39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

जिल्लमा औषधिको अभाव

बैतडी , आश्विन १९, २०७५ ।

समयमा औषधि खरीद गर्ने प्रक्रिया अघि नबढ्दा बैतडीमा औषधिको अभाव भएको छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाहरु स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो ।

धेरैजसो स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको सम्बन्धित स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा पनि औषधिको अभाव रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिए ।

गाउँपालिकाभरीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको र खरीद प्रक्रिया अघि बढाएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले बताए ।

त्रैमासिक रुपमा आउने औषधि पछिल्लो समयमा नआउने गरेकाले स्वास्थ्य संस्थाहरुमा औषधि अभाव चुलिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए। समयमा औषधि खरीद गर्ने प्रक्रिया अघि नबढ्दा स्वास्थ्यसंस्थाहरुमा औषधि अभाव भएको हो उनले भने“ अहिले पनि धेरैजसो सकिएको छ, दशैं अघि औषधि खरीद गर्न नसकिए निशुल्क औषधि अभाव हुने निश्चित छ”

यस्तै पुर्चौंडी नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा केही दिनमै औषधि सकिने अवस्थामा रहेका पुरचौंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिए ।

स्वास्थ्यका कार्यक्रम नगरकार्यपालिकाले अझै पनि स्वीकृत नगरेकाले तत्काल औषधि खरीद गर्न नसकिने र केहीदिनमै औषधिको अभाव हुन्छ उनले भने“ अहिले पनि निशुल्क औषधिहरु स्वास्थ्य संस्थाहरुमा कम रहेको छ”

जिल्ला अस्पताल बैतडीमा पनि पर्याप्त मात्रामा औषधि नभएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा.जगदीशचन्द्र बिष्टले बताए ।

औषधि खरीद प्रक्रिया समयमा शुरु नहुँदा औषधिको अभाव हुने गरेको उनको भनाई छ ।

औषधि खरिदका लागि वार्षिक बजेट नै कम हुँदा समस्या भएको हो ।

दुर्गम गाउँबाट अस्पतालमा आएका बिरामीलाई सामान्य चेकजाँचपछि निजी मेडिकलवाट औषधि किन्न बाध्य भएका छन्।

उता क्षेत्रीय मेडिकल स्टोरमा खरीद भएको औषधि पनि तत्काल वितरण हुने सम्भावना कम रहेको बताइएको छ ।

औषधि ढुवानीमा रकम नभएको मेडिकल स्टोरले जनाएको छ ।

ढुवानी रकम नहुँदा औषधि वितरण प्रक्रिया प्रभावित भएको छ ।

सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५६ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने निर्णय गरे पनि सबै प्रकारका औषधी स्वास्थ्य संस्थामा नपाइने र अहिले अत्यावश्यक औषधि पनि अभाव हुन थालेको हो ।

बिरामी संख्या बढ्दो
बैतडीमा मौसमी ज्वरोका बिरामी बढ्दै गएका छन् ।

बर्षातको समयमा दुषित पानीको सेवन तथा प्रयोगले जिल्ला अस्पताल बैतडीमा हाल दैनिक १ सय बिरामी आउने गरेका अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि आउने मध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले जानकारी दिए ।

९० प्रतिशत बिरामीमा सुरक्षित पानीको सेवन नहुँनाले समस्या देखिएको छ उनले भने“बर्षातको समयमा पानीका नयाँ मूल फुट्दा शुद्धिकरण नगरी पिउदा यो समस्या आएको हो” बर्षातको समयमा खानपिनमा ध्यान नदिँदा बढी बिरामी पर्ने गरेका छन् ।

यसका साथै जिल्लाका विभिन्न स्थानमा सुरक्षित तथा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामीहरु बढ्न थालेका बताईएको छ ।

भाइरल ज्वरो, टाइफाइड, झाडापखालाका बिरामीहरु बढेका छन् डाक्टर बिष्टले भने “ बर्षातमा पानीका मूहान दुषित हुने दुषित पानीकै प्रयोगबाट विभिन्न रोगहरु सर्ने गरेका छन्” मौसममा आएको परिवर्तनले रुघाखोकी, ज्वरो, झाडापखाला बिरामी बढेकाले खानपीनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

खानेपानीको प्रयोग गर्दा उमालेर प्रयोग गर्नुपर्ने , व्यक्तिगत सरसफाईमा पनि बिशेष ध्यान दिन समेत आग्रह गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles