30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

कृष्णपुरका मेयरले देखाए अचम्मको हर्कत

महेन्द्रनगर । स्थानीय तहमा जनप्रतिनिधि भएपछि वडा–वडामा कार्यालय खोल्ने काम भइरहेको छ । तर, कृष्णपुर नगरपालिकाकामा अचम्मको काम भएको छ । कृष्णपुर नगरपालिका १ नम्बर वडाको कार्यालय २ नम्बर वडामा खोलिएको छ ।

कृष्णपुरका मेयरले देखाए अचम्मको हर्कत
कृष्णपुरका मेयरले देखाए अचम्मको हर्कत

जिल्ला स्तरबाट मिल्ने सेवासुविधा गाउँ र नगरपालिकाबाट तथा गाविस र नगरपालिकाबाट मिल्ने सुविधा वडाबाट मिल्ने भनेर चुनावका बेला प्रचार गरिएझैं अधिकांश स्थानीय तहमा वडामै कार्यालय खोल्ने कार्यक्रम चलिरहेका छन् । तर, कृष्णपुर नगरपालिकाको १ नम्बर वडा दुर्गम क्षेत्रमा परेपछि नगरपालिकाका नगर प्रमुख (मेयर) सहितको उपस्थितिमा १ नम्बर वडा कार्यालय २ नम्बर वडामा खोलिएको छ । वडा कार्यालय उद्घाटनमा अर्काे अचम्म भएको छ– वडामा निर्वाचित जनप्रतिनिधिको उपस्थिति बिना नै अर्कै वडामा वडा कार्यालय उद्घाटन गरिएको छ ।

आफू निर्वाचित वडाको कार्यालय उद्घाटन हुनेबारे कुनै जानकारी नपाएको बताउँदै वडा अध्यक्ष मोहन बस्नेतले कार्यालय उद्घाटन भइसकेपछि जानकारी पाएको बताए । ‘म ४/५ दिनदेखि बिरामी भएर अस्पतालमा थिए । आज (मंगलबार) मात्र घर पुगेको हुँ,’ उनले भने, ‘मसँग वडा कार्यालय खोल्नेबारे कुनै समन्वय भएको छैन ।’ १ नम्बर वडा कृष्णपुरको विकट र यातायातको सुविधाबाट टाढा रहेको बताउँदै अध्यक्ष बस्नेतले भने, ‘वडा कार्यालय खुलेको स्थानमा जानु र कृष्णपुर नगरपालिका जानु उस्ताउस्तै हो । वडा कार्यालय सम्बन्धित वडामै खोलेर सेवासुविधा वडाबाटै दिनुपर्छ ।’ १ नम्बर वडाबाट वडा कार्यालय खुलेको स्थानसम्म पुग्न साइकलमा डेढ घण्टासम्म लाग्ने गरेको उनले बताए ।

असार २६ गते बसेको पहिलो नगर सभा बैठकले प्रत्येक वडामा वडा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय विपरित कृष्णपुर नगरपालिकाको १ र २ नम्बर वडाको संयुक्त वडा कार्यालय खुलेपछि विरोध भएको छ । १ नम्बर वडाका स्थानीय वासिन्दा र जनप्रतिनिधिले वडामै छुट्टै वडा कार्यालयको माग गरेका छन् । १ नम्बर वडाका वडा अध्यक्षलाई समेत जानकारी नदिई संयुक्त वडा कार्यालय स्थापना गरिनु जनप्रतिनिधिमाथिको अपमान भएको माओवादी केन्द्रका नगर सदस्य मदन भण्डारीले बताए ।

वडा अध्यक्षको उपस्थिति बिना नै वडा कार्यालय उद्घाटनमा मेयरको सहभागिता थियो । कृष्णपुरका मेयर नेकपा एमालेका हुन् भने १ नम्बर वडाका अध्यक्ष नेपाली कांग्रेसका हुन् । फरक राजनीतिक दलबाट निर्वाचित वडा अध्यक्षलाई जानकारी नै नदिई कृष्णपुरका मेयरले अर्कै वडामा वडा कार्यालय स्थापना गरेका छन् । कृष्णपुर नगरपालिका–२ वाणिमा खोलिएको वडा कार्यालय २ नम्बर वडाको कार्यालय मात्र भएको कृष्णपुर नगरपालिकाका कार्यकारी अधिकृत गणेशसिंह ऐरले दावी गरे । ‘१ नम्बर वडाको वडा कार्यालय खुलेको छैन ।

कर्मचारीको व्यवस्थापन नभएकाले १ नम्बर वडाको कार्यालय नखोलिएको हो,’ उनले भने । तर, वाणिमा वडा कार्यालय खुलेको दिन सबै राजनीतिक दलका प्रतिनिधि लगायतले संयुक्त वडा कार्यालयको नाम दिएका थिए । १ नम्बर वडाका वासिन्दालाई २ नम्बर वडा कार्यालयबाट नै सेवा दिने भनेर १ नम्बर वडाका स्ट्याम, छाप, दर्ता चलानी लगायतका कागज २ नम्बर वडाको कार्यालय पुर्‍याइएको थियो । २–३ दिनभित्र १ नम्बर वडामै वडा कार्यालय खोलिने कार्यकारी अधिकृत ऐरले बताए ।

सम्बन्धित वडाका जनप्रतिनिधिले विरोध जनाएपछि २ नम्बर वडामा संयुक्त वडा कार्यालय खोल्ने निर्णय फिर्ता लिइएको कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेमबहादुर विष्टले बताए । २ नम्बर वडाको वडा कार्यालय उद्घाटनको दिन राजनीतिक दलका प्रतिनिधिले कार्यक्रममा बोल्दा संयुक्त वडा कार्यालय भनेकाले संयुक्त वडा कार्यालय खुलेको हल्ला फैलिएको कृष्णपुर नगरपालिका मेयर कर्णबहादुर हमालले बताए । ‘कृष्णपुर नगरपालिका १ र २ नम्बर वडाको संयुक्त वडा कार्यालय खुलेको छैन, अहिले २ नम्बर वडाको कार्यालय मात्र खोलेका हौं,’ उनले भने, ‘कर्मचारी व्यवस्थापन गरी १ नम्बर वडाको कार्यालय खोलिन्छ ।’

कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिले १ नम्बर वडाको भुगोललाई वेवास्ता र जनमतको अपहेलन गरी २ नम्बर वडामा वडा कार्यालय स्थापना गरेको माओवादी केन्द्रका १ नम्बर वडा अध्यक्ष जंगबहादुर बुढाले बताए । उनका अनुसार कृष्णपुर नगरपालिकाको नगर सभाले नगरपालिकाबाट दिइने सेवा सुविधा सहज, सरल र छिटोछरितो दिन तथा जनताको अधिकार घरआँगनमा पुर्‍याउने भन्दै असार २६ गते ९ वटै वडामा कार्यालय स्थापना गरी साउन १ गतेदेखि कार्यसञ्चालन गर्ने निर्णय गरेको थियो ।

वडा कार्यालयमा के के काम हुन्छन् ?
प्रस्तावित स्थानीय शासन सञ्चालन ऐन अनुसार वडा कार्यालयले आफ्नो क्षेत्रभित्र नाता प्रमाणित गर्नेछ । नागरिकताका लागि सिफारिस गर्ने र नागरिकताको प्रतिलिपि लिनलाई पनि सिफारिस गर्नेछ । यसअघि यो काम गाउँ विकास समितिले गर्दै आएको थियो ।

यस्तै, बहाल करको लेखाजोखा सिफारिस गर्नें, कोठा खोल्न रोहबरमा बस्ने, मोही लगत कट्टा सिफारिस गर्ने, घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने र जन्म मिति प्रमाणित गर्ने काम पनि अब वडा कार्यालयको हुनेछ । वडा कार्यालयले व्यापार व्यवसाय बन्द भएको वा सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्नेछ । मिलापत्र, कागज गराउने निवेदन दर्ताको काम पनि वडा कार्यालयले गर्नेछ । विवाह दर्ता, निःशुल्क उपचार सिफारिस, विषय प्रमाणीकरण, नक्सापास प्रमाणितको काम पनि वडा कार्यालयले गर्नेछ ।

व्यक्तिगत विवरण दर्ता, पूर्जामा घर कायम गर्ने सिफारिस, नाता प्रमाणित, जग्गाधनी पूर्जा हराएको सिफारिस, कागज र मञ्जुरीनामा प्रमाणित गर्ने, कित्ताकाट सिफारिस गर्ने, हकवाला र हकदार प्रमाणित, नामसारी सिफारिस गर्ने काम काम पनि वडा कार्यालयले आफैं गर्नेछ । पूर्व प्राथमिक विद्यालय खोल्ने अनुमति, जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित, विद्यालयको कक्षा वृद्धिको सिफारिस, वैवाहिक अंगीकृतको सिफारिसको कामसमेत वडा कार्यालय आफैंले गर्नेछ ।

src manaskhand.com

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles