दंगा फैलाएको आरोपमा, सिलिगुडीमा नेपाली पक्राउ

द्वारा : सुदुर न्युज

श्रावण २७, २०७४- आमाको उपचारका लागि गएका इलाम सूर्योदय नगरपालिका-१० फिक्कल निवासी २८ वर्षीय उदयहाङ फागोलाई रिहाइको पहल गर्न परिवारले सरकारसँग माग गरेको छ ।

चार दिन अघि पुलिसले सिलिगुडी नजिककैको सालवारीस्थित डनवस्को स्कुल परिसरबाट उनलाई पक्राउ गरेको थियो । उदयका दिदी साधना फागोका अनुसार आमा गंगामायाको उपचारका लागि उनी आएका थिए ।

परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय काँकडभिट्टामा पत्रकार सम्मेलन गरेर झुठो मुद्धा लगाएर बेपत्ता पारिएका उदयको रिहाइको माग गरेको हो । इलाका प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै उदयका बुबा राजकुमार फागोले भने,‘मेरो छोरा निर्दोष छ, तत्काल रिहाइको पहल गर्दिनुहोला ।’ ज्ञापनपत्र बुझेपछि रेग्मीले भारतीय प्रहरीहरुसँग समन्वय गरेर रिहाइको पहल गर्ने आश्वासन दिए ।

गोर्खाल्याण्ड आन्दोलनसँग कुनै सरोकारै नभएको व्यक्तिलाई माओवादी भनेर हचुवाका भरमा पक्राउ गरिएकोप्रति खेद प्रकट गर्दै रिहाइको लागि सरकारलाई आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले फागोको रिहाइको पहलका लागि गृह र परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकेको छ । जिल्ला प्रशासन झापाले पनि रिहाइको पहल गर्ने आश्वासन दिएको बुबा राजकुमारले बताए ।

दश दिनअघि सिलिगुडी नजिकैको सुकुनामा भएको हतियार जुलुसपछिको गोली काण्डमा संलग्न रहेको आरोप फागोलाई लगाइएको छ । उनलाई दंगा फैलाएको आरोपमा भारतीय दण्ड संहिताको धारा १४७, १४८ र १४९  का साथै खतरनाक हतियार बोकेर सरकारी काममा व्यवधान खडा गरेको र प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ । उनलाई थप अनुसन्धानका लागि ७ दिनको प्रहरी हिरासतमा राखिएको छ ।

उदयकी दिदी साधनाले अभियुक्त वनाइएका भाइलाई प्रहरीले भेट्न समेत नदिएको गुनासो गरिन् । ‘कहाँ र कसरी उसलाई राखिएको छ हामी बेखबर छौ,’ साधनाले भनिन्,‘निर्दोष उदयको तत्काल रिहाइको पहलका लागि सरकारलाई आग्रह छ ।’

परिवारका अनुसार गोर्खाल्याण्ड आन्दोलनमा फागोको कुनै संलग्नता छैन । निर्दोष व्यक्तिलाई विना प्रमाण पक्राउ गरिएको पारिवारिक स्रोतले बताएको छ ।

यसैबीच कोलकातास्थित भारतीय महावाणिज्य दूत एकनारायण अर्यालले फागो पक्राउबारे पश्चिम बैगाल सरकारले कुनै जानकारी नगराएको बताए । ‘गृह मन्त्रालयले घटनाबारे थाहै नपाएको बहाना गरिरहेको छ’, अर्यालले कान्तिपुरसँग फोनमा भने,‘यद्यपी म व्यक्तिगत रुपमा रिहाइका लागि पहल गरिरहेको छु ।’

यता, गोर्खाल्याण्ड आन्दोलनमा नेपालको संलग्नतालाई जबरजस्ती पुष्टी गर्न पश्चिम बंगाल पुलिसले निर्दोष नेपाली नागरिकलाई गिरफ्तार गरेको गोर्खा जनमुक्ति मोर्चाले दाबी गरेको छ ।

केही समयअघि  मुख्यमन्त्री ममता बेनर्जीले गोर्खाल्याण्ड आन्दोलनमा नेपालका माओवादी र चीनको समेत हात रहेको कपोलकल्पित आरोप लगाएकी थिइन् । त्यही आरोप प्रमाणित गर्न फागोलाई पक्राउ गरिएको मोर्चाको दाबी छ । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बंगाल सरकारले जबरजस्ती निर्दोष व्यक्तिलाई पक्राउ गरेर गोर्खाल्याण्ड आन्दोलनमा नेपालको सम्बन्ध प्रमाणित गर्न खोजेको दाबी गरेका छन् । उनले भने,‘निर्दोष व्यक्तिलाई माओवादी आरोपमा पक्राउ गर्ने अधिकार बंगाल सरकारलाई छैन ।’

SRC: ekantipur

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com