बोक्सी आरोपमा कुटिएकी राधालाई आर्थिक सहयोग

द्वारा : सुदुर न्युज

धनगढी, २५ बैसाख ।

गत फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन बोक्सी भगाउने भन्दै निर्घात कुटिएकी राधा चौधरीलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
हाल बेलायतमा बस्दै आएकी खोटाङ बाक्सीला ८ की जयन्ती राईले राधाको अध्ययन खर्चका लागि भन्दै ५० हजार रुपैया सहयोग गरेकि छिन्। उनले पत्रकार दिपक उपाध्यायलाई उक्त रकम पठाएकी हुन्।

उक्त ५० हजार रुपैया मंगलबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत राधालाई हस्तान्तरण गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरे र पत्रकार उपाध्यायले संयुक्त रुपमा चौधरीलाई उक्त रुपैया हस्तान्तरण गरेका छन्।

राधामाथि भएको अमानविय घटनाबारे विभिन्न संचारमाध्यमबाट थाहा पाएकी राईले चित्रकला मार्फत संकलन भएको रुपैया राधालाई अध्ययन खर्चका लागि सहयोग गरेकी हुन । राईले आफ्नो भतिजीको पास्नीमा आएका छरछिमेकका बालबालिकाहरुलाई चित्रकलामा सहभागी गराएर उक्त रकम संकलन गरेको पत्रकार उपाध्यायले बताए।

घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा अहिले सुखड स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । यहि वैशाख ३० गतेबाट सुरु हुने परिक्षाको तयारी गरिरहेकी उनले अध्ययनका लागि विदेशबाट सहयोग गर्नु हुने राईलाई धन्यवाद ज्ञापन गर्दै सहयोग गरेकामा आभार व्यक्त गरिन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी तिवारीले ध्यान दिएर अध्ययन गर्न राधालाई आग्रह गरे। उनले सहयोग प्राप्त रुपैयालाई शैक्षिक खर्चबाहेक अन्यत्र खर्च नगर्न र बैङ्कमा जतनका साथ राख्न समेत सल्लाह दिए।

अन्तर्राष्ट्रिय नारी दिवसका दिन देउकलियाकै रामबहादुर चौधरी उर्फ भोलेबाबा, आफूलाई पार्वती बताउने किस्मती चौधरी, स्मारिका चौधरी लगायतले बोक्सीको आरोप लगाएर राधामाथि निर्घात कुटपिट सहित यातना दिएका थिए। उनलाई यातना दिने रामबहादुर सहितका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।

घटना भएको दुई महिना बित्दा पनि गाउँमा अझै पनि कतिपयले आफ्नो कुरा काट्ने गरेको राधाले सुनाईन्। छर छिमेकीहरुले राम्रोसंग बोलचाल गरे पनि गाउँका कतिपय व्यक्तिको पुरानै दृष्टिकोण रहेको उनले बताईन्। तर विद्यालयमा शिक्षक र सहपाठी साथीहरुले भने राम्रै व्यवहार गर्ने गरेको उनले बताईन्।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com