25.7 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

ठेकेदार सम्पर्कविहीन भएपछि नगरपालिकाको भवन अलपत्र

बनेपा, जेठ ३१ गते ।

निर्माण कार्यको सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको भवनको तला थप गर्ने काम अलपत्र अवस्थामा रहेको छ ।

निर्माण कम्पनीलाई जिम्मा दिएको वर्ष दिन हुन लाग्दा पनि कामको कुनै सुरसार नै नभएपछि काम हुने कि नहुने भन्ने विषयमा अन्योलता छाएको छ।

नगरपालिकाले भवनको तला थप गर्नका लागि एसएमआर÷इजी जेभी, काभ्रेका प्रोप्राइटर गणेश बाँस्कोटासँग गत २०७४ माघ २ गते सम्झौता भएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागार्इंले सम्झौता भएको समयदेखि काममा कुनै पनि चासो नदेखाएको बताउनुभयो । “काम थालनी नगरेपछि हामीले पटक–पटक सम्पर्क गर्‍यौँ र चिठीसमेत पठायौँ, उहाँले त्यसमा पनि कुनै चासो नै गर्नुभएन ।” चापागाईंले भन्नुभयो, “असारको २४÷२५ मा काम सम्पन्न गरी नगरपालिकालाई बुझाउनु पर्नेमा अहिलेसम्ममा दुई–तीन प्रतिशत पनि काम भएको छैन ।”

सो निर्माण कम्पनीले नगरपालिकाको भवनको तला थप्नका लागि रु ९२ लाखमा ठेक्का सम्झौता गरेको र त्यससँगै नगरको अरु चारवटा वडा कार्यालय निर्माणका लागि करीब रु साढे चौध लाखका दरले सम्झौता गरेकामा अहिलेसम्ममा कुनै पनि काम अगाडि नबढाएको नगरपालिकाले जनाएको छ । सोही निर्माण कम्पनीले नगरपालिकाको वडा नं ५, ७, २ र १० का कार्यालय निर्माणका लागि जिम्मा लिएर सम्झौता गरी काम नगरेको हो ।

लो विडिङमा सम्झौता गर्ने र बैंक ग्यारेन्टी गर्ने र मोविलाइजेशनमा मात्रै लाग्ने भएका कारण पनि काम गर्न नआएको बुझिएको नगरपालिकाका प्रमुख महेश खरेलले बताउनुभयो । पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएका कारण अब कानूनअनुसार कारवाहीको प्रक्रियामा जानुको विकल्प नभएको उहाँले बताउनुभयो । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles