39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

यसरी भइरहेछ गड्डाचौकीमा अवैध असुली

महेन्द्रनगर । पश्चिमी सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले अवैध असुली गरिरहेको प्रमाणसहित घटना सार्वजनिक भएको छ । र, प्रहरी ड्यूटीमा खटिएका एक अधिकृतले रकम असुलेको स्वीकार गरेका छन् । विहीबार गड्डाचौकीमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीकै नेतृत्वमा नेपाल घुम्न आएका पर्यटकबाट ४ सय भारतीय रुपैयाँ लिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले इन्ट्री फिस भनेर रुपैयाँ मागेको नैनीताल टुर एण्ड ट्राभल्सका अध्यक्ष विजयमोहन सिंह खातीले बताए । उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रति गाडी १/१ सय भारतीय रुपैयाँका दरले २ गाडीको ४ सय भारतीय रुपैयाँ लिएका हुन् । प्रहरी र सशस्त्र प्रहरीले भारतबाट आउँदा र फर्किदा रुपैयाँ माग्ने गरेको अध्यक्ष खातीले बताए । उनका अनुसार पैसा नदिए प्रहरीले गाडी चालकको लाइसेन्स माग्ने गरेको छ ।

प्रत्येक पटक नेपाल घुम्न आउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अनावश्यक रुपमा तनाब दिने गरेको पर्यटक राजेन्द्रसिंह विष्टले बताए । उनका अनुसार नेपाल घुम्न आउने पर्यटकले सीमा क्षेत्रमा अनावश्यक समस्या भोग्दै आएका छन् । ‘नेपाल घुम्दा समस्या हुँदैन्, सीमामा मात्र प्रहरीले अनावश्यक दुःख दिने गरेको छ,’ उनले भने ।

नेपाल सरकारले भ्रष्टाचार बढाउने प्रहरीलाई कारबाही गर्नुपर्ने ट्राभल्सका अध्यक्ष खातीले बताए । उनका अनुसार नैनीताल टुर एण्ड ट्राभल्सले सन् १९८३ देखि भारतीय नागरिकलाई नेपाल घुमाउँदै आएको छ । ‘प्रजातन्त्र आएपछि केही वर्ष सीमामा प्रहरीले पैसा मागेन्, आज भोलि फेरि पैसा माग्ने गरेको छ,’ अध्यक्ष खातीले भने ।

नैनिताल टुर एण्ड ट्राभल्सले प्रत्येक वर्ष ५÷६ पटक पर्यटकलाई नेपाल घुमाउन ल्याउने गरेको अध्यक्ष खातीले बताए । उनका अनुसार यस पटक टुरमा ३० जना भारतीय पर्यटक नेपाल घुम्न आएका छन् । ‘पोखरा, लुम्बिनी र काठमाण्डौं घुम्छौं, ९ दिनमा नेपालमा बस्छौं,’ उनले भने ।

बाह्य देशका नागरिकले नेपाल घुम्न रुचाउने भएपनि प्रहरी र अन्य ब्यक्तिको व्यवहारले पर्यटक नेपाल नआउने कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले बताए । उनका अनुसार प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले पर्यटकलाई अनावश्यक दुःख दिने गरेको छ । ‘यसले नेपालको पर्यटन व्यवसायमा समस्या ल्याएको छ, यस्ता कार्य गर्नेलाई कारबाही गरिनुपर्छ,’ उनले भने ।

गड्डाचौकीस्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका सई नारायण थापाले पैसा मागेको स्वीकार गरेका छन् । ‘इन्ट्रि फिस भनेर एक सय रुपैयाँ मागेको हो, इन्ट्री फिस भनेर पर्यटकहरुले आफैले दिने गरेका छन्, पहिला पनि पैसा दिन्थे,’ सई थापाले भने । उनका अनुसार इन्ट्रि फिस भनेर मागेको रुपैयाँले ड्युटीमा खाटीएका सबैले खाजा खाने गरेका छन् । ‘दैनिक २/४ सय रुपैयाँ हुन्छ, त्यसबाट आएको रुपैयाँले सबै साथीहरु खाजा खान्छौं,’ उनले भने ।

पर्यटकबाट मागेको पैसा फिर्ता गर्ने सई थापाले बताए । उनीसँगको फोन सम्वाद दैनिक मानसखण्डसँग सुरक्षित छ । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार कारबाही गरिने सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका प्रहरी नायव उपरीक्षक प्रेमप्रसाद कार्कीले बताए । ‘यस्ता कार्य गर्ने सबैलाई सोधपुछ गरेर कारबाही गर्छु,’ डीएसपी कार्कीले भने ।

विहीबार दिउँसो ३ बजे ड्युटीमा रहेका सबै प्रहरीसँग सोधपुछ गरेर कारबाही गरिने ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई केशब भट्टले बताए । ‘सात नम्बर पिल्लरदेखि ब्यारियलसम्म विभिन्न ठाउँमा प्रहरी खटिएका हुन्छन्, कसैले इन्ट्रि फिस भनेर पैसा लिएको होला, सोधपुछ गर्छु,’ उनले भने ।

श्रोत- मानसखण्ड

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles