26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

भीमदत्तको कायापलट गर्ने विकास योजना

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा एसियाली विकास बैंक (एडीबी)को ऋण लगानीमा निर्माण गरिने सडक, ढल निकाससहितको वृहत सहरीकरण योजनाको काम सुरु भएको छ । एडीबीको दीर्घकालिन सहयोग कार्यक्रमअन्र्तगत धनगढी उपमहानगरपालिका, भीमदत्त नगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सहरीकरण हुँदैछ ।

आर्थिक वर्ष २०७२/०७३ मा घोषित सो कार्यक्रम अनुसार भीमदत्त नगरपालिकामा सडक, ढल, फोहर व्यवस्थापनको एकीकृत निर्माण योजनाका लागि सर्भे सुरु भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीले भीमदत्त नगरपालिकामा एडीबीले गर्ने निर्माणका लागि सर्भे सुरु गरेको नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।

उनका अनुसार एसियाली बिकास बैंकको ऋण लगानीमा भीमदत्त नगरपालिकामा ८ सडकको पूर्ण स्तरोन्नति हुने छ । ती सबै सडक दुबैतर्फ ढल, ग्रिनबेल्ट र फुटपाथसहित २ लेनका हुने छन् । करिब ३ अर्व रुपैयाँ खर्च हुने यो योजना ५ वर्षभित्र पूरा हुने लक्ष्य लिइएको छ । वडा नम्बर १ को भाँसीदेखि रौटेला सडक ५ किलोमिटर, भानुचोकदेखि विष्णुधाम सडक ५ किलोमिटर, वडा नम्बर १४ र १६ मा पर्ने शुक्लाफाँटा मार्ग ४ किलोमिटर, एयरपोर्टदेखि ऐरीघाटको साढे २ किलोमिटर सडक निर्माण गरिने सूचना अधिकारी धामीले जानकारी दिए ।

त्यस्तै वडा नम्बर १० गड्डाचौकीदेखि ऐरीघाट सडक, तिनतारा–घाँडीघाच सडक साढे ५ किलोमिटर, गड्डाचौकीदेखि ब्रहमदेवसम्म साढे ८ किलोमिटर सडक गरी साढे ३८ किलोमिटर आधुनिक सडक बन्ने भएका छन् । एडीबीकै लगानीमा नगरपालिकाको मुख्य सहरी क्षेत्र वडा नम्बर ४ र १८ को ढल व्यवस्थापन गरिनेछ । योजना अनुसार वडा नम्बर ९ मटेना र वडा नम्बर ८ को घाडीघाँचमा फोहर फोहर प्रशोधन केन्द्र निर्माण गरिने छ ।

वडा नम्बर ५, ८, १०, ११, १२ र १७ लाई समेट्ने गरी वृहत् खानेपानी योजना पनि आगामी ५ वर्षमा सम्पन्न हुनेछ । त्यसै गरी वडा नम्बर १२ को ऐरीघाटमा आर्यघाट निर्माण हुने छ भने वडा नम्बर २, १२ र १९ मा पानी शुद्धिकरण संयन्त्र निर्माण गर्ने योजना एडीबीले बनाएको छ । वडा नम्बर ८ तिलाचौरमा रहेको २० बिघा सरकारी जग्गामा डम्पिङसाइट बनाइने छ । डम्पिङसाइट निर्माणका लागि केही दिनमै डिभिजन कार्यालयले सर्भेको काम सुरु गर्ने बताइएको छ ।

सन् २०१७ भित्र सर्भे गरिसक्ने कार्ययोजना भए पनि ढिलासुस्तीका कारण अहिले आएर सुरु भएको
नगरपालिकाका अधिकारीहरुको भनाई छ । एडीबीले सन् २०२२ मा सबै निर्माण सक्ने लक्ष्य लिएको छ । कैलाली र कञ्चनपुरका ४ नगरपालिकालाई नमूना सहरी क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य अनुरुप सडक निर्माण, फोहर व्यवस्थापन, ढल ब्यवस्थापनका लागि पूर्वाधार बनाउन लागिएको हो ।

एडीबीले आगामी ५ वर्षभित्र भीमदत्त नगरपालिकामा मात्रै ३ अर्व रुपैयाँको पूर्वाधार निर्माण गर्नेछ । त्यसै गरी शुक्लाफाँटा नगरपालिकामा २ अर्व, गोदावरी नगरपालिकामा २ अर्व र धनगढी उपमहानगरपालिकामा ३ अर्व खर्च गरिने बताइएको छ ।
एडीबीको यो योजना दीर्घकालिन सहरीकरणको अवधारणामा आधारित छन् । आगामी २० वर्षमा ४ वटै नगरपालिकालाई मिलाएर महानगर बनाउने अवधारणामा योजना आधारित छ ।

श्रोत- मानसखण्ड

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles