28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

दैजी– छेला औद्योगिक क्षेत्र स्थापनाः चर्चाको २३ वर्ष बित्दा पनि काम सुरु भएन

कञ्चनपुर, ११ बैसाख।

२३ वर्षदेखि चर्चामा रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेको छैन् । २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेका बेलादेखि दैजीमा औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेपनि हालसम्म काम सुरु हुन नसकेको हो ।

अधिकारी प्रधानमन्त्री हुँदा २ लाख बजेट विनियोजन गरी दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम निर्माणको चर्चा सुरु भएको थियो । वेदकोट नगरपालिका २ र ३ को छेलामा निर्माण हुने औद्योगिक क्षेत्रको जग्गामा पर्ने वन क्षेत्रको जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने भनि २०७३ बैशाख १२ मा मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो । तर सरकारले निर्णय गरेको २ बर्षसम्म पनि जग्गाको भोगाधिकार दिइएको छैन् ।

वेदकोट नगरपालिकाका प्रमुख अशोक बहादुर चन्दले सरकारले वनको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई नदिदा निर्माणमा ढिलाई भइरहेको बताए । सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि कायम गरेको ९ सय बिगाह मध्ये जनचेतना सामुदायिक वनको करिब २ सय हेक्टर र वेदकोट सामुदायिक वनको ४ सय ५० हेक्टर जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र विकास लिमिटेडलाई नदिएको हो ।

वन विभागले औद्योगिक क्षेत्र विकास लिमिटेडलाई जग्गाको भोगाधिकार नदिई निर्माण कार्यमा भइरहेको ढिलाईले प्रदेश ७ को औद्योगिक समृद्धिमा अवरोध सिर्जना भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव जोशीले दैजी–छेला औद्योगिक क्षेत्र स्थापना प्रदेशको औद्योगिक समृद्धिसँग जोडिएकाले निर्माणमा ढिलाई गर्न नहुने बताए ।

भोगाधिकार नदिईदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाई भइरहेकाले आवश्यक पहल गरिदिन भन्दै कञ्चनपुरका उद्योगी व्यवसायी, स्थानीय तहका जनप्रतिनिधी लगायतले सोमबार प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

वेदकोट उद्योग वाणिज्य संघका अध्यक्ष शंकरवहादुर चन्दले औद्योगिक क्षेत्र निर्माणमा खडा भएको अवरोध हटाउन पहल गर्न माग गर्दै प्रदेश सरकारका मुख्यमन्त्री र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको बताए ।

ज्ञापनपत्र वुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले औद्योगिक क्षेत्र निर्माणमा देखिएको अवरोध हटाउन आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन । हुन त कञ्चनपुरका उद्योगी व्यवसायी र जनप्रतिनिधिले यसअघि पनि औद्योगिक क्षेत्र निर्माणमा देखिएको अवरोध हटाउन पटक÷पटक केन्द्रीय सरकारसँग माग गरेका थिए । तर अहिलेसम्म पनि औधोगिक क्षेत्र स्थापनाका लागि आशातित काम भएको छैन ।

दैजी–छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, ईन्जिनियरिङ र फेव्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छड लगायतका १ सय उद्योग स्थापना गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । स्थापना भएका उद्योगमा २ हजारदेखि २ हजार ५सय जनासम्मले रोजगारी पाउने जनाईएको छ । औद्योगिक क्षेत्र घोषणा गरिएको क्षेत्र राष्ट्रिय राजमार्गबाट ६ किलोमिटरमात्रै टाढा छ भने दैजी–जोगबुढा राजमार्गसँग जोडिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles