40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

अटो रिक्सामै बच्चा जन्मियो

धनगढी, भाद्र १९, २०७५ ।

सुत्केरी व्यथा लागेर अटोरिक्सामा अस्पताल आएकी एक महिलाले अस्पताल नपुग्दै अटोमै बच्चा जन्माएकी छन् ।

अस्पतालको गेटमा अटोमै बच्चा जन्माएपछि हेर्नेको पनि भिड लागेको थियो । प्रदेश ७ को अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिका–१२ ए गाउँ जुगेडाकी २५ वर्षीय पार्वती थापाले मंगलबार साढे १ बजे सेती अञ्चल अस्पतालको गेटमै अटोरिक्सामा बच्चा जन्माएकी हुन् ।

उनको दोस्रो सन्तानका रुपमा अटोमा छोरा जन्मिएको हो । यसअघि उनको एक छोरी छिन् ।

धनगढीस्थित सेती अञ्चल अस्पतालबाट करिब ७ किलोमिटरको दुरीमा रहेको जुगेडाबाट सुत्केरी व्यथा लागेकी थापालाई उनकी दिदी चन्द्रा थापाले अटोरिक्सामा ल्याएकी थिइन् ।

घरमा अरु मान्छे पनि कोही नभएको र उनका श्रीमान रोजगारीका सिलसिलामा भारत रहेकाले उनकी दिदी चन्द्राले पार्वतीलाई अस्पताल ल्याएकी थिइन् ।

चन्द्राले भनिन्– ‘एकाएक भाइबुहारीलाई सुत्केरी व्यथा लागेपछि अटोरिक्सा बोलाएर अस्पताल ल्याएँ, अस्पतालभित्र नपुग्दै गेटमा बच्चा निस्कन थाल्यो, अनि अटो रोकेर अस्पतालका स्वास्थ्यकर्मीलाई अटोमै बोलाएर सामान्य सहयोगपछि बच्चा जन्मियो ।’

‘बच्चा निस्कनै लाग्यो अस्पतालभित्र प¥ुयाउने अवस्था पनि भएन’ थापाले भनिन् –‘अटोरिक्सा वरिपरी त्यहाँ भएका महिलाले घेरेर बच्चा जन्मायौं ।’

अटोमा बच्चा जन्मिदैं छ भन्ने हल्ला भएपछि एकाएक वरिपरी भिडभाड लागेको थियो ।

अटोरिक्सा चालक बलराम पाठकले भने– ‘बिरामी लिनुपर्ने छ भनेर मलाई बोलाए, बाटोमै सुत्केरी व्यथाले अत्याधिक च्यापेको थियो, अस्पतालको गेटमा पुगेपछि त बच्चा नै जन्मिहाल्यो ।’

बच्चा जन्मिसकेपछि सुत्केरी थापालाई अस्पतालको प्रसुति कक्षभित्र लगियो ।

आमा र छोरा दुवैको स्वास्थ्य राम्रो रहेको सेती अञ्चल अस्पताल प्रसुति विभागकी नर्स लक्ष्मी शाहले बताइन् ।

उनका अनुसार नवजात शिशुको तौल ३ किलो रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles