । टोलीलाई तीन दिनभित्र बाढी र पहिरोका कारण क्षति भएको खाद्यान्न, माछा, तरकारी, फलफूल र भौतिक पूर्वाधारको यकिन विवरण संकलन गरी मन्त्रालयमा बुझाउन निर्देशन दिइएको छ ।

तरकारी आपूर्तिमा अवरोध

बाढीपहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध हुँदा कालिमाटीमा सामान्य दिनभन्दा आइतबार झन्डै तीन सय ५० मेट्रिक टन कम परिमाणमा हरियो तरकारी आपूर्ति भएको छ । सामान्य दिनमा कालिमाटी बजारमा ६ सय मेट्रिक टन हरियो तरकारी भित्रिन्थ्यो भने आइतबार दुई सय ५० मेट्रिक टन मात्र भित्रियो ।

कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठका अनुसार बाढी र पहिरोका कारण राजधानीलाई जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध हुँदा थोरै परिमाणमा तरकारी भित्रिएको हो । भारतबाट रक्सौल र बेलहिया नाका हुँदै भित्रिएको प्याज, आलु, कागतीलगायत तरकारी मुग्लिङ र हेटौंडा-पालुङ सडकखण्ड अवरुद्ध हुँदा कालिमाटीमा थोरै परिमाणमा तरकारी भित्रिएको हो ।यस्तै, सडक अवरोधका कारण मकवानपुर, धादिङ, चितवन, काभ्रे, सर्लाही, दक्षिणी ललितपुरबाट पनि काठमाडौंमा तरकारी भित्रिन सकेको छैन ।

२० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा
– धानबाली, तरकारी, फलफूल र माछातर्फ ठूलो क्षति
– झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा सबैभन्दा बढी क्षति
– १४ करोडको तरकारी नष्ट
– सञ्चित १२ करोडको खाद्यान्न नष्ट
– १३ अर्बको माछा नष्ट
– उद्धारमा सचिव नेतृत्वको नौ सदस्यीय केन्द्रीय समिति
– तरकारी आपूर्तिमा अवरोध

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles